१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

युरो कप २०२० : पछ्याउन लायक स्ट्राइकर

काठमाडौँ — युरो २०२० फुटबल यसै साता सुरू हुँदै छ । यसको उपाधि त्यही टिमले जित्ने छ, जसले बढी गोल गर्न सक्नेछ । यो त सामान्य तथ्य नै भयो । तर मूल प्रश्न, आफ्नो टिमका लागि बढीभन्दा बढी गोल गर्नसक्ने खेलाडी को को हुन सक्छन् त ?

युरो कप २०२० : पछ्याउन लायक स्ट्राइकर

फ्रान्सेली समाचार संस्था एएफपीले यस्ता ६ खेलाडीको सूची तयार पारेको छ । उसले भनेको छ, यी खेलाडी प्रतियोगिताका क्रममा वास्तवमै पछ्याउन लायक छन् ।

रोमेलु लुकाकु (बेल्जियम)

बेल्जियम विश्वको शीर्ष वरीयताका टिम हो । टोली यसपल्टको युरो २०२० मा उपाधिको सबैभन्दा बलियो दाबेदार रहेको छ । तीन वर्षअगाडि विश्वकपमा बेल्जियम तेस्रो स्थानमा आएको थियो । यसपल्ट यो भन्दा ठूलो सफलता हात पार्ने हो भने बेल्जियमका लागि केभिन डी ब्रुयन र इडेन हाजार्डले राम्रो खेल्नुपर्नेछ । यतिले मात्र पुग्ने छैन, रोमेलु लुकाकुले गोल पनि गर्नुपर्नेछ ।

एन्डरलेचका लागि १६ वर्षमा सिनियर डेब्यू गरेका लुकाकु त्यसयता उनी बेल्जियम टिममा कही न कतैं छन् । अहिले उनी आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा छन् । उनले इन्टर मिलानका लागि यस सिजन सबैखाले प्रतियोगितामा ३० गोल गरे । उनले बेल्जियमका लागि ९३ खेलमा ६० गोल गरिसकेका छन् । यस्तोमा उनी आफ्नो देशका लागि सर्वाधिक गोलकर्ता हुन् ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

अहिले क्रिस्टियानो रोनाल्डो ३६ वर्षका भए । त्यसलै तय जस्तै छ, लगभग उनी आफ्नो खेलाडी जीवनको अन्तिमजस्तै ठूलो प्रतियोगिता खेलिरहेका छन् । पोर्चुगलले जितेको सन् २०१६ को युरोमा उनको भूमिका धेरै रहेन । उनले तीन गोलमात्र गरे । त्यसमा उनले वेल्सविरुद्ध सेमिफाइनलमा सुरुआती गोल गरे । फ्रान्सविरुद्धको फाइनलमा चोटका कारण धेरै समय मैदानमा बिताउन पाएनन् ।

तर यो तथ्यले पोर्चुगाली टिममा उनको महत्त्वलाई कम गर्दैन । यस सिजन पनि राम्रो नै खेले रोनाल्डोले । त्यसैले युभेन्ट्सका लागि ३६ गोल गरे । पोर्चुगलका यी कप्तानले युरो २०२० खेल्दा उनको नजर एउटा कीर्तिमानमा हुनेछ । त्यो हो देशका लागि सर्वाधिक गोलकर्ता बन्ने । अहिले यो कीर्तिमान इरानका अली दाइको नाममा छ, १ सय ९ गोलसहित ।

ह्यारी केन (इंग्ल्यान्ड)

युरो २०२० मा इंग्ल्यान्डको तयारी ह्यारी केनका लागि धेरै सम्झनलायक रहेन । किनभने टोटेनहममा उनको भविष्यलाई लिएर मात्र प्रश्न उठिरहे । उनले संकेत जस्तै गरेका छन्, सायद यो सिजन टोटेनहमका लागि अन्तिम हो । तर इंग्ल्यान्डका यी २७ वर्षीय कप्तानले युरोका लागि मैदान ओर्लिंदा यी सबै विवाद एकस्थानमा अलग्गै राख्नुपर्ने हुनेछ ।

आखिरमा उनी गारेथ साउथगेटको इंग्ल्यान्ड टिमका प्रमुख स्ट्राइकर हुन् । पछिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता केनले युरो छनोटमा १२ गोल पनि गरे । अझ उनी इंग्लिस प्रिमियर लिगको पछिल्लो सिजनका सर्वाधिक गोलकर्ता हुन्, २३ गोलसहित । टोटेनहम जस्तो कम उपलब्धि हात पार्ने टिमका लागि पनि उनले यति धेरै गोल गरेका हुन् । विश्वास गर्न सकिन्छ, यसपल्ट उनले धेरैभन्दा धेरै गोल गर्नेछन् ।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

रोबर्ट लेवान्डोस्की ३२ वर्षका भए । उनी आफ्नो खेलाडी जीवनको सबैभन्दा सफल समयबाट गुज्रिइरहेका छन् । उनले भर्खरै बुन्डेसलिगामा सर्वकालीन सर्वाधिक गोलको कीर्तिमान तोडे । उनले गड मुलरको लामो समयको कीर्तिमान भंग गर्दै एकै सिजन ४१ गोल गरे, २९ खेलमात्र खेलेर । गत वर्ष बालोन डे’अरको प्रतिस्पर्धा भएको भए, उनी नै विजेता हुने थिए ।

यसपल्टको युरो २०२० मा पोल्यान्डको प्रदर्शन कस्तो हुने हो, त्यो पूर्णतः उनमै निर्भर हुनेछ । इतिहासले के भन्छ भने पछिल्ला केही ठूला प्रतियोगितामा लेवान्डोस्कीले खासै राम्रो गर्न सकेका छैनन्, आफ्नो प्रतिष्ठाअनुसार । त्यसैले उनी यसपल्टको प्रतियोगितामा आफ्नो नामअनुसार गतिलै योगदान दिन तत्पर हुनेछन् ।

जेरार्ड मोरेनो (स्पेन)

यसपल्टको स्पेनी टिम यसअघिका टिम जस्तो छैन । कम्तीमा स्टार खेलाडीको हकमा । अहिलेको टिममा प्रतिभाशाली खेलाडीको भने कुनै कमी छैन । लुइस एनरिकेको स्पेनी टिमका यस्तै प्रमुख खेलाडी हुन सक्छन्, २९ वर्षीय जेरार्ड मोरेनो । उनले स्पेनी ला लिगामा पछिल्लो सिजन २३ गोल गरे । उनले भन्दा बढी गोल गर्ने एकै खेलाडीमात्र थिए । ती हुन् लियोनल मेसी ।

भिल्लारियलले युरोपा लिग उपाधि जित्दाको यात्रामा उनले सात गोल गरे अनि पेनाल्टी सुटआउटमा पनि । खासमा उनी आफ्नो उमेर केही ढल्केपछि मात्र चर्चामा आएका खेलाडी हुन् । त्यसैले त सर्जियो बुस्केटको नेतृत्वमा युरोमा छनोट खेल्दा मात्र यी खेलाडीले स्पेनका लागि डेब्यू अवसर पाएका थिए ।

करिम बेन्जेमा (फ्रान्स)

फ्रान्सेली टिममा करिम बेन्जेमाको पुनरागमन आफैंमा सनसनीपूर्ण समाचार थियो । रियल म्याड्रिडका यी स्टार खेलाडी साढे ५ वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट टाढा रहे । सन् २०१५ को विवादास्पद ‘ब्ल्याकमेल’ काण्डमा फसेयता उनले फ्रान्सका लागि खेलेका थिएनन् । तर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले बेन्जेमालाई बोलाउने निर्णय गरे ।

यसको कारण स्पष्ट छ, बेन्जेमाका लागि यो सिजन व्यक्तिगत रूपमा निकै सफल रह्यो । त्यसैले त उनले ३० गोल गरे । उनको आगमनले पक्कै फ्रान्स अझ बलियो टिम भएको छ । त्यसै पनि फ्रान्स विश्व च्याम्पियन हो, गत युरोमा फाइनल खेलेको टिम पनि । बेन्जेमाको उपस्थितिले फ्रान्सेली आक्रमण अझ तिखो हुनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?