युरो २०२० : प्लेयर्स टु वाच 

काठमाडौँ — युरो २०२० अन्तर्गत मंगलबार २ वटा खेल हुँदैछन् । पहिलो खेलमा राति ९ : ४५ बजे बुडापेस्टमा हंगेरीविरुद्ध पोर्चुगलले प्रतिस्पर्धा गर्नेछ भने १२ : ४५ मा म्युनिखमा हुने दोस्रो खेलमा फ्रान्सविरुद्ध जर्मनी खेल्नेछ ।

युरो २०२० : प्लेयर्स टु वाच 

आजका दुवै खेलमा स्टार खेलाडीहरूको प्रदर्शन हेर्न पाइनेछ । आजको 'प्लेयर्स टु वाच' मा हामीले फ्रान्सका केलियन एम्बाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई छानेका छौं ।

केलियन एमबाप्पे (फ्रान्स)

क्रिस्टियानो रोनाल्डोको कट्टर समर्थक बन्दै हुर्किएका फ्रान्सका प्रभावशाली युवा खेलाडी हुन् केलियन एमबाप्पे । विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेसी र रोनाल्डोपछि प्रमुख सुपरस्टारमा पुस्तान्तरणका लागि सायद सबैभन्दा योग्य पात्र हुन् उनी । २२ वर्षे यी युवाले २०१७ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई स्तब्ध पार्दै मोनाकोले फ्रेन्च लिग वानको उपाधि जित्दा अविश्वसनीय प्रदर्शन गरेका थिए ।

त्यसको एक वर्षपछि फ्रान्सलाई विश्वविजेता बनाए । सन् १९५८ पछि विश्वकपको फाइनलमा गोल गर्ने किशोर खेलाडीको कीर्तिमानसमेत राखे ।

पीएसजीमा आएपछि उनले दबाब महसुस गर्नसक्ने अनुमान गरिएको थियो तर त्यस्तो देखिएन । क्लब करिअरमा सर्वश्रेष्ठ प्रदर्शनको सिजनपछि उनी युरोका लागि तयार छन् । २०१६ को फाइनलमा हारेको फ्रान्स एमबाप्पेको प्रेरणादायी प्रदर्शनमा उपाधि उचाल्न चाहन्छ । २०१७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता ४४ खेलमा उनले १७ गोल गरिसकेका छन् ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

विश्व फुटबलमा अहिलेसम्मकै महान् खेलाडीमध्येका एक (कतिपयले सर्वकालीन महान भन्ने गरेका छन्) रोनाल्डो सन् २००३ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएयताकै सनसनी हुन् । सुरुआतमा उनको खेलशैलीको आलोचना नभएको होइन तर ५ वर्षपछि पहिलोपल्ट बालोन डी’अर जितेका उनले त्यसयता पाँचपल्ट उपाधि आत्मसात गरे ।

रियल म्याड्रिडमा रहेर करिअरको सर्वश्रेष्ठ प्रदर्शन गरेका रोनाल्डोले थुप्रै उपाधि जिते । उनले पाँचपल्ट युरोपेली च्याम्पियन्स लिग जिते । युभेन्ट्सका यी भेट्रान स्ट्राइकरले २०१६ को युरो फाइनलमा चोटका कारण खेल्न नसके पनि पोर्चुगलका आक्रामक प्रेरणा रहे । ३६ वर्षे उनी अन्तर्राष्ट्रिय गोलमा सर्वकालीन कीर्तिमानसम्म पुग्न ५ गोल पछाडि छन् ।

रोनाल्डोले पाँचौंपल्ट युरो खेल्दैछन् । २००३ मा डेब्यु गरेयता १ सय ७५ खेलमा उनले १ सय ४ गोल गरेका छन् । सयभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने उनी एक्ला युरोपेली फुटबलर हुन् ।

प्रकाशित : असार १, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?