ब्राजिलको जित, अर्जेन्टिना बराबरीमा रोकियो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राजिलको जित, अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी

मोन्टेभिडियो — नेयमारले एक गोल गर्दै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार पाराग्वेलाई २–० ले हरायो ।

नेयमारले चौथो मिनेटमा गोलको खाता खोले भने लुकास पाक्वेटाले दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल थपे । यो जितपछि ब्राजिल ६ खेलबाट १८ अंकसहित दस टिम सम्मिलत छनोटको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिना भने अर्को खेलमा कोलम्बियासँग २–२ को बराबरीमा रोकियो । अहिलेसम्म अपराजित अर्जेन्टिनाले ६ खेलमध्ये तीनवटामा बराबरी खेलिसकेको छ। अर्जेन्टिनाले दुई गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

सुरुआती आठ मिनेटभित्र क्रिस्टियन रोमेरो र लियानड्रो पारेडेसले गोल गरेका थिए । लुइस मोरेलले कोलम्बियाका लागि पहिलो गोल गरेपछि म्यागुएल बोरजाले बराबरी गोल फर्काए । यस्तै भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले । अन्य खेलमा पेरुले इक्वेडरलाई २–१ ले हरायो भने चिली र बोलिभियाले १–१ को बराबरी खेले ।



प्रकाशित : जेष्ठ २६, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय टिमबाट खेल्नुको अर्थ

फिलिप लाहम

क्या ! खुब भनिएको छ, फुटबलका राष्ट्रिय टिमहरू समयअनुसार चल्दैनन् । खासमा राष्ट्रिय टिमको सोच नै ऐतिहासिक रूपमा बोझिलो छ । विशेषतः यो युरोपको प्रसंगमा मिल्छ । तर यसबारे अर्को दृष्टिकोण छ, यसले कसैको हुनुको अर्थ पनि दिन्छ ।

तस्बिर : यूईएफए

यसले देशको परिचय बनाउने गर्छ । युरोपेली च्याम्पियनसिपको युरोपेली परिचयको सोच बलियो बनाएको छ । फुटबलको माध्यमबाट हामीले युरोपको वास्तविक परिचय बुझ्न सक्छौं ।

युरोपेली च्याम्पियनसिपमा सहभागी हुने खेलाडी होस् वा प्रशंसक फरक क्षेत्रका हुने गर्छन् । युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिताको सोच त्यतिबेला मात्र लागू हुन सकेको थियो, जतिबेला विश्वकप आफैंमा ३० वर्ष पुरानो भइसकेको थियो । यसको कारण अरू केही थिएन, युरोपभित्रको द्वन्द्व नै थियो । तर पछि भावनात्मक ढंगले युरोपलाई जोड्ने काम त फुटबलले नै गरेको हो । सन् १९६० मा पहिलोपल्ट युरो हुँदा शीतयुद्धको समय चलिरहेको थियो ।

संयोगले उपाधि जित्ने काम सोभियत संघले गरेको थियो । टिमका प्रमुख खेलाडी थिए लेभ यासिन । उनलाई ‘ब्ल्याक प्यान्थर’ नामले बढी चिनिन्छ । उनी मस्कोका खेलाडी थिए । अहिलेसम्म बालोन डे’अर जित्ने एकमात्र गोलरक्षक रहेका छन् उनी । उनको सबैभन्दा ठूलो परिचय हो, प्लेमेकर गोलरक्षक । सन् १९७६ मा चेकोस्लोभाकिया विजेता रह्यो । यो एक अर्को शक्तिशाली पूर्वी गुटको देश थियो । अझ भनौं यो बेलग्रेडको टिम थियो ।

उपाधिको बाटोमा उसले इंग्ल्यान्ड, पोर्चुगल, पश्चिम जर्मनी र नेदरल्यान्ड्सलाई हराएको थियो । पेनाल्टी सुटआउटमा एन्टोनिन पानेन्का नायक साबित भए । उनले पेनाल्टी प्रहार गर्नेक्रममा चिप प्रहार गरेका थिए । पछि प्रागको यिनै खेलाडीको ‘चिप पेनाल्टी’ प्रहारको नाम रह्यो । सन् १९९६ मा इंग्ल्यान्डले युरो आयोजना गर्दा यी पूर्वी गुटका ठूला देश अस्तित्वमा थिएनन् । बरू इतिहास बोकेका क्रोएसिया र चेक गणतन्त्रले पहिलोपल्ट खेले ।

सन् २००० सम्म पुग्दा युरोप देशको संख्या अझ फैलिएको थियो । सन् २०१२ आइपुग्दा त यसको आयोजना नै दुई देशले गरेका थिए । ती थिए पोल्यान्ड र युक्रेन । यसपल्ट इतिहासमै पहिलोपल्ट प्रतियोगिता ११ देशमा आयोजना भइरहेको छ । यस्तोमा पूरा युरोपलाई फुटबलले छोप्ने छ । यसपल्ट फुटबल ग्लास्गो पुग्नेछ, जहाँ १९ औं शताब्दीको सुरुआतमा फुटबलको आधुनिक जन्म भएको मानिन्छ ।

फेरि फुटबल बुडापेस्ट पनि पुग्नेछ । यो हंगेरीको सहर हो । यसले जन्माएका सबैभन्दा ठूला खेलाडी हुन्, फेरेन्क पुस्कास । फ्रान्सेली फुटबल पत्रिका ले’इक्विपले पुस्कासलाई युरोपका शताब्दीकै उत्कृष्ट खेलाडी घोषणा गरेको थियो । यस्तो प्रतियोगितालाई लिएर एउटा रमाइलो पक्ष के छ भने युरोपेली च्याम्पियनसिपमा खेल्ने ढाँचाले कमै मात्र अर्थ लाग्छ, जति यही कारण क्लब फुटबल परिचित हुने गर्छ । यसको कारण स्पष्ट छ । राष्ट्रिय टिमका प्रशिक्षकले आफ्ना खेलाडीसँग कमै मात्र समय बिताउन पाउँछन् । खासमा हुन्न नै । त्यसैले खेलाडीसामु आफ्नो वास्तविक खेल देखाउने अवसर हुन्छ, जुन एउटा राष्ट्रिय टिमले मात्र प्रदान गर्न सक्छ ।

त्यसैले नै युरोपेली च्याम्पियनसिपमात्र होइन, विश्वकप पनि धेरै फरक हुन्छ । यसमा धेरै विविधता पाइन्छ । अहिलेसम्म १० विजेता आइसकेका छन्, १५ संस्करणको प्रतियोगिताबाट । कुनै एउटा टिमले प्रतियोगिताका क्रममा लय समात्न सक्छ भने उसले लामो बाटो तय गर्न सक्छ । यसको कारण हो, यसमा दोस्रो लेगको खेल हुन्न । त्यसैले त यस्ता ठूला प्रतियोगितामा साना टिमको सम्भावना हुन्छ, उसले राम्रो खेल्ने अवसर धेरै हुन्छ ।

युरोपेली च्याम्पियनसिपसँग जोडिएका अनेकन कथामध्ये केही त वास्तवमै रोमाञ्चक खाले छन् । जस्तो, सन् १९८८ मा नेदरल्यान्ड्स च्याम्पियन बन्यो । त्यो पनि पश्चिम जर्मनीको भूमिमा । टिम विजेता के बन्यो, जर्मनीको यो सानो छिमेकी देशमा धुमधामले खुसीयाली मनाइयो । त्यतिबेला भनिएको थियो, नेदरल्यान्ड्सले दोस्रोपल्ट जर्मन प्रभुत्वबाट मुक्ति पाएको छ । सन् १९९२ मा डेनमार्क विजेता बन्यो, युद्धमा अल्छिएको युगोस्लाभाकियालाई हटाइएपछि ।

त्यो भन्दा बढी सनसनी त सन् २००४ मा देखियो । जतिबेला ग्रिसले उपाधि चुमेको थियो, ओटो रेहगेलको नेतृत्व । पोर्चुगल त्यस्तो देश हो, जसले एकसेएक खेलाडी त जन्माएको छ, तर कम जनसंख्या भएका कारण कुनै ठूलो उपाधि जित्न सकेको थिएन । सन् २०१६ मा यही पोर्चुगलले नै उपाधि जित्यो । यी सबै टिमको उपाधि यात्राको कारण सामान्य छ । यी देशका राष्ट्रिय टिमले एकजुट भएर खेलेका थिए, जुन क्लब फुटबलमा पाइन्न ।

त्यही संस्करणमा ३ लाख ५० हजार जनसंख्यामात्र भएको देश आइसल्यान्डले तहल्का मच्चायो । ब्रेकजिट मतदान भएको केही दिनमात्र भएको थियो, त्यही आइसल्यान्डले इंग्ल्यान्डलाई प्रतियोगिताबाट बाहिर पठाउने काम गरेको थियो । यही टिमका समर्थकले ‘थन्डरक्लाप’ को संस्कृतिलाई जन्म दिए । आइसल्यान्डको त्यो प्रदर्शन विश्व खेलकुदकै लागि एउटा प्रेरणा हुने गर्छ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल पुगेको थियो ।

यो विश्व मानचित्रमा पक्कै नयाँ देश हो । यो देशको रमाइलो पक्ष त के छ भने यहाँका जनता आफ्नो देशभन्दा बाहिर बढी बस्छन् । तर जतिबेला यसले फाइनलसम्म यात्रा तय गर्‍यो, क्रोएसियाली राष्ट्रियताप्रतिको गर्व खुबै चुलिएको थियो । कुनै पनि देशका राष्ट्रिय टिमको प्रदर्शनले पूरा देशकै परिचयमा प्रभाव पार्ने गर्छ । कुनै देश के हो, युरोपेली च्याम्पियनसिप जस्तो प्रतियोगिताले देखाउन गर्छ ।

–द गार्डियनमा प्रकाशित जर्मनीका पूर्व कप्तान लाहमको आलेख

प्रकाशित : जेष्ठ २६, २०७८ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×