२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

युरो कप : नयाँ अनुहार, नयाँ अपेक्षा

काठमाडौँ — प्रत्येक युरोपेली च्याम्पियनसिपको संस्करणले कोही न कोही युवा अनुहारलाई स्टार बनाएको छ । यो यस्तो प्रतियोगिता हो, जसबाट प्रत्येकपल्ट केही नयाँ खेलाडी ठूला नाम भएका छन् ।

युरो कप : नयाँ अनुहार, नयाँ अपेक्षा

यसपल्टको युरो २०२० मा पनि यस्तै हुनेछ, सायद योभन्दा बढी । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो विश्वकप टुंगिएको तीन वर्ष भइसकेको छ । त्यसैले यसपल्ट धेरैभन्दा धेरै खेलाडीले पहिलोपल्ट ठूलो प्रतियोगिता खेलिरहेका छन् ।

झन् त्यसमाथि युरोपेली फुटबल महासंघले एउटा टिममा २६ खेलाडीलाई अवसर दिएको छ, पारम्परिक २३ भन्दा पनि । त्यसको अर्थ प्रशिक्षकसामु केही बाक्लै संख्यामा कम अनुभवी खेलाडीलाई मौका दिन अवसर प्राप्त भएको छ । एसोसिएट प्रेस (एपी) ले त्यस्ता केही युवा खेलाडीको सूची बनाएको छ, जसबाट यसपल्टको प्रतियोगितामा धेरै अपेक्षा गर्न सकिन्छ ।

फिल फोडेन (इंग्ल्यान्ड)

युरोपेली च्याम्पियन्स लिगमा जतिबेला म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डको सामना गरेको थियो, त्यतिबेला सबैको नजर इर्लिङ हल्यान्डमा थियो । तर जतिबेला खेल सकिएको थियो, त्यसमा निर्णायक हुने सफल खेलाडी भने फिल फोडेन रहे । सिटी समग्रमा ४–२ ले जितेको त्यस टाइमा फोडेनले प्रत्येक लेगमा एक एक गोल गरे ।

सिटीको घरेलु मैदानबाट केही दूरीमा घर रहेका २१ वर्षीय फोडेन क्लबको युथ कार्यक्रमका उत्पादन हुन् । यसपल्टको इंग्लिस प्रिमियर लिगमा उनले सिटीका लागि लगभग सबै खेल खेले । सन् २०१८ को विश्वकपका बेला उनी भर्खरकै खेलाडी थिए, तर गत वर्ष भने उनले इंग्ल्यान्डका लागि डेब्यूको अवसर पाए नै ।

फेरान टोरेस (स्पेन)

स्पेनले गत वर्ष जर्मनीलाई ६–० ले हराउँदा २१ वर्षीय फेरान टोरेसले ह्याट्रिक गरे । नयाँ स्पेनी टिमका लागि उनी निकै प्रमुख खेलाडी रहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनी जर्मनीका लागि नियमित खेल्ने खेलाडी भइसकेका छन् । त्यसैले उनी म्यानचेस्टर सिटीका प्रमुख खेलाडी हुन् ।

युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा गरेका चार गोलले नै उनी कत्तिका खेलाडी हुन् भनेर प्रस्ट पार्छ । बार्सिलोनाका १८ वर्षीय अन्सु फाटीले केही समयका लागि टोरेसलाई ओझेलमा पारेको देखिएको थियो, तर फाटी आफैं घाइते भए र हराएजस्तै भए । यो भने टोरेसका लागि राम्रो अवसर बन्यो । फाटी आफै युरो २०२० का लागि चोटका कारण तयार हुन सकेनन् ।

जाओ फेलिक्स (पोर्चुगल)

सन् २०१९ मा जाओ फेलिक्स एक करोड ५३ लाख डलरमा बेन्फिकाबाट एट्लेटिको म्याड्रिड आए । सुरुआती दिनमा उनले आफ्नो नामअनुसार खेल्न सकेनन् र यसका पछाडि दुई ठोस कारण थिए । पहिलो त उनी चोटका कारण संघर्षरत रहे, दोस्रो उनी कोरोना भाइरसबाट संक्रमित भए । तर जतिबेला उनले लय समाते, उनको कुनै जवाफ थिएन ।

अहिले त उनी पोर्चुगलका लागि विश्वास गरिएका खेलाडीमा परेका छन् । सन् २०१९ मा उनले नेसन्स लिग सेमिफाइनलमा डेब्यू गरे । युरो २०२० मा उनी प्रशिक्षक फर्नान्डो टोरेसका लागि राम्रो विकल्पका खेलाडी हुनेछन्, किनभने पोर्चुगली टिमको आक्रमणमा क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा र बर्नार्डो सिल्भा छन् ।

जियानलुइजी डोनारुमा (इटाली)

एसी मिलानका यी गोलरक्षक जियानलुइजी डोनारुम भर्खर २२ वर्षका भए । तर उनले इटालीको राष्ट्रिय टिममा प्रवेश पाएको ५ वर्षजति भइसकेको छ । डोनारुमा इटालीको फुटबलका लागि पछिल्लो दशककै एक उत्कृष्ट खोजी हुन् । उनलाई जियानलुइजी बुफोनका सबैभन्दा राम्रो विकल्प साबित भएका छन् । उनले सन् २०१६ मा १६ वर्षकै उमेरमा मिलानका लागि डेब्यू गरेका थिए । केही समयमै उनी मिलानका पहिलो रोजाइका गोलरक्षक बने । सन् २०१८ को विश्वकपमा इटाली छनोट हुन सकेन । त्यसैले युरो २०२० मा उनी आफ्नो पहिलो ठूलो प्रतियोगिताका रूपमा खेल्नेछन् ।

काइ हाभर्टेज (जर्मनी)

गत वर्ष चेल्सीले २१ वर्षे काइ हाभर्टेजका लागि ९ करोड ९० लाख डलरमा किनेको थियो बोरुसिया लेभरकुजनबाट । इंग्लिस प्रिमियर लिगमा आएयता उनले आफूलाई स्थापित गर्न पक्कै पनि समय लगाए । एक प्रकारले उनलाई इंग्लिस फुटबलमा अभ्यस्त हुन गाह्रो भयो । जतिबेला चेल्सीमा जर्मन प्रशिक्षक थोमस टचेल आए, हाभर्टेज बेग्लै खेलाडी बने । यसपल्टको प्रतियोगिता जर्मन प्रशिक्षक जोचिम लोका लागि अन्तिम हो । उनले यति बेला केही नयाँ खेलाडीलाई मौका दिन सक्नेछन् । यसमा हाभर्टेज प्रमुख छन् । युरोपेली च्याम्पियन्स लिग फाइनलमा उनको प्रदर्शनले उनी कस्ता खेलाडी हुन्, त्यो त प्रस्ट भएकै छ ।

म्याथिज डी लिग्ट (नेदरल्यान्ड्स)

सन् २०१४ मा नेदरल्यान्ड्स पछिल्लो पटक विश्वकप खेलेको थियो । त्यसयता यो देशले धेरै युवा खेलाडी विकसित गरिसकेको छ, त्यो पनि अब्बल दर्जाका । त्यसमै एक हुन्, म्याथिज डी लिग्ट । सन् २०१९ मा अयाक्सले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको थियो र त्यसका एक स्टार खेलाडी यिनै डी लिग्ट थिए । त्यसपछि उनी युभेन्ट्स पुगे । यसक्रममा उनले आफूलाई विश्वकै अब्बल दर्जाका डिफेन्डरका रूपमा आफूलाई स्थापित गरेका छन् । उनी भर्खर २१ वर्षका भए । तर देशका लागि २० पल्ट भन्दा बढी खेलिसकेका छन् । कारण उनी वास्तवमै उत्कृष्ट डिफेन्डर हुन् ।

तस्बिर : एपी

प्रकाशित : जेष्ठ २५, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?