कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एसियन कपको छनोट नै गाह्रो

एसियन कप छनोटमा कायमै रहन पनि नेपालले प्लेअफ खेल्नुपर्ने सम्भावना बढेको छ
राजु घिसिङ

काठमाडौँ — सबै खालका सम्भावना बाँकी हुँदा पनि नेपाली टिम विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने अपेक्षा गरिएको थिएन । त्यसनिम्ति सबै हिसाबले नेपाली टिम कमजोर नै थियो/छ । तर, यो एसियन कप २०२३ को छनोट पनि हो । हाम्रो सम्भावना यसैमा हो ।

एसियन कपको छनोट नै गाह्रो

लक्ष्य पनि एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बनाएको थियो । सातमध्ये ५ खेल हारेपछि नेपाललाई यो लक्ष्यमा पुग्न पनि गाह्रो भएको छ ।

नेपालले दोस्रो चरणको छनोटको अन्तिम खेलमा शुक्रबार अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । विश्वकपको पछिल्ला चारै संस्करण खेलेको टिम हो अस्ट्रेलिया । उसले ६ वर्षअघि एसियन कप जितेको थियो । त्यसैले फिफा वरीयतामा १३० स्थानमाथिको अस्ट्रेलियाविरुद्ध नेपालले अविश्वसनीय नतिजा निकाल्ने आसमात्रै गर्न सकिन्छ । वास्तविकता धेरै फरक छ । यस्तो टिमविरुद्ध ठूलो अन्तरको हार कसरी टार्ने भन्ने नै हुन्छ ।

क्यानबेरामा दुई वर्षअघिको ‘अवे’ खेलमा अस्ट्रेलियासामु नेपाली टिम निरीह बनेको थियो र ५–० ले हार्‍यो । त्यतिबेलाका प्रशिक्षक योहान कालिनले नेपाली टिमलाई रक्षात्मक रणनीतिमा उतारेका थिए । कालिनको सिद्धान्त नै डिफेन्स बलियो बनाएर विपक्षीलाई गोल गर्न नदिने र काउन्टर एट्याकमा अगाडि बढ्ने थियो । उनको रक्षात्मक खेलमा नेपालले ४ हार र १ जित निकाल्यो । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनसँगै नेपाली टिमको खेल्ने शैली फेरियो । टिमले आक्रामक रूप लियो । खेलाडीहरूमा जोस बढेको छ, फुटबलप्रेमीका लागि आशा पलाएको छ ।

तर, कालिनकालमा चाइनिज ताइपेई र जोर्डनविरुद्ध बेहोरेका नतिजा भने उस्तै निस्कियो । दुई वर्षअघि ताइपेईमा २–० ले जितेको नेपाल अम्मानमा जोर्डनविरुद्ध ३–० ले हारेको थियो । यसपालि कुवेत सिटीका दुई खेलको नतिजा पनि ठ्याक्कै उस्तै भयो, समान अन्तरका हार र जित । नेपालले कुवेतविरुद्ध दुवै ‘लेग’ खेलिसकेको छ । कुवेत सिटीमा भएको छनोटको पहिलो खेलमा ७–० को अपत्यारिलो हार बेहोरेको नेपालले दशरथ रंगशाला तयार नभएपछि थिम्पूमा भएको ‘होम म्याच’ १–० ले गुमाएको थियो ।

अब अन्तिम खेलमा अस्ट्रेलियाविरुद्धको नतिजा कुर्नुपर्छ, जुन नेपालका लागि एसियन कप छनोटको तेस्रो चरण प्रवेशलाई निर्णायक हुनेछ । त्यसमा ३ अंक जोड्न सके नेपाल महादेशीय प्रतियागिता छनोटको तेस्रो चरणमा पुग्नसक्छ । बराबरी वा हारको नतिजाले त्यो पनि सम्भावना बाँकी हुने छैन, प्लेअफमा झर्नेछ । त्यसैले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न नेपालले प्लेअफ नै खेल्नुपर्ने सम्भावना बढेको छ ।

प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताएका थिए । मैदानमा त्यस्तै प्रतिस्पर्धा देखिएन । अम्मानको तुलनामा नेपालले केही सकारात्मक आस गर्न मिल्ने प्रदर्शन भने गर्‍यो । जोर्डनले अम्मानमा पेनाल्टी गोलमै अग्रता लिएको थियो र कुवेत सिटीमा पनि त्यही कथा दोहोरियो । रोहित चन्दले मोहमद सुलेमनलाई फाउल गरेपछि पाएको पेनाल्टीमा वाह फैजल सैफले गोल गर्दै जोर्डनलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । त्यो पेनाल्टीले नै सबथोक परिवर्तन गरेको अब्दुल्लाहले प्रतिक्रिया दिए । ‘हामीले राम्रो खेल्यौं ।

खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । तर, पेनाल्टीले खेल परिवर्तन गरिदियो । त्यो गोलले जोर्डनलाई आत्मविश्वासी बनाइदियो,’ वरीयतामा ७६ स्थानमाथिको जोर्डनविरुद्धको खेलबारे प्रशिक्षक अब्दुल्लाहले भने, ‘हामी अस्ट्रेलियाविरुद्ध पनि त्यही जुझारुपन कायम राखेर खेल्नेछौं । रक्षात्मक खेल्ने र हार्ने भन्ने हुँदैन । यदि हार्‍यो भने पनि गर्वका साथ हार्न चाहन्छौं । अस्ट्रेलियाविरुद्ध उस्तै लयमा खेल्न चाहन्छौं ।’ युरोपेली लिगका खेलाडीको बाहुल्य रहेको अस्ट्रेलिया ६ खेलमा शतप्रतिशत जितसहित समूहको शीर्षस्थानमा छ । नेपाल ६ अंकसहित चौथोमा ।

तेस्रो चरणमा कसरी पुग्ने ?

यो विश्वकप/एसियन कपको छनोटमा आठ समूह छन् । जहाँ ३९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । कोरोना भाइरसको महामारीपछि उत्तर कोरियाले छनोटबाटै नाम फिर्ता लियो । यसले समूह ‘एच’ मा चार टिममात्रै बाँकी रह्यो । त्यसैले छनोटको अर्को चरणमा पुग्ने समीकरणमा समूहमा अन्तिम स्थान अर्थात् पाँचौं हुने टिमसँगको नतिजा गणना हुँदैन । यसबाट नेपाली टिम पनि प्रभावित भएको छ ।

समूहका शीर्षस्थानमा रहने आठ टिम, दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । त्यससँगै उनीहरू चीनले सन् २०२३ मा आयोजना गर्ने एसियन कपको फाइनल चरणलाई छनोट हुनेछन् । त्यसपछिका १६ टिम एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । यसमा समूहमा दोस्रो हुनेमध्ये पुछारका चार टिम, तेस्रो हुने आठ र चौथोमा रहनेमध्ये उत्कृष्ट चार देश हुनेछन् । बाँकी ११ टिम (समूहमा चौथो हुनेमध्ये पुछारका चार र अन्तिम स्थानमा रहने सात टिम) ले तेस्रो चरणको छनोटलाई प्लेअफ खेल्ने अवसर पाउनेछन् । त्यो प्लेअफबाट ८ टिमले एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् ।

एसियन कप छनोटको तेस्रो चरणमा २४ टिम (४–४ टिमका ६ समूह) प्रतिस्पर्धा गर्नेछन् । यसबाट १२ टिम एसियन कपमा छनोट हुनेछन् । चीन विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्न असफल भएमा उसले आयोजकको हैसियतमा एसियन कप खेल्नेछ र यस्तो समीकरणमा तेस्रो चरणको छनोटबाट ११ टिमले मात्रै महादेशीय च्याम्पियनसिपको फाइनल चरणमा अवसर पाउनेछ । एसियन कपको १८ औं संस्करणमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘बी’ मा दोस्रो स्थानको होडमा जोर्डन (१३ अंक) र कुवेत (१०) छन् । चौथो स्थानमा नेपाल (६ अंक) सुरक्षित भइसकेको छ । नेपालको लक्ष्य पनि चौथो हुनेमध्ये उत्कृष्ट चारमा रहँदै सिधै एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने हो । नेपालले छनोटमा दुई जित हात पार्‍यो । दुवै जित ताइपेईविरुद्ध । लगातार सात हारसँगै ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानबाट माथि उठ्ने छैन । त्यसैले आठ समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोटमा नेपालले ताइपेईविरुद्ध हात पारेका दुई जितको कुनै अर्थ हुने छैन ।

अस्ट्रेलिया, जोर्डन र कुवेतविरुद्ध नेपालले अंक जोड्न सकेन । गोल गर्न पनि सकेन । धेरै गोल (१९) बेहोर्‍यो । त्यसैले तेस्रो चरणमा पुग्नका लागि चौथो हुनेमध्ये उत्कृष्ट चारको वरीयतामा नेपाल पुछारमा छ । यसबाट माथि उक्सिन नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ, जुन फलामको च्यूरा चपाउनुसरह हुनेछ । त्यसैले एसियन कप छनोटमा कायमै रहन नेपालले प्लेअफ खेल्नुपर्ने सम्भावना बढेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?