१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विश्वकप छनोट : कठिन प्रतिद्वन्द्वीको सामना

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय टिमले एसियाली महारथी अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै शुक्रबार विश्वकप २०२२ छनोटबाट औपचारिक बिदाइ लिँदै छ । छनोटको अन्तिम खेलमा नेपालले आस गर्ने खासै ठाउँ छैन । खेल हार्‍यो भने पनि चित्त दुखाउने अवस्था छैन । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनले नेपाली टिमलाई नयाँ रूप दिएको छ, केही सम्भावना देखाएको छ, यसैलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

विश्वकप छनोट : कठिन प्रतिद्वन्द्वीको सामना

एसियन कप २०१५ को च्याम्पियन हो अस्ट्रेलिया । टोलीले विश्वकपको पछिल्ला चारै संस्करण खेलेको छ । अहिलेको छनोटमा शतप्रतिशत जितसहित अस्ट्रेलिया समूह ‘बी’ को शीर्षस्थानमा छ । त्यसैले फिफा वरीयतामा १३० स्थानमाथिको टिमविरुद्ध प्रतिस्पर्धा गर्दा नेपालले धेरै आशा गर्ने ठाउँ छैन । प्रशिक्षक अब्दुल्लाहले आक्रामक खेल्ने रणनीति प्रयोग गरिरहेका छन् । उनी ठूला टिमविरुद्ध डराएर रक्षात्मक खेल्ने नेपालको परम्परा भत्काउन चाहन्छन् । नेपालले मैत्रीपूर्ण खेलमा इराक (६–२ को हार), छनोटमा चाइनिज ताइपेई (२–० को जित) र जोर्डन (३–० को हार) मा गरिएको प्रदर्शनले राम्रै गर्ने सम्भावना पनि देखाएको छ ।

यो छनोटको सुरुका भेटमा ताइपेई र जोर्डनविरुद्ध ‘अवे’ खेलमा जुन नतिजा निस्किएको थियो, यसपालि कुवेत सिटीमा पनि ती दुई टिमविरुद्ध नेपालले उही अन्तरको जित र हार निकाल्यो । नेपाली टिम १० अक्टोबर, २०१९ मा अस्ट्रेलियाविरुद्ध ५–० ले हारेको थियो । नेपाली खेलाडीहरूलाई आफ्नै पेनाल्टी क्षेत्रवरिपरि सीमित पारेको क्यानबेरा रंगशालामा जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए भने डिफेन्डर ह्यारी साउटरले दुई गोल गरेका थिए । युरोपेली लिगमा व्यस्त रहेका खेलाडीको वर्चस्व, शारीरिक रूपमा अग्ला र बलिया अनि खेल कौशलमा निकै माथिल्लो स्तरका खेलाडी समावेश टिमको सामना गर्न नेपाली टिमलाई सजिलो हुने छैन ।

‘खेल्ने शैलीमा केही परिवर्तन गरेका थियौं, जसको नतिजा देखिएको छ,’ प्रि–म्याच प्रेस कन्फ्रेन्समा बिहीबार प्रशिक्षक अब्दुल्लाहले भने, ‘हामी अर्को राम्रो खेल खेल्न चाहन्छौं । जसमा नतिजाभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य बनाएका छौं ।’ उनले थपे, ‘हाम्रो मुख्य लक्ष्य सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप हो । भविष्यमा राम्रो नतिजा दिने संकेत दिइसकेका छौं । साफकै तयारीमा हामी जुलाईमा युरोपेली र अफ्रिकी देशहरूसँग प्रतिस्पर्धा गर्ने योजनामा छौं ।’

उनले अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई डेब्यूको असर दिनसक्ने पनि बताए । यो टिमका २३ सदस्यमध्ये गोलकिपरद्वय दीप कार्की र विशाल सुनार, मिडफिल्डरहरू आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्न पाएका छैनन् । यी कुवेती प्रशिक्षकले एन्फाले दिएको लक्ष्यमा (समूहको चौथो स्थानमा रहने) सफल भएको पनि बताए । अघिल्ला दुई खेलमा घरेलु टिम कुवेतलाई ३–० र ताइपेइलाई ५–१ ले हराएको अस्ट्रेलियाले छनोटको अन्तिम खेलमा जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्यसैले नेपाली टिमविरुद्ध अस्ट्रेलियाले पहिलो रोजाइका केही खेलाडीलाई आराम गराएर नयाँलाई अवसर दिनसक्छ । लगातार सात खेल जितेर अस्ट्रेलिया एक खेलअगावै विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गर्न चाहन्छ ।

जोर्डनविरुद्धको हारसँगै नेपाल औपचारिक रूपमै विश्वकप छनोटबाट बाहिरिइसकेको छ । एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने यथावत छ । जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा अस्ट्रेलियालाई स्तब्ध पार्नसके नेपालले समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चारमा रहेर सिधै एसियाली प्रतियोगिताको छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नसक्छ । प्रतिस्पर्धा सधैं ०–० बाट सुरु हुने फुटबलमा जे पनि हुनसक्छ । तर, वास्तविकता अलि फरक छ । समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा परेन भने नेपालले तेस्रो चरणमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

झन्डै दुई वर्षअघिको खेलमा अस्ट्रेलियाविरुद्ध गोल गर्नसक्ने एउटै पनि अवसर सिर्जना नगरेको सम्झन्छन् विंगर सुजल श्रेष्ठ । त्यो बेला पूरा समय खेलेका उनले भने, ‘हामीले एउटै मौका पाएका थिएनौं । ५–० ले हारेका थियौं । नराम्रो हार थियो । गोल त खाइन्छ तर त्यत्रो गोल नखाऔं भनेर लागिपरेका थियौं । तर सकिएन । तैपनि त्यो प्रदर्शनमा नेपालीहरू खुसी नै थिए । मलाई चाहिँ अझै राम्रो गर्न सक्थ्यौं जस्तो लागेको थियो ।’ उनले थपे, ‘कोचले पछिको साफ च्याम्पियनसिपको तयारी भनेर आक्रामक खेलाइरहनुभएको छ । त्यो हिसाबले आक्रमक खेल्नु राम्रो हो । तर, नेपालको खुसी र गौरवका लागि रक्षात्मक खेल्नु राम्रो हो जस्तो लाग्छ ।’

चोटमुक्त हुने प्रयासमा रहेका सुजल चैतमा भएको थ्री नेसन्स कपयता मैदानमा फर्किएका छैनन् । उनीसहित क्यानबेरामा पहिलो रोजाइमा खेलेका चार खेलाडी यसपालि टिममा छैनन् । पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ, डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डका विशाल राई, अञ्जन विष्ट र फरवार्ड अभिषेक रिजाल टिममा निरन्तर छन् । त्यतिबेला वैकल्पिकको सूचीमा रहेका सुमन अर्याल, सन्तोष तामाङ, सुनिल बल र नवयुग श्रेष्ठ पनि कुवेत सिटीमा खेलिरहेका छन् । प्रशिक्षक योहान कालिनले सम्हालेको त्यो टिमका ११ खेलाडी अब्दुल्लाहको टिममा कायम रहे । १२ खेलाडीको लागि नयाँ प्रतिद्वन्द्वी हुनेछ अस्ट्रेलिया ।

क्यानबेरामा पूरा समय अस्ट्रेलियाको आक्रमण झेल्नेमा डिफेन्डर रन्जित धिमाल पनि थिए । उनले भने, ‘अस्ट्रेलियाजस्तो टिमसँग हामीले गुमाउनुपर्ने केही छैन । सिक्ने नै हो । त्यसैले राम्रो फुटबल खेल्नुपर्छ जस्तो लाग्छ । एट्याकिङ गर्ने र त्यत्तिकै डिफेन्डिङ पनि गर्ने ।’ उनले थपे, ‘अहिले विगतको भन्दा राम्रो एट्याकिङ गेम खेलिरहेको छ । अलि सुधारिएको छ । इराकजस्तो टिमलाई २ गोल गर्नु भनेको एकदम राम्रो हो । मिडफिल्डमा राम्रो पोजिसन राखेरै ताइपेईलाई हरायो । जोर्डनसँग पनि बल पोजेसन राख्ने प्रयास गरेका थियौं । तीनै गोल ‘सेट पिस’ मा खाएको हो । गोल गर्नसक्ने एक–दुई अवसर सिर्जना पनि गरेका थियौं । त्यसैले हामीले अस्ट्रेलियासँग पनि सक्छु भनेर खेल्नुपर्छ । नसक्ने भन्ने हुँदैन । खेलाडी भएपछि हरेस खानु हुँदैन । सक्छु भन्ने कन्फिडेन्स हुनुपर्छ ।’

अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिममा परिवर्तन आएको बताए । ‘नेपाली टिम निकै मिहिनेती छ र हामी खेल्न उत्साही छौं,’ उनले भने, ‘नेपालले फरक शैलीमा खेलिरहेको छ । पछाडिबाटै खेल्न प्रशस्त प्रयास गरेको छ । कोचले धेरै राम्रो काम गरेका छन् । हामी नेपाललाई सम्मान गर्छौं । उनीहरू मिहिनेती छन् ।’

प्रकाशित : जेष्ठ २८, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?