१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नेपालले छनोटमा गुमाएको अवसर

नेपालले विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा घरेलु भूमिमा प्रतिस्पर्धा गर्न नपाउँदा ठूला टिमविरूद्ध अंक खोस्ने अवसर गुमायो ।
राजु घिसिङ

काठमाडौँ — घरेलु मैदानसँगको आत्मीयता र हजारौं दर्शकको समर्थनले फुटबलमा धेरै फरक पार्छ । विश्वका जुनसुकै टिमले पनि घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेका तथ्यांक प्रशस्तै छन् । यस्तो अवसर नेपाली टिमले विश्वकप २०२२/एसियन कप २०२३ छनोटको दोस्रो चरणमा पाएन । एउटा आफ्नै कारण र अर्को महामारीले ।

नेपालले छनोटमा गुमाएको अवसर

नेपाली टिमले घरेलु मैदानमा खेल्न पाएको भए छनोटको कथा नै फरक हुनसक्थ्यो । हामीसँग विश्वकप छनोटमै १० वर्षअघिका दुई खेलको नतिजा ताजै छ । नेपालले जोर्डनविरुद्ध अम्मानमा ९–० ले हारेको एक साताभित्रै दशरथ रंगशालामा १–१ को बराबरी गरेको थियो । त्यो नतिजा घरेलु मैदान र हजारौं समर्थकले सम्भव भएको खेलाडीहरूले प्रतिक्रिया दिएका थिए । ठीक यही अवसरमा नेपाली टिम यसपालि चुक्यो । जसको प्रत्यक्ष असर एसियन कप छनोटमा परेको छ । विश्वकप छनोटको अर्को चरणमा पुग्ने त नेपालको लक्ष्य पनि थिएन ।

यसपालिको छनोट ‘होम एन्ड अवे’ को आधारमा हुनुपर्ने हो । चार खेल विदेशी भूमिमा र चार खेल स्वदेशी मैदानमा । दशरथ रंगशाला तयार नहुँदा कुवेतविरुद्ध थिम्पू (भुटान) मा खेल्नुपर्‍यो भने तीन खेल कोरोना भाइरसको महामारीका कारण तटस्थ भूमिको रूपमा कुवेत सिटीमा सर्‍यो । नेपालको समूह ‘बी’ मा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई परेका थिए । चारै प्रतिद्वन्द्वी फिफा वरीयतामा नेपालभन्दा माथि थिए । छनोटमा नेपालको इतिहास गतिलो थिएन । त्यसैले समूहमा नेपाल एउटा ‘अन्डरडग’ नै थियो ।

जोर्डनविरुद्धको इतिहासकै कारण हामी जे गर्न सक्छौं घरेलु भूमिमै गर्न सक्छौं भन्ने थियो । तर, त्यो अवसर जुरेन । ठूला टिम विशेषगरी अस्ट्रेलिया, जोर्डन र कुवेतविरुद्ध अंक जोड्न सकेन । विश्वकपका पछिल्ला चारै संस्करण खेलेको र युरोपेली लिगमा आबद्ध खेलाडीले भरिएको अस्ट्रेलियाविरुद्ध अंक खोस्न नेपालले जहाँ पनि फलामको च्युरा चपाउनुपर्ने हुन्छ । तर, जोर्डन र कुवेतविरुद्ध असम्भव भन्ने थिएन । कुवेतविरुद्ध थिम्पूमा १–० को झिनो हारले पनि त्यो सम्भावना देखाउँछ । ठूला टिमविरुद्ध अंक जोड्न नसक्दा नेपाल समूहमा चौथो भएर उत्कृष्ट चार (चौथो हुने आठ टिममध्ये) मा पर्न सकेन र सिधै एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने अवसर गुमायो । त्यसैले नेपाल प्लेअफमा झरेको छ । सेप्टेम्बर–अक्टोबरमा हुने प्लेअफमा सफलता हात पार्न सकेमात्रै नेपाल छनोटको तेस्रो चरणमा पुग्नेछ । कम्तीमा ६ खेल खेल्दै फेरि एक वर्ष अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त हुनका लागि त्यो प्लेअफमा सफलता अनिवार्य छ ।

महामारीअघिका ५ खेलमा नेपाली टिम स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । महामारीपछि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको काँधमा जिम्मेवारी आयो । यी दुई प्रशिक्षक फरक सिद्धान्तमा फुटबल खेलाए । त्यसैले छनोटमा नेपाली टिम दुई खालको रह्यो । कालिनले सम्हालेको टिमले रक्षात्मक फुटबल खेल्यो । आफ्नो रक्षापंक्तिलाई बलियो बनाएर काउन्टर आक्रमणमा अगाडि बढ्ने अर्थात् गोल खाएन भने हारिँदैन भन्ने खालको । यस्तो टिममा एक फरवार्डले मात्रै मौका पाउँछन् । तर, पहिलो खेलमै कुवेतविरुद्ध ७–० ले स्तब्ध भयो, जुन नतिजा कालिनले कल्पना गरेका थिएनन् । मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी र एक गोलको हार बेहोरेको टिमविरुद्ध उनलाई त्यति ठूलो अन्तरको पराजय अहिलेसम्म पत्यार लागिरहेको छैन ।

अब्दुल्लाहले टिमलाई पूरै परिवर्तन गरिदिए । एक होइन, तीन फरवार्डलाई एकैपल्ट मैदानमा उतारे, ४–३–३ को आक्रामक शैलीमा । यो ठ्याक्कै बार्सिलोनाको संरचना हो । उनले नेपाली टिमलाई रक्षात्मक रणनीति र लामो पास खेल्ने परम्परा परिवर्तन गर्ने प्रयास गरेका छन् । गोल गरेन भने खेल जितिँदैन भन्ने उनलाई थाह छ र त्यसैगरी खेलाए । यस्तो परिवर्तन सकारात्मक देखिएको छ । उनले भविष्यकै लागि भनेर युवा खेलाडीलाई टिममा अवसर दिए । पाँच खेलाडीलाई डेब्यू गराए ।

उनले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपलाई मुख्य लक्ष्य बनाएका छन्, जहाँ उनी नेपाललाई पहिलोपल्ट फाइनल खेलाउन चाहन्छन् । त्यसैले पनि टिममा आमूल परिवर्तन गरेको हुनसक्छ । उनले कालिनले छाडेको टिमका ११ खेलाडी लिए । चैतमा थ्री नेसन्स कप जितेका बालगोपाल महर्जनको टिमका १० खेलाडीमात्रै अब्दुल्लाहको टिममा अटाए । ६ खेलाडीले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान पाए । मनीष डाँगी र गौतम श्रेष्ठलाई इराकविरुद्ध ६–२ ले हारेको मैत्रीपूर्ण खेलमा डेब्यू गराए । सुरजज्यू ठकुरी, आयुष घलान र कमल थापाले ‘पहिलो क्याप’ अस्ट्रेलियाविरुद्ध पाए । विशेषगरी मनीष र गौतमले राम्रो प्रभाव देखाए ।

छनोटमा नेपालले आठमध्ये दुई खेलमात्रै जित्यो । दुवै जित ताइपेईविरुद्ध । समान २–० को जित । कुवेतविरुद्ध ७–० को हार थिम्पूमा १–० मा झर्‍यो । जोर्डनविरुद्ध दुवै खेल ३–० ले हार्‍यो । एसियन कप २०१५ च्याम्पियन अस्ट्रेलियाविरुद्ध ५–० को हार कुवेत सिटीमा ३–० मा छोट्यायो । अस्ट्रेलियाविरुद्ध दुवै खेलमा नेपालले गोलको अवसर सिर्जना गर्न सकेन । अरू खेलमा अवसर पाएको थियो तर ताइपेईविरुद्धमात्रै गोल गर्‍यो । छनोटमा ४ गोलमात्रै गरेको नेपालले २२ गोल बेहोर्‍यो । तीन गोल अञ्जन विष्टले गरे भने नवयुग श्रेष्ठले एक गोल ।

अब्दुल्लाहले सम्हालको टिमले सुधारिएको प्रदर्शन गर्‍यो । ठूला टिमविरुद्ध डराएर खेल्ने नेपाली टिम छोटो–छोटो पास खेल्न आतुर देखिएको छ । ठूला टिमविरुद्ध पनि आक्रमण गर्न सक्छौं भन्ने विश्वास बढेको पाइएको छ । अस्ट्रेलिया र जोर्डनविरुद्ध बहादूरीपूर्वक खेल्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको लक्ष्य (चौथो स्थान) अब्दुल्लाहको टिमले हासिल गर्‍यो । यसलाई उनी सुरुआतमात्रै मान्छन् । हो पनि । उनलाई खेलाडी चिन्ने अवसर थियो यो छनोट । यसको अनुभव साफ च्याम्पियनसिप र एसियन कप छनोटको प्लेअफमा उपयोगी हुनेछ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?