कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

युरो २०२० : क्रोएसियासँग सचेत इंग्ल्यान्ड

रोयटर्स

लन्डन — इंग्ल्यान्डले युरो २०२० मा शनिबार क्रोएसियाको सामना गर्दा एउटा तथ्य निश्चित छ, खेलअगाडि इंग्लिस खेलाडीले कम्तीमा घुँडा टेकेर प्रदर्शन गर्नेछन् । तर प्रशिक्षक गारेथ साउथगेटले के कस्तो रणनीति अपनाउने हो, खुलस्त छैन । उल्टै प्रश्न धेरै छन् । अहिलेसम्म निश्चितजस्तै देखिएको तथ्य हो, ह्यारी केनले टिमको नेतृत्व गर्नेछन् । जोन स्टोन्सले रक्षापंक्तिको मुख्य जिम्मेवारी सम्हाल्ने छन् ।

युरो २०२० : क्रोएसियासँग सचेत इंग्ल्यान्ड

ह्यारी मगायर घाइते छन् । यो साउथगेटका लागि ठूलो टाउको दुखाइ हो । यस्तोमा स्टोन्सलाई साझेदारी दिन के एस्टन भिल्लाका सेन्टर हाफ ट्रोन मिन्ग्स ठीक छन् त ? छैनन् भने प्रशिक्षकले फरक टिम संरचना बनाउनुपर्नेछ । जोर्डन हेन्डरसन पनि भर्खर चोटमुक्त भएर टिममा फर्केका छन् । मध्यपंक्तिमा डेक्लन राइसलाई मुख्य जिम्मेवारी दिन सकिनेछ अनि उनको पार्टनर क्लेभिन फिलिप्स हुन सक्नेछन् ।

इंग्लिस टिमलाई लिएर सबैभन्दा रोमाञ्चक पक्ष हो, क्रिएटिभ मिडफिल्डमा । टिममा फिल फोडेन, मेसन माउन्ट र ज्याक ग्रलिसका रूपमा युवा प्रतिभाशाली खेलाडीको समूह छ । टिममा अनुभवी मार्कस रसफोर्ड र रहिम स्टर्लिङ पनि छन् । तर दुवैले पछिल्लो समय राम्रो गर्न सकिरहेका छैनन् । यस्तोमा साउथगेट भन्छन्, ‘हाम्रो टिम संरचना जस्तो पनि हुन सक्नेछ । तर एउटा तथ्य निश्चित छ, हामीले त्यस्ता खेलाडीलाई मौका दिनेछौं, जसले जित दिलाउन सक्नेछ ।’

इंग्ल्यान्डका लागि क्रोएसिया बलियो विपक्षी टिम नै हो । किनभने टिम र प्रशिक्षक दुवैले एउटा तथ्य भुलेका छैनन् । सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियाले नै इंग्ल्यान्डलाई हराएको हो । प्लेमेकर लुका मोडरिच अहिले ३५ वर्षका भए । उनी विपक्षी टिमका लागि समस्या उत्पन्न गराउन अझै पनि सक्षम छन् । त्यसैले चेल्सीका मिडफिल्डर माटेओ कोभासिच भन्छन्, ‘लुका फरक विशेष खेलाडी हुन् । उनी विश्व फुटबलको उत्कृष्ट मध्यपंक्तिका खेलाडी हुन् ।’

मोडरिचले आफ्नो देश र क्लबका लागि सबथोक दिएका छन् । उनलाई थाहा छ, यो उमेरमा सोचेरमात्र हुन्न, मैदानमा खेल्नु पनि पर्छ । क्रोएसियाले मस्कोमा जुन प्रख्यात जित निकालेको थियो, फेरि त्यस्तै जित दोहोर्‍याउन अहिले गाह्रो हुनसक्छ, किनभने समय र परिस्थिति फरक छ । त्यसैले मोडरिच आफै भन्छन्, ‘विश्वकप सकिएको तीन वर्ष भइसक्यो, अहिले हामी फरक प्रतियोगिता खेलिरहेका छौं । तर प्रतियोगिताका खेल जित्न सकियो भने त्यसपछिको यात्रा सजिलो हुने गर्छ ।’

अस्ट्रियाविरुद्ध उत्तरी मेसेडोनिया

बुखारेस्ट– अस्ट्रियाली टिम जर्मन बुन्डेसलिगा खेल्ने प्रतिभाशाली खेलाडीले भरिएको छ, तर युरो २०२० को आफ्नो पहिलो खेलमा उत्तरी मेसेडोनियाको सामना गर्दा एक प्रकारको दबाबमा हुनेछ । खासमा अस्ट्रिया युरोमै आफ्नो पहिलो जितको खोजीमा हुनेछ । समूह ‘सी’ को यस खेलमा अस्ट्रिया नै जितको बलियो दाबेदार रहेको छ । तर इतिहासले भन्छ, सन् २००८ र २०१६ मा दुईपल्ट युरो खेल्दा उसले दुई बराबरी र चार हार आत्मसात् गरेको छ ।

बुन्डेसलिगाको पछिल्लो सिजन उपविजेता रहेको आरबी लाइप्जिगका मिडफिल्डर कोनार्ड लेमेर भन्छन्, ‘हाम्रो टिम स्तरीय छ, त्यसैले बलियो पनि छ । हाम्रो लक्ष्य भनेको यो समूहबाट अगाडि बढ्नु नै हो ।’ छनोट चरणमा अस्ट्रियाले मेसेडोनियालाई दुवैपल्ट हराएको थियो । दुवै अवसरमा जित प्रभावशाली रह्यो । मेसेडोनिया पहिलोपल्ट प्रतियोगिता खेलिरहेको छ । डेब्युू खेलमा जित निकालेर यसलाई सम्झनलायक बनाउन चाहन्छ टोली । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको मेसेडोनिया पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ । यसले यहाँसम्मको यात्राका लागि नेसन्स लिगको प्लेअफ खेलेको थियो । त्यसमा जर्जियालाई पन्छाएको हो । मध्यपंक्तिका खेलाडी एनिस बार्डी भन्छन्, ‘हामी सबैले आफ्नो पहिलो खेलको व्यग्र प्रतीक्षा गरिरहेका छौं ।

नेदरल्यान्ड्सविरुद्ध युक्रेन

एम्स्ट्रडम– सन् २०१६ को युरो र २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको नेदरल्यान्ड्स फेरि एकपल्ट ठूलो प्रतियोगितामा फर्केको छ । टोलीका लागि युरो २०२० आफ्नो प्रतिष्ठा कायम राख्ने प्रतियोगिता हुनेछ । तर यसक्रममा डच टिमका लागि सबैभन्दा ठूलो घाटा रहेको छ, सेन्टर ब्याकका स्टार खेलाडी भिर्जिल भान डाइकको उपस्थिति नहुनु । उनी घुँडाको चोटमुक्त हुनेक्रममा छन् । तर नेदरल्यान्ड्स टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन । डचको पहिलो खेलको प्रतिद्वन्द्वी युक्रेन लगातार तेस्रोपल्ट युरो खेलिरहेको छ । सन् २०१६ को संस्करणमा युक्रेन कुनै गोल गर्न असफल रहेको थियो । यसपल्ट युक्रेनबाट राम्रो प्रदर्शन अपेक्षा गर्नसक्ने कारण हो, छनोट चरणमा टोलीको दमदार प्रदर्शन ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?