कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अस्ट्रेलियाविरुद्ध कसरी खेल्ने ?

राजु घिसिङ

काठमाडौँ — फुटबल विकासको आधार, खेलाडीको कौशल र वर्तमान टिमको अवस्थालाई सरसर्ती हेर्दा नै नेपालको लागि अस्ट्रेलियाको चुनौती एउटा ठूलै पहाडजस्तो हो । जसलाई छिचोल्ने प्रयास नेपालले शुक्रबार गर्दैछ । नेपाली टिमले एसियाली फुटबलकै महारथी अस्ट्रेलियाविरुद्धको प्रतिस्पर्धासँगै विश्वकप २०२२ छनोटको यात्रा पूरा गर्दैछ ।

अस्ट्रेलियाविरुद्ध कसरी खेल्ने ?

विश्वकपमा पछिल्ला चारै संस्करणको फाइनल चरणमा प्रतिस्पर्धा गरेको अस्ट्रेलियाविरुद्ध नेपालले एकपल्टमात्रै खेलेको छ । त्यो पनि यसैपालीको विश्वकप छनोटमा । एसियन कप २०२३ को पनि छनोट हो यो । १० अक्टोबर, २०१९ मा क्यानबेरा रंगशालामा भएको भेटमा अस्ट्रेलियाले नेपालमाथि सहजै ५–० को जित निकालेको थियो । नेपाली खेलाडीहरूलाई आफ्नै पेनाल्टी क्षेत्र वरिपरि सीमित पारेको खेलमा जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए भने डिफेन्डर ह्यारी साउटरले दुई गोल गर्न भ्याएका थिए ।

अस्ट्रेलियामा नेपाली टिम स्वीडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । उनीपछि बालगोपाल महर्जन आए । अहिले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी जिम्मेवारीमा छन् । विपक्षीलाई गोल गर्न नदिएसम्म हारिदैन भन्थे कालिन । उनले नेपाली टिमलाई त्यसैगरी खेलाउथे । डिफेन्स बलियो बनाएर काउन्टर आक्रमणमामात्रै अगाडि बढ्ने रणननीत अंगालेका थिए । उनले अस्ट्रेलियाविरुद्ध नेपाली टिमलाई त्यसैगरी खेलाएका थिए ।

एसियन कप २०१५ को च्याम्पियन अस्ट्रेलियाविरुद्ध फेरि प्रतिस्पर्धा गर्ने संघारमा आइपुग्दा नेपाली टिममा ठूलै परिवर्तन भएको छ । कालिनको टिममा क्यानबेरामा पहिलो रोजाईमा खेलेका ७ खेलाडीमात्रै अहिले कुवेत सिटीमा पुगेका छन् । यसमा गोलकिपर किरण चेम्जोङ, डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डका विशाल राई, अन्जन विष्ट र फरवार्ड अभिषेक रिजाल छन् । विंगर सुजल श्रेष्ठ र रवि पासवान तथा डिफेन्डरद्वय देवेन्द्र तामाङ र रन्जित धिमाल स्वदेशमै छन् । त्यस बेला वैकल्पिक खेलाडीको रुपमा रहेका सुमन अर्याल, सन्तोष तामाङ, सुनिल बल र नवयुग श्रेष्ठ यसपाली खेलिरहेका छन् ।

अस्ट्रेलियाविरुद्ध खेलेका त्यो टिमका १२ खेलाडी अब्दुल्लाहको टिममा अटाएनन् । केहीलाई चोटले सतायो भने केही खेलाडी प्रशिक्षकको योजनामा परेनन् । केहीले लय गुमाएमा पनि राष्ट्रिय टिममा स्थान पनि गुमाए । त्यसैले १२ खेलाडीको लागि नयाँ प्रतिद्वन्द्वी हुँदैछ अस्ट्रेलिया । प्रशिक्षक अब्दुल्लाहले ठूला टिमविरुद्ध पनि आक्रमक खेललाई निरन्तरता दिने बताएका छन् । फिफा वरीयतामा १३० स्थानमाथिको प्रतिद्वन्द्वीविरुद्ध उनको आक्रमक शैलीको रणनीति नेपाली टिमलाई घातक त हुने छैन ? झण्डै दुई वर्षअघि क्यानबेरामा पूरा समय अस्ट्रेलियाली आक्रमण झेलेका मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर रन्जित धिमाल (जो अहिलेको टिममा छैनन्) को सुझाव :

रक्षात्मक खेल्नै राम्रो : सुजल श्रेष्ठ

मैले ९० मिनेट खेल्दा उनीहरूको मैदान (क्यानबेरा) थियो । मौसम फरक थियो । अहिले पनि नेपाली टिमले बाहिरै खेल्दैछ । मौसम फरक नै छ ।

हामीले अस्ट्रेलियाविरुद्ध एउटा पनि गोलको अवसर बनाएका थिएनौं । एउटै मौका पाएका थिएनौं । हामी ५–० ले हारेका थियौं । मलाई भित्री रुपमै नराम्रो हार लागेको थियो । किनभने हामीले लामो अवधि तयारी गरेका थियौं । गोल त खाइन्छ तर त्यत्रो गोल नखाऔं भनेर लागिपरेका थियौं । तर, सकिएन । तैपनि त्यो प्रदर्शनमा अस्ट्रेलियामा रहेका नेपालीहरू खुसी नै थिए । तर, मलाई चाहिँ अझै राम्रै गर्नसक्थ्यौं जस्तो लागेको थियो ।

हामीले अस्ट्रेलियाविरुद्ध आक्रमकभन्दा रक्षात्मक खेल्दै राम्रो हुन्छ जस्तो लाग्छ । कोचले पछिको साफ च्याम्पियनसिपको तयारी भनेर आक्रमक खेलाइरहनुभएको छ । त्यो हिसाबले आक्रमक खेल राम्रो हो । तर, नेपालको खुसी र गौरवको लागि रक्षात्मक खेल्नु राम्रो हो जस्तो लाग्छ । अस्ट्रेलिया अफैले पनि कसरी खेल्छ भन्ने हेर्नुपर्छ ।

अस्ट्रेलियाविरुद्ध नेपालको प्रतिस्पर्धाको नतिजा सबैले अनुमान गर्ने चिज नै हो । यसबारे मैले केही भन्नुपर्ने जस्तो लाग्दैन । यो खेलमा हामीलाई केही सिक्ने अवसर मिल्छ । अस्ट्रेलिया विश्वकप खेल्ने टिम हो । अस्ट्रेलिया यो छनोटमा समूहको शीर्षस्थानमा छ । उसको स्तर र अवस्था बुझेकै छ, यस्तो टिमविरुद्ध हाम्रो खेलको अनुमान सहजै गर्नसक्छौं । यति बलियो टिमविरुद्ध खेल्दा हामीले सिक्ने मौका पाउनेछौं ।

नयाँ प्रशिक्षकको आगमनले खेलाडीहरूमा जोसमा छन् । प्रदर्शन सबैको उस्तै छ । अन्जन (विष्ट) ले इराक र ताइपेइसँग राम्रो खेलेका थिए । नयाँ खेलाडी मनीष (डाँगी) ले राम्रो गरिरहेका छन । मलाई उनको प्रदर्शनमा एकदम चित्त बुझेको छ । उनलाई पछि आएर (सब्स्टिच्युटको रुपमा खेलेर) पनि एकदम मिहिनेत गरेर खेल परिवर्तन गर्ने खालका खेलाडीको रुपमा देखेको छु ।

टिमको समस्या नकोट्याउँ । कोचले पछिसम्मलाई सोंचेर आफ्नो हिसाबले योजना बनाएको हुन्छ । अभाव देखिन्छ तर त्यो पछिको लागि सोच्नुभएको हो । त्यो सोच राम्रो हो । नयाँ कोच भएपछि सुरुमा सबै जोसमा हुन्छन् । तर, त्यो जोस पछिसम्म हुनुपर्‍यो ।

सक्छु भनेर खेल्नुपर्छ : रन्जित धिमाल

अहिलको कोचले अट्याकिङ फुटबल खेल्ने भनिरहनुभएको छ । अस्ट्रेलियाजस्तो टिमसँग हामीले गुमाउनु पर्ने केही छैन । हामीले सिक्ने नै हो । त्यसैले हामीले राम्रो फुटबल खेल्नुपर्छ जस्तो लाग्छ । अट्याकिङ गर्ने र त्यत्तिकै डिफेन्डिङ पनि गर्ने ।

क्यानबेरमा एकदमै रक्षात्मक खेलेका थियौं । अस्ट्रेलियाली खेलाडीलाई रोक्न एकदमै गाह्रो थियो । कोचको निर्देशनअनुसार जुन रक्षात्मक खेल खेलेका थियौं, राम्रै खेलेजस्तो लाग्छ । अस्ट्रेलियाको त्यो टिमलाई रोक्न एकदम गाह्रो नै थियो । डिफेन्डिङ सेपमा खेल्ने कोचको रणनीतिलाई हामीले पूर्ण उपयोग गरेजस्तो लाग्छ । रक्षात्मक खेल्ने, पायो भने काउन्टर अट्याक गर्ने रणननीत थियो । काउन्टर अट्याक खासै भएन । हामीले त्यस्तो उल्लेखयोग्य आक्रमण गरेको थिएन ।

अहिलेको टिमले विगतकोभन्दा राम्रो अट्याकिङ गेम खेलिरहेको छ । पहिलाभन्दा अलिकति सुधारिएको खेल खेलिरहेको छ । हामीले इराकजस्तो टिमलाई २ गोल (६–२ को हार) गर्नु भनेको एकदम राम्रो हो । चाइनिज ताइपेइलाई मिडफिल्डमा राम्रो पोजिसन राखेरै २–० ले हरायो । जोर्डनसँग पनि बल पोजेसन राख्ने प्रयास गरिरहेको थियो । खाएका तीनै गोल ‘सेट पिस’ मा हो । गोल गर्नसक्ने एक–दुई अवसर सिर्जना पनि गरेको थियो ।

हामीले अस्ट्रेलियासँग पनि सक्छु भनेर खेल्नुपर्छ । नसक्ने भन्ने हुँदैन । एउटा खेलाडी भएपछि हरेस खानु हुँदैन । सक्छु भन्ने कन्फिडेन्स हुनुपर्छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?