युरो २०२० आजदेखि : विश्व विजेताको नजर युरोमा

‘महामारीबीच युरोप सुरक्षित छ भनेर देखाउने युरो २०२० आयोजना एउटा ठूलो अवसर हो । युरोप अगाडि बढिरहेको छ । युरोपको जीवन चलायमान छ ।’
उद्घाटनमा इटालीविरुद्ध टर्की
एएफपी

लन्डन — युरो २०२० शुक्रबार सुरु हुँदै छ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल उपाधि रक्षाको तयारीमा हुनेछ । विश्व च्याम्पियन फ्रान्स पनि युरो जित्न चाहन्छ । फ्रान्सले यस्तो गर्न सके यो दुर्लभ दोहोरो उपाधिको उपलब्धि हुनेछ । कोरोना भाइरस महामारीका कारण प्रतियोगिता एक वर्षपछि हुन लागेको छ । फ्रान्सेली टिम निकै बलियो देखिन्छ । त्यसैले फ्रान्स तेस्रोपल्ट युरोपेली विजेता हुन सक्षम छ । पूरा युरोपमा छरिएर हुने यस प्रतियोगितामा शीर्ष वरीयताको बेल्जियम र युवा इंग्ल्यान्डलाई पनि कम आँक्न सकिने छैनन् । 

युरो २०२० आजदेखि : विश्व विजेताको नजर युरोमा

प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा खेल हुनेछ । यसअघि बढीमा दुई देशसम्मान प्रतियोगिता हुन्थ्यो । कोभिड–१९ महामारीबीच पनि यति धेरै सहरमा खेल चल्नेछ । युरोपेली फुटबल महासंघ (यूएईएफ) ले दर्शक प्रवेशलाई अनिवार्य गरेपछि डब्लिन र बिल्बाओले त्यसलाई पूरा गर्ने वचन दिन सकेनन् । त्यसैले यी दुईलाई आयोजक सहरबाट हटाइए । यहाँ हुने खेल अब लन्डन र सेन्ट पिटर्सबर्गमा हुनेछ ।

शुक्रबार रोमको ओलम्पिक स्टेडियममा पहिलो खेल हुनेछ । त्यसमा इटाली र टर्की भिड्नेछन् । दर्शक संख्याले १६ हजार छुने विश्वास छ । सबैको प्रिय फ्रान्स मंगलबारमात्र मैदान उत्रन्छ । विश्व च्याम्पियनले म्युनिकमा हुने समूह चरणको खेलमा जर्मनीको सामना गर्नेछ । केलियन एमबाप्पे, करिम बेन्जेमा र एन्टोइन ग्रिजमनको उपस्थितिले फ्रान्स शक्तिशाली देखिएको हो । सबैको नजर ३३ वर्षीय बेन्जेमाप्रति हुनेछ । उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन् ।

रियल म्याड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले समूह ‘एफ’ मा हंगेरीको चुनौती सामना गर्नेछ । यस समूहलाई प्रतियोगिताको ‘ग्रुफ अफ डेथ’ भनिएको छ । रोनाल्डो आफैं ३६ वर्षका भइसके । तर उनी अझै बलिया छन् । उनलाई साथ दिने अहिलेको टिम ५ वर्षअगाडिको विजेता टिमको तुलनामा राम्रो छ । पोर्चुगाली टिममा जाओ फेलिक्स, ब्रुनो फर्नान्डेज, बनार्डो सिल्भा र रुबेन डायस जस्ता खेलाडी छन् ।

इंग्ल्यान्डलाई भने एउटा तथ्यले बलियो बनाउने छ । यसै कारण यो टिम प्रेरित रहनेछ । यो कारण हो, प्रतियोगिताका दुवै सेमिफाइनल र फाइनल वेम्बलीमा हुनेछ । पछिल्ला केही ठूला प्रतियोगितामा इटाली र नेदरल्यान्ड्स छनोटसमेत हुन सकेका थिएनन् । यसपल्टको प्रतियोगितामा यी दुई फर्केका छन् । तिनलाई आफ्नो उपस्थिति सिद्ध गर्ने चुनौती हुनेछ । इंग्लिस कप्तान ह्यारी केन यसपल्टको प्रतियोगितामा आफ्नो टिमको सम्भावना बढी देख्छन् ।

सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड सेमिफाइलन पुगेको थियो । यसपल्ट केन आफ्नो टिमको सम्भावना योभन्दा बढी देख्छन् । उनी भन्छन्, ‘हाम्रो टिम बढी अनुभवी भएको छ, मलाई यस्तै लाग्छ । हाम्रा खेलाडीले क्लबका लागि ठूल्ठूला खेल खेलिसके । विश्वकप खेलेका खेलाडी पनि अझै टिममा छन् । यो पनि बहुमूल्य अनुभव भयो । इंग्ल्यान्डले ठूलो उपाधि नजितेको धेरै समय भइसकेको छ । त्यसैले हामीले बलियो मानसिकता लिएर खेल्नुपर्छ ।’

उनी इंग्ल्यान्डले युरो २०२० मा लामै यात्रा गर्नसक्ने विश्वास राख्छन् । युरोप अहिले कोरोना भाइरस संक्रमणको महामारीबाट मुक्त हुने तर्खरमा छ । युरोपमा संक्रमित संख्या घट्दै छ । खोप लगाउने काम बढ्दो छ । तर सावधानीका रूपमा युरोपेली फुटबल महासंघले एउटा टिमलाई २६ खेलाडी राख्न पाउने छुट दिएको छ । स्पेनी फुटबल संघले त अझ घोषित टिमबाहिर पनि १७ खेलाडीलाई समानान्तर तयारीमा राखेको छ ।

डिफेन्डर डिएगो लोरेन्टलाई कोरोनाले छोएपछि स्पेनी फुटबल संघ यति चनाखो बनेको हो । उनी टिममा संक्रमित हुने दोस्रो खेलाडी हुन् । दुई स्विडेनी खेलाडी फरवार्ड डेजान कुलसेभ्स्की र मिडफिल्डर म्याथिस स्भानबर्ग पनि संक्रमित पाइएको छ । यी सबै चुनौतीका बावजुत पनि युरोपेली फुटबल महासंघ मान्छ, प्रतियोगिता सुरक्षित रहनेछ । महासंघका अध्यक्ष एलेक्जान्डर सेफेरिनले भनेका छन्, ‘महामारीपछि युरो सफल आयोजना हुने पहिलो ठूलो प्रतियोगिता हुनेछ ।’

उनले दाबी गरेका छन्, ‘महामारीबीच पनि युरोप सुरक्षित छ भनेर देखाउने यो अवसर हो । युरोप अगाडि बढिरहेको छ । यो जीवन्त छ । युरोपको जीवन चलायमान छ । युरोपले उत्कृष्ट पुनरागमन गर्नेछ ।’

यसको सबैभन्दा ठूलो उदाहरण बुडापेस्टको पुस्कास एरिनामा हुने खेल हुनेछ । त्यस रंगशाला शतप्रतिशत भरिने विश्वास छ । प्रत्येक आयोजक रंगशालामा शतप्रतिशतदेखि क्षमताको एक चौथाइ दर्शकलाई प्रवेश दिनु नै पर्नेछ ।

उद्घाटनमा इटालीविरुद्ध टर्की

रोम (एजेन्सी)– इटाली र टर्की शुक्रबार रोमको ओलम्पिक रंगशालामा आमने सामने भएपछि युरोपियन च्याम्पियनसिप फुटबल सुरु हुनेछ । कोभिड–१९ को महामारीका कारण युरो एक वर्ष ढिला गरी सुरु हुन लागेको हो । उद्घाटन दिनको यस खेलमा १६ हजार प्रशंसक उपस्थित हुने अनुमान गरिएको छ । ११ देशका शहरमा हुने ५१ खेलमा दर्शकको उपस्थिति यहीअनुरुप नै हुनेछ ।

रोबर्टो मान्चिनीको इटालीले पछिल्ला सबै आठ खेल जितेको छ । यसक्रममा कुनै गोल खर्चेको छैन । यथार्थ के हो भने इटाली २०१८ यता अपराजित छ । टर्की प्रतियोगिताको आश्चर्यजनक टोली हुनसक्छ । टर्कीको टोलीमा फ्रेन्च लिग जितेको लिलेका स्ट्राइकर बुराक यिल्माज, मिडफिल्डर युसुफ याजिकी र रक्षक जेकी सेलिक रहेका छन् । बुराक टर्कीका दोस्रो सर्वाधिक गोल स्कोरर हुन् । उनले २९ गोल गरिसकेका छन् । उनीभन्दा अगाडि संन्यास लिइसकेका हाकान सुकरले टर्कीका लागि ५१ गोल गरेका छन् । इटालीका लागि युरोपियन गोल्डेन बुट विजेता सिरो इमोबाइल प्रभावशाली देखिन सक्छन् । उनले सिरी ए मा २०१९–२० को सिजनमा कीर्तिमानी ३६ गोल गरेका छन् ।

इटालीले सन् १९९० को विश्वकपपछि पहिलो ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ । यस समूहका अन्य दुई टोली वेल्स र स्विट्जरल्यान्ड शनिबार बाकुमा प्रतिस्पर्धा गर्नेछन् । युरोपियन च्याम्पियनसिप दुई देशभन्दा बढी स्थानमा पहिलो पटक आयोजना भइरहेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?