३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एरिक्सनको स्थितिमा सुधार

द मिरर

लन्डन — सम्भवतः डेनमार्कका क्रिस्टियन एरिक्सनले फेरि फुटबल खेल्ने छैनन् । युरो २०२० को फिनल्यान्डविरुद्धको खेलमा उनलाई हृदयघात भएको रहेछ । टोटेनहनमा एरिक्सनसँग रहेका विशेषज्ञ कार्डियोलोजी प्रोफेसरले आइतबार हृदयघात पुष्टि हुनुअगाडि नै यो अनुमान गरेका थिए ।

एरिक्सनको स्थितिमा सुधार

अझ उनी त एरिक्सनलाई भविष्यमा सक्दो नखेल्ने नै सुझाव दिन्छन् । समूह ‘डी’ अन्तर्गत कोपनहेगनमा शनिबार भएको खेलमा क्रममा २९ वर्षीय एरिक्सन सबैलाई स्तब्ध पार्दै अचेत भएर मैदानमै ढलेका थिए ।

उनलाई मैदानमै उपचार आवश्यक परेको थियो । त्यसपछि उनलाई अस्पताल लगियो । उनको स्वास्थ्य स्थिति आइतबार सुधारोन्मुख छ । त्यसअगाडि नै उनले आफ्ना साथीसँग कुरा गरेका थिए । उनले उसलाई खेल जारी राख्ने भनेका थिए । यता उपचारमा संलग्न डेनमार्कका चिकित्सक मोर्टेन बोसेनले एरिक्सनलाई हृदयघात नै भएको बताएका छन् । तर उनले किन यस्तो भयो भनेर भन्न सकेका छैनन् । यो खेल भने फिनल्यान्डको पक्षमा रह्यो ।

फिनल्यान्डले यो खेल एक गोलले जित्यो । इंग्लिस एफएका मुटुरोग विशेषज्ञ रहेका प्रोफेसर सञ्जय शर्मा मान्छन्, एरिक्सनको सामान्य जीवनमा समस्या हुने छैन तर कोही चिकित्सकले उनलाई फेरि फुटबल खेल्न सुझाव पनि दिने छैन । उनले पीए न्युस एजेन्सीलाई भनेका छन्, ‘पक्कै पनि एरिक्सनलाई केही खराब भएको छ । तर उनी भाग्यमानी रहे । प्रश्न हो, खासमा भएको के थियो र यस्तो किन भयो ? सन् २०१९ सम्म एरिक्सन जति पनि परीक्षणबाट गुज्रिए ती सबै ठीक थिए ।’

त्यसैले अहिले यस्तो स्थिति किन आयो, त्यो भन्न गाह्रो छ । खुसीको कुरा के छ भने एरिक्सन अहिले ठीक भएका छन् । सबथोक ठीक महसुस गरिरहेका छन् । त्यसैले भविष्यमा शारीरिक रूपमा समस्या नहुन सक्छ ।’ उनी थप परीक्षणबाट गुज्रिरहेका छन् । त्यसको सबै नतिजा आउन बाँकी छ । इन्टर मिलानका खेलाडी एरिक्सनबारे उनले थपे, ‘उनले भविष्यमा फुटबल खेल्ने छ वा छैनन् म अहिले ठ्याक्कै भन्न सक्दिनँ ।’

उनको स्वीकारोक्ति थियो, ‘तर खेलका क्रममा उनी मृत्युको निकै नजिक पुगे । केही सेकेन्डका लागि उनी प्रतिकूल स्थितिमा रहे । कोही चिकित्सकले उनलाई फेरि फुटबल खेल्न भन्ने छैन । उनी इंग्ल्यान्डमा छन् भने यस्तो स्थितिमा फुटबल खेल्न पाउने छैनन् । हामी यो तथ्यमा निकै कडा नीति लिन्छौं र यसमा अडिग रहन्छौं ।’ इंग्लिस यू–२१ का खेलाडी फाब्रिस मुम्बा सन् २०१२ मा यस्तै स्थितिबाट गुज्रिएका थिए । उनी बोल्टनका लागि खेलिरहेका थिए टोटेनहमविरुद्ध ।

आइतबार इंग्ल्यान्ड–क्रोएसियाबीचको खेलमा उनको स्वास्थ्यलाभको कामना गरेको प्लेकार्ड बोक्दै समर्थक । तस्बिर : एपी

मुम्बाले पछि आफ्नो खेलजीवन फेरि सुरु गर्ने बताएका थिए, तर विशेषज्ञ चिकित्सकको सल्लाहपछि संन्यास लिए । त्यतिबेला उनी २४ वर्षका मात्र थिए । त्यतिबेलाका मुम्बाका चिकित्सकमध्ये एक साम माहिडिनले बीबीसीलाई भनेका थिए, फुटबलको त्यस्तो मोडमा हृदयघात निकै घातक हुनसक्छ । उनको भनाइ थियो, ‘त्यस्तो स्थितिमा तत्काल उपचार भएन भने निकै गाह्रो हुनसक्छ ।’ एरिक्सनलाई वास्तवमै के भएको थियो, ठ्याक्कै त्यसबारे पूरा जानकारी बाहिर आएको छैन ।

केही दिनमा यसबारे पूरा जानकारी आउन सक्नेछ । यसले धेरै हदसम्म उत्तिकै फिट रहने खेलाडी कम उमेरमा हृदयघातबाट गुज्रिने गर्छन भनेर कम्तीमा केही जानकारी प्राप्त गर्न सकिनेछ । तर डेनमार्कका यी खेलाडीले संन्यास लिने हो भने आफ्नो फुटबल खेलजीवनलाई लिएर उनलाई कुनै गुनासो पनि हुने छैन । अयाक्सबाट निस्केका यी खेलाडीले साढे ६ वर्ष टोटेनहममा बिताए । गत वर्ष उनी इन्टर पुगे । त्यहाँ उनले सिरी ‘ए’ उपाधि जिते ।

फिनल्यान्डको इतिहास

क्रिस्टियन एरिक्सन मैदानमै अचेत भएर ढलेका कारण ओझेलमा परेको खेलमा फिनल्यान्डले शनिबार राति डेनमार्कलाई १–० ले हरायो । एरिक्सनलाई हृदयघात भएपछि खेल दुई घण्टा बढी समय स्थगित गरिएको थियो । प्रमुख प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको फिनल्यान्डले त्यसपछि इतिहास रच्दै डेनमार्कलाई हराएको थियो । एरिक्सन ४१ औं मिनेटमा मैदान ढल्नुअघि डेनमार्कले फिनल्यान्डमाथि दबाब बनाएको थियो । जोनास विन्डले २० यार्ड टाढाबाट गरेको प्रहार फिनल्यान्डका गोलरक्षक लुकास हराडेकीले बचाएर संकट टारेका थिए । त्यस्तै पिइरे इमिले होज्बजर्गको हेड प्रहार बाहिरिन पुग्यो ।

अहिलेसम्म कुनै विश्वकप पनि नखेलेको फिनल्यान्डबाट जोइल पोहजानपालोले ६० औं मिनेटमा गोल गरेका थिए । जेरे उरोनेनको क्रसमा उनले गरेको हेड प्रहार डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले बचाउने प्रयास गर्दागर्दै गोल भयो । डेनमार्कले गोल फर्काउने अवसर नपाएको होइन । ७४ औं मिनेटमा होज्बजर्गको पेनाल्टी प्रहार फिनिस गोलरक्षक हराडेकीले बचाएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?