ब्राजिलको उपाधिरक्षा अभियान सुरु- खेलकुद - कान्तिपुर समाचार

ब्राजिलको उपाधिरक्षा अभियान सुरु

कान्तिपुर संवाददाता

रियो डे जेनेरियो — आयोजक ब्राजिलले सोमबार कोपा अमेरिकामा विजयी सुरुआत लिएको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने अभियानमा उसले भेनेजुएलालाई सजिलै ३–० ले पराजित गरेको हो ।

त्यसमा नेयरमाले एक गोल गरे भने अर्को गोलमा सहयोगी भूमिका खेले । नेयमारले पेनाल्टीबाट खेलको दोस्रो गोल गरेका हुन् । मारक्विन्होस र ग्याब्रिएल बारबोसाले एक–एक गोल गरे ।

नौ पल्टको दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले सन् २०१९ मा १२ वर्षको अन्तरपछि पहिलोपल्ट कोपा अमेरिका जितेको थियो । अर्जेन्टिना र कोलम्बियामा हुनुपर्ने प्रतियोगिता त्यहाँबाट सारेर ब्राजिलमा भइरहेको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

वन्यजन्तुलाई अभिभावक

कोरोना महामारीका कारण बन्द रहेको चिडियाखानामा वन्यजन्तुलाई आहारा पुर्‍याउन संकट
गोविन्द पोखरेल

काठमाडौँ — तपाईंहरूलाई वन्यजन्तुप्रति चासो छ । उनीहरुका लागि केही गरौं भन्ने लाग्छ भने सदर चिडियाखानाले तपाईंको यो चाहना पूरा गरिदिँदैछ । वन्यजन्तुलाई माया गर्नेका लागि जावलाखेलको सदर चिडियाखानाले ‘वन्यजन्तु अभिभावकत्व कार्यक्रम’ ल्याएको छ ।

सदर चिडियाखानाका बाघ । तस्बिरः हेमन्त श्रेष्ठ,कान्तिपुर ।

कोरोना महामारीको पहिलो लहरसँगै १० महिना आगन्तुकको प्रवेश बन्द भएसँगै चिडियाखानालाई खर्च व्यवस्थापनमा संकट भइरहेको थियो । आर्थिक संकट टार्न र वन्यजन्तुप्रेमीलाई योगदानको अवसर दिन गत फागुनमै दोस्रो साता ल्याइएको यो कार्यक्रमलाई चिडियाखानाले कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रमअन्तर्गत वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचार खर्चलगायतका सम्पूर्ण अभिभावकत्व जोकोहीले लिन सक्नेछन् । चिडियाखाना व्यवस्थापन राष्ट्रिय प्रकृतिक संरक्षण कोषले गर्दै आएको छ । कोषका सदस्यसचिव शरद अधिकारी यो कार्यक्रमले वन्यजन्तु मन पराउनेहरु र चिडियाखाना दुवैको हित हुने बताउँछन् । ‘कोभिडका कारण निषेधाज्ञाले चिडियाखानाको आम्दानी नै छैन । वन्यजन्तुका लागि हुने खर्च जुटाउनका लागि यो कार्यक्रमले मद्दत गर्छ,’ उनले भने, ‘वन्यजन्तुप्रेमी, संरक्षणकर्मी वा इच्छुक जोकोहीले पनि अभिभावकत्व लिँदा उपकारको भागिदार हुने मौका पाउँछन् ।’ चिडियाखानाको आम्दानी नभएपछि वन्यजन्तुलाई आहारा पुर्‍याउन धौधौ भएको उनले सुनाए । ‘यो अभियानबाट मानिस र वन्यजन्तुबीच भावनात्मक सम्बन्ध पनि विस्तार गर्न सघाउ पुग्छ,’ उनले भने ।

विश्व वन्यजन्तु दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानमा हालसम्म ८ जनाले अभिभावकत्व लिएको चिडियाखानाका प्रमुख डा.चिरञ्जीवी पोखरेलले बताए । हात्ती, गैंडा, दुईवटा रेड पान्डा, सारस क्रेन, डाँफे र लभ बर्डस्ले अभिभावक पाएका छन् । ‘आम्दानी छैन भने वन्यजन्तुको आहारा र स्याहार बन्द गर्नु हुँदैन,’ उनले भने, ‘कर्मचारीहरुको तलब कटौती गरेर भए पनि वन्यजन्तुलाई खानामा कुनै कमी हुन दिएका छैनौं तर आर्थिक स्थिति धान्नै नसक्ने भएपछि यो अभियान सुरु गरेका हौं ।’

चिडियाखानाले यसअघि आगन्तुकहरुबाट पैसा उठाएर खर्चको व्यवस्थापन गर्दै आएको थियो । पहिलो चरणको लकडाउनदेखि नै समस्या परे पनि जेनतेन सञ्चालन हुँदै आएको थियो । कोरोनाको दोस्रो लरहपछि जारी निषेधाज्ञायता आम्दानी ठप्प भएपछि खर्च व्यवस्थापनमा चिडियाखानालाई गाह्रो परेको हो । चिडियाखानामा दैनिक दाना र आहारा उल्लेख्य मात्रा चाहिन्छ । दैनिक १४ केजी धान, २० केजी मकै, २४ केजी चना, ९ केजी भटमास, ४३ केजी चोकर, ६० केजी पराललगायत अन्य खाद्यान्‍न वन्यजन्तुका लागि खपत हुन्छ ।

सहायक क्युरेटर गणेश कोइरालाका अनुसार चिडियाखानाको एक मात्र हात्ती पवनकालीलाई दैनिक परालको कुटी, फर्सी, गाजर, स्याउ, पीपलको घाँसलगायतको खानेकुरा आवश्यक पर्छ । गैंडालाई आहारामा भुटेको सातु, मकैको पिठो, बन्दाकोभी, भुसलगायत दिइन्छ । हिप्पोलाई पनि सोही अनुसारको खानेकुरा चाहिन्छ । हात्तीका लागि १५ लाख र हिप्पोका लागि १२ लाख रुपैयाँ वार्षिक खर्च हुने चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेले बताइन् । चिडियाखानामा हाल ३ वटा गैंडा, एउटा हिप्पो र हात्ती छन् ।

शाकाहारी जीवहरुलाई फलफूल पनि चाहिन्छ । दैनिक रुपमा केरा २२ केजी, गाजर ३१ केजी, फर्सी ९ केजी, स्याउ १४ र आलु ९ केजी खपत हुने गरेको छ । मौसमी सागपात र फलफूल मात्रै दैनिक २३ केजी खपत हुन्छ । बन्दाकोभी मात्रै २६ केजी आवश्यक पर्ने कोइरालाले जानकारी दिए । एउटा चिम्पान्जीको १० लाख, भालुको ५ लाख, घडियालको ३ लाख ५० हजार, रेड पाण्डाको २ लाख ५० हजार, डाँफे र सारसको ७५ हजार रुपैयाँ हाराहारी वार्षिक खर्च हुने गरेको हिसाब चिडियाखानाको छ ।

बाघको स्याहार र आहारामा पनि खर्च उल्लेख्य छ । यहाँ मांसाहारी जीवका लागि भनेर दैनिक ४० केजी राँगाको मासु, ६ केजी भुरा माछा र करिब १० केजी कुखुराको मासु चाहिन्छ । एउटा बाघलाई मात्रै दैनिक ६ केजी र चितुवालाई २ किलो राँगाको मासु खुवाइने गरेको उनले सुनाए । चिडियाखानामा हाल ५ वटा बाघ र ४ वटा चितुवा छन् । यस्तै, हिमाली भालु ५ वटा र काठे भालु ४ वटा छन् । तीनको खानामा पनि दैनिक खर्च हुन्छ । घडियाल गोहीलाई दैनिक एक केजी माछा दिने गरिएको छ । एउटा बाघको वार्षिक खर्च नै १५ लाख हुने गरेको चिडियाखानाका प्रमुख पोखरेलले बताए ।

रेड पान्डालाई बाँसको घाँस चाहिन्छ । तिनीहरुलाई बाँस बाहेक स्याउ,अंगुर, खरबुजा पनि दिने गरिएको छ । बेला बेला महसँग ब्रेडसमेत दिने गरिएको छ । एउटा रेड पान्डाको वार्षिक खर्च दुई लाख ५० हजार हाराहारी हुन्छ । डाँफे, अस्ट्रिचजस्ता चराहरुलाई दैनिक रुपमा गेडागुडी आवश्यक पर्छ । यस्ता प्रजातिका एउटा चराको वार्षिक खर्च ७५ हजार हुन्छ ।

एउटा वन्यजन्तुको वार्षिक खर्च १५ हजारदेखि १५ लाखसम्म हुने गरेको छ । करिब १ सय ११ प्रजातिका एक हजारको हाराहारीमा वन्यजन्तु रहेको सदर चिडियाखानामा आहारा, स्याहार र स्वास्थ्यपोचार खर्च वार्षिक रुपमा करिब ४ करोड रुपैयाँ हुने चालिसेले जानकारी दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १९ गते विश्व वन्यजन्तु दिवसको अवसर पारेर यो अभियानको सुरुवात गरेका थिए । उनले त्यसबेला गैंडाको एक महिनाको खाना खर्चको व्यवस्थापन गरेका थिए । यस्तै, तत्कालीन वन मन्त्री प्रेम आलेले एक महिनाको हात्तीको खर्च दिएका थिए । अभियान अन्तर्गत उठेका रकमहरु वन्यजन्तुको हरेचाह र व्यवस्थापनमा खर्च हुनेछ । हालसम्म यो अभियानअन्तर्गत २३ लाख रुपैयाँ संकलन भएको चिडियाखानाले जनाएको छ ।

तस्बिरहरुः हेमन्त श्रेष्ठ

प्रकाशित : जेष्ठ ३१, २०७८ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×