१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

युरो कपकै लामो दूरीको गोल

एएफपी

ग्लास्गो — प्याट्रिक सिकले गरेको अविश्वसनीय गोलमा चेक गणतन्त्रले युरोपियन च्याम्पियनसिप फुटबलमा सोमबार स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । २३ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको स्कटल्यान्डले राम्रो अवसर बनाए पनि घरेलु मैदानको फाइदा उठाउन सकेन । 

युरो कपकै लामो दूरीको गोल

ग्लास्गोको ह्याम्पडेन पार्कमा ९ हजार दर्शकमाझ भ्लादिमिर कौफलको क्रसमा सिकले हेड गोल गरी चेकलाई ४२ औं मिनेटमा अग्रता दिलाए । मध्यान्तरपछि सातौं मिनेटमा युरोकै उत्कृष्टमध्येको एक गोल गरे । स्कटल्यान्डका गोलरक्षक डेविड मार्सल अगाडि बढेको मौकामा सिकले मध्यभागबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएका अनुसार युरोमा सिकको गोल सबैभन्दा लामो दूरीबाट सम्भव भएको गोल हो । सिकले गरेको गोलको दूरी ४९.७ मिटर मापन गरिएको थियो । जर्मन मिडफिल्डर टोर्स्टेन फ्रिंग्सले युरो २००४ मा सबैभन्दा लामो ३८.६ मिटर दूरीबाट गोल गरेका थिए । ‘यस्तो गोल गर्नु परीको कथाजस्तै हो,’ चेक मिडफिल्डर टोमस सुसेकले भने, ‘उनले जसरी प्रहार गरे त्यो दर्शनीय थियो ।’

सन् १९९८ को विश्वकपपछि पहिलो पटक प्रमुख प्रतियोगिता खेलिरहेका स्कटल्यान्डबाट कप्तान एन्डी रोबर्टसनले पहिलो हाफमा राम्रो प्रहार गरे, तर उनको प्रहार चेक गोलरक्षक टोमस भालिचले जोगाए । अन्य अवसरमा विपक्षी गोलपोस्टमा आक्रामक अवसर बनाए पनि स्कटल्यान्डले खासै गतिलो प्रहार गर्न सकेन । खेल सुरु हुनुअघि किइरन टिर्ने घाइते भएपछि स्कटल्यान्डले चोट बेहोरिइसकेको थियो ।

प्रकाशित : असार १, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?