नयाँ युग सुरु गर्न चाहन्छ स्पेन

एजेन्सी

सेभिया — तीनपल्टको युरोपेली च्याम्पियन स्पेन अब त्यस्तो फुटबल शक्ति रहेन, जुन केही वर्षअगाडि रहेको थियो । सन् २००८ देखि २०१२ बीच स्पेनले लगभग सबै जितेको थियो ।

नयाँ युग सुरु गर्न चाहन्छ स्पेन

अहिले त्यो पुस्ताका खेलाडी हराइसके । अब नयाँ अनुहारले टिममा प्रवेश पाइसकेको छ । त्यसैले स्पेनले युरो २०२० मा सोमबार स्विडेनको सामना गर्दा एउटा नयाँ युग सुरु गर्न चाहन्छ । पछिल्ला केही वर्ष स्पेनका लागि खासै सुखद रहेन ।

यो टिम पछिल्ला तीन ठूला प्रतियोगिताको क्वाटरफाइनल पार गर्न असफल रहेको छ । प्रशिक्षक लुइस एनरिकले यसैबीच विवादास्पद तरिकाले टिमबाट सर्जियो रामोसलाई हराएका छन्, उनको खराब फिटनेसलाई कारण देखाए । लामो समयपछि स्पेन रामोसबिना ठूलो प्रतियोगिता खेलिरहेको छ । त्यसको ठीक विपरीत टिममा नयाँ युवा खेलाडी छन्, जसलाई स्पेनी फुटबलको भविष्य भन्न सकिन्छ, जस्तो फेरान टोरेस । जर्मनीलाई नेसन्स लिगमा ६ गोलले हराएका बेला उनले ह्याट्रिक गरेका थिए ।

यो खेल बिल्बाओमा हुनुपर्ने थियो, तर कोरोना भाइरस संक्रमणबीच सेभियामा सारियो । स्पेनले लिग चरणका सबै खेल यहीं खेल्नेछ । यहीं उसको पहिलो प्रतिद्वन्द्वी बलियो स्विडन रहेको छ । संयोगले यो टिममा पनि सबैभन्दा अनुभवी खेलाडी रहेका छैनन् चोटका कारण ज्लाटन इब्राहिमोभिच टिममा छैनन् । स्विडेन आफै पनि नयाँ पुस्ताका खेलाडीमा निर्भर हुनेक्रममा छ । एलेक्जान्डर इसाक र जोर्डन लारासन त्यस्ता दुई युवा खेलाडी हुन्, जसले स्पेनमाथि दबाब सिर्जना गर्न सक्छन् ।

पोल्यान्डविरुद्ध स्लोभाकिया

सेन्ट पिटर्सबर्ग– युरो २०२० को ठीकअगाडि पोल्यान्डले एक प्रकारले लय गुमाएको छ । त्यसैले पोल्यान्डले समूह ‘ई’ को आफ्नो पहिलो खेलमा स्लोभाकियाको सामना गर्दा दबाबमा रहनेछ । स्लोभाकिया आफै उसका लागि बलियो विपक्षी टिम नहुनु सक्छ, तर दबाब चर्को छ । युरोअगाडि पोल्यान्डले कमजोर एन्डोरालाई हराउन पनि कडा संघर्ष गर्नुपरेको थियो । पोलिस प्रशिक्षक पाउलो सौसाले पनि मानेका छन्, आफू एक प्रकारले तनावमा छु भनेर ।

पोल्यान्ड टिमका मुख्य खेलाडी निर्विवाद रूपमा रोबर्ट लेवान्डोस्की रहेका छन् । पूरा टिम उनकै वरिपरि घुम्ने गरेको छ । पछिल्लो समय कम्तीमा उनी आफै भने लयमा छन् । स्लोभाकिया आफै पनि निकै उतारचढावपूर्ण लयबाट गुज्रिरहेको टिम छ । त्यसैले उसले पछिल्ला १३ खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । यस्तोमा पोल्यान्डले जित निकाल्ने विश्वास गर्न सकिन्छ, तर स्लोभाकियाले कडा चुनौती पेस गर्ने तय छ ।

स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र

ग्लास्गो– स्कटल्यान्डले सोमबार युरो २०२० को आफ्नो पहिलो खेलमा चेक गणतन्त्रको सामना गर्नेछ । त्यसअगाडि व्यवस्थापक स्टिभ क्लार्कले टिमको ‘जायन्ट किलर’ को पुरानो छवि कायम राख्न चाहेको बताएका छन् । स्कटल्यान्ड २३ वर्षयता पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेल्दै छ । कुनै समय ठूला प्रतियोगिता नियमित खेल्ने गरेको स्कटल्यान्डले यसपल्ट भने प्लेअफको बाटो भएर युरोमा छनोट भएको हो । इतिहास पल्टाउने हो भने स्कटल्यान्डले नेदरल्यान्ड्स र स्पेनजस्ता टिमलाई हराएको छ ।

यही स्कटल्यान्डले सन् १९९९ मा अन्तिम पटक इंग्ल्यान्डलाई हराएको थियो । अहिले स्कटिस टिमका कप्तान छन्, लिभरपुलका एन्डी रोबर्टसन । व्यवस्थापक क्लार्कले भनेका छन्, ‘केही वर्षअगाडि स्कटल्यान्डले जसरी खेल्ने गर्थ्यो, फेरि त्यस्तै खेल्ने रणनीति छ । हामी ठूला टिममाथि स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम छौं । विश्वास गरौं, यसपल्टको प्रतियोगिता यस्तै हुनेछ ।’ चेकविरुद्धका पछिल्ला तीन खेलमा स्कटल्यान्ड विजयी रहेको छ । त्यसैले समूह ‘डी’ को खेलअगाडि स्कटल्यान्ड निकै उत्साहित रहनेछ ।

प्लेयर्स टु वाच

आयमेरिक लापोर्ट (स्पेन)

पछिल्लो तीन सिजनको तथ्यांक हेर्ने हो भने विश्व फुटबलका सबैभन्दा स्तरीय सेन्टर ब्याक हुन् आयमेरिक लापोर्ट । उच्च लयमा हुँदाहुँदै पनि फ्रान्सेली टिमबाट पटक पटक बेवास्ता भएपछि उनले राष्ट्रियता परिवर्तन गर्ने निर्णय गर्दै पुगे स्पेन ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका यी पर्खालले युरो २०२० को केही समयअघि मात्र स्पेनबाट खेल्न पाउने योग्यता पाएका थिए । प्रशिक्षक लुइस इनरिक स्पेनिस सरकारको त्यही निर्णयको पर्खाइमा थिए । किनभने खराब लय र चोटग्रस्त कप्तान सर्जियो रामोसको भूमिकालाई न्याय गर्न सक्ने लापोर्टमात्र थिए । चतुर्‍याइँपूर्ण ट्याकल र हेडरमा अब्बल लापोर्टले लामो पासमा पनि दक्षता राख्छन् । २७ वर्षीय लापोर्टले क्लबस्तरमा स्पेनिस प्रशिक्षकलाई निकै प्रभावित पारेका छन् । राष्ट्रिय टोलीबाट उनको परीक्षण हुन बाँकी छ ।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

कोरोना महामारीका कारण बालोन डी’अर रद्द नभएको भए बायर्न म्युनिकका स्ट्राइकर लेवान्डोस्की निश्चित रूपमा त्यो उपाधिका हकदार हुन्थे । उनी विश्व फुटबलकै मुख्स स्टार हुन् । सन् २०१९/२० को सिजनमा बायर्नका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोलको सानदार प्रदर्शन गरे । एक क्यालेन्डर वर्षमा यो तथ्यांक अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले मात्र हासिल गर्न सकेका थिए ।

२०२०/२१ को सिजनमा विगतभन्दा कम गोल गरे पनि उनले एकै सिजन ४० गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडे । यो सफलता उनले २९ खेलमा पाएका हुन् । आधुनिक फुटबलको पछिल्ला वर्षमा उनलाई उत्कृष्ट ‘नम्बर नाइन’ स्ट्राइकर मानिन्छ । लेवान्डोस्कीले देशका लागि भने अहिलेसम्म उच्च सफलता पाएका छैनन् । उनकै प्रदर्शनमा युरोको अघिल्लो संस्करणमा पोल्यान्ड क्वाटरफाइनल पुगेको थियो । चौथोपल्ट युरो खेल्न लागेको पोल्यान्डको त्यो नै उत्कृष्ट नतिजा हो । ३२ वर्षीय लेवान्डोस्कीले पोल्यान्डबाट १ सय १९ खेलमा ६६ गोल गरेका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?