कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जोर्डनलाई स्तब्ध पार्ने लक्ष्य

एसियन कप छनोटको तेस्रो चरण पुग्न महत्त्वपूर्ण मानिएको खेलमा नेपालले बलियो जोर्डनविरूद्ध सोमबार प्रतिस्पर्धा गर्दै
राजु घिसिङ

काठमाडौँ — नेपाली टिमले विश्वकप छनोटमै १० वर्षअघि जोर्डनविरुद्ध दुई खेल खेलेको थियो । अम्मानको ‘अवे’ खेलमा ९–० ले स्तब्ध भएको नेपालले त्यसको पाँच दिनभित्रै दशरथ रंगशालामा भएको ‘होम म्याच’ १–१ मा टुंग्याएको थियो । खराब र राम्रो नतिजाको रूपमा यी दुवै खेलको चर्चा भइरहन्छ ।

जोर्डनलाई स्तब्ध पार्ने लक्ष्य

ती दुवै ‘लेग’मा गोलकिपर किरण चेम्जोङ र डिफेन्डर रोहित चन्दले पूरा समय खेलेका थिए । त्यतिबेला किरणले राष्ट्रिय टिममा खेल्न थालेको तीन वर्ष छोएको थियो भने रोहितले दुई वर्ष । तैपनि त्यो टिममा उनीहरू नयाँ खेलाडी थिए, जुनियर नै थिए । यी दुई अहिलेको नेपाली टिमका सबैभन्दा सिनियर खेलाडी हुन् । कप्तान नै हुन् किरण । क्लब फुटबल र राष्ट्रिय टिममै मिडफिल्डमा स्थापित भएर पनि आवश्यकताअनुसार अहिले सेन्टर ब्याकमै फर्किएका छन् रोहित । किरण गोलपोस्टको खम्बा भइहाले ।

एक दशकयता रोहित र किरणको खेल कौशलमा निकै परिवर्तन आएको छ, परिस्कृत भएको छ । दुवै खेलाडी करिअरकै उच्च लयमा छन् । रोहितले इन्डोनेसियाको लिग जिते भने किरणले माल्दिभ्स र भारतको लिगको ट्रफी चुमे । दुवैले राष्ट्रिय टिमसँग पनि उपाधि अनुभव गरिसकेका छन् । उनीहरूको साथमा नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी युवा टिमलाई विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा उत्कृष्ट नतिजा निकाल्दै नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा पुर्‍याउन चाहन्छन् । किरण र रोहितले यसपालि छनोटको अम्मान भेटमा जोर्डनले ३–० ले जित्दा पनि पूरा समय खेलेका थिए । अहिले त्यो टिमका ११ खेलाडीमात्रै छन् ।

छनोटमा नेपालको सम्भावना

चाइनिज ताइपेईविरुद्ध दुई जितसँगै ६ अंक जोडेको नेपाल छनोटको समूह ‘बी’ मा चौथो स्थानमा छ । अगाडि अस्ट्रेलिया (१५), कुवेत र जोर्डन (दुवै १० अंक) छन् । यसैबाट एसियन कपको तेस्रो चरणमा प्रवेश गर्न नेपालका लागि जोर्डनविरुद्ध सोमबार हुने खेल महत्त्वपूर्ण छ । कुवेत सिटीस्थित जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा ३ अंक जोड्न सके तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बढ्नेछ भने बराबरी नतिजाले गणितीय सम्भावनामै खुम्चिने छ ।त्यसैले हुनसक्छ, प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

समूहका शीर्ष टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणसँगै एसियन कपमा पुग्नेछन् । दोस्रो हुनेमध्ये तलका चार टिम, तेस्रो हुने आठ टिम र चौथो हुनेमध्ये उत्कृष्ट चार गरी १६ टिमले एसियन कप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गर्नेछन् । नेपाललाई समूहमा तेस्रो भएर सिधै एसियन कप छनोटको अर्को चरणमा पुग्ने अवसर पनि छ । त्यसको लागि जोर्डन र अस्ट्रेलियालाई पराजित गरेरमात्रै पुग्दैन, कुवेत र जोर्डनका बाँकी खेलको नतिजा पनि नेपालकै अनुकूल आउनुपर्छ । त्यसैले तेस्रो हुने नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ ।

छनोटका आठ वटा समूहका चौथो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा रहने टिमले मात्रै एसियन कपको तेस्रो चरणमा प्रवेश पाउनेछन् । छनोटको बीचबाटै उत्तर कोरियाले नाम फिर्ता लिएकाले पाँचौं हुने टिमसँगको नतिजा वरीयतामा (चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोट) गणना हुने छैन । त्यसैले सिधै एसियन कप छनोटको तेस्रो चरणमा पुग्न नेपाललाई सजिलो छैन । यसमा पर्न नसके नेपालले एसियन कपमा छनोटमा कयमै रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफबाट आठ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

‘जित्नकै लागि खेल्ने’

‘एसियन कप छनोट (तेस्रो चरण) मा पुग्ने हाम्रो लक्ष्य हो र त्यसका लागि हामीले जोर्डनलाई पराजित गर्नुपर्छ,’ फिफा वरीयतामा ७६ स्थानमाथिको जोर्डनविरुद्ध हुने खेलबारे अब्दुल्लाहले भर्चुअल प्रि–म्याच कन्फ्रेन्समा आइतबार भने, ‘धेरैले हामीलाई अन्डरडग भन्दै जोर्डनविरुद्ध नेपालको सम्भावना नभएको भनेका छन् । तर, हरेक खेल ०–० बाट सुरु हुन्छ । नतिजा मैदानमा गर्ने प्रदर्शनमा निर्भर हुन्छ । हामी हरेक मिनेट राम्रो प्रदर्शनको कोसिस गर्नेछौं । सुरुबाटै हाम्रो लक्ष्य जित हात पार्ने हुनेछ ।’

विश्वकप छनोटमा नेपालविरुद्धको खेलअघि प्रशिक्षणका क्रममा जोर्डनी राष्ट्रिय फुटबल टोली । तस्बिर : जोर्डन एफए

नेपालले जोर्डनविरुद्ध ३ खेल खेलेको छ । जोर्डनले २ जित र एक खेल बराबरी खेलेको छ । विश्वकप २०१४ को छनोटमा महादेशीय प्लेआफमै पुगेको टिम हो जोर्डन । उसलाई त्यो बेला विश्वकपमा पुग्नबाट लुइस स्वारेज र एडिन्सन काभानीको टिम उरुग्वेले रोकेको थियो । अब्दुल्लाहले भनेजस्तै फुटबलको प्रतिस्पर्धा सधैं ०–० बाटै सुरु हुन्छ । तर, इतिहास र अहिलेको वास्तविकता हेर्ने हो भने नेपालभन्दा धेरै बलियो टिम हो जोर्डन । यो खाडी देशले एसियन कपको पछिल्ला चारै संस्करणको फाइनल चरण खेलेको छ ।

दुई टिमको स्तर र सम्भावित नतिजा लिएर प्रशिक्षक अब्दुल्लाहले युरोपको विश्वकप छनोटमै दुई महिनाअघि उत्तरी मेसेडोनियाले चारपल्टको विश्वकप विजेता जर्मनीलाई २–१ ले पराजित गरेको उदाहरण दिए । ग्रिसले नसोचिएको रूपमा युरो कप २००४ को उपाधि जितेको पनि बताए । ‘जोर्डन बलियो टिम हो । ताइपेईविरुद्धजस्तै उसका लागि पनि हामीले मिहिनेत गरिरहेका छौं,’ उनले भने, ‘नतिजाभन्दा पनि उच्च प्रदर्शन गर्ने लक्ष्यसाथ खेल्नेछौं । मिहिनेतअनुसारै नतिजा हासिल गर्नेछौं ।’ उनले नेपाली टिमलाई ४–३–३ को आक्रामक रूप दिएका छन् । ठूला टिमविरुद्ध डराएर खेल्ने परम्परा तोड्दै आक्रामक खेल्ने रणनीति लिएका छन् । यसले सकारात्मक परिवर्तन ल्याएको छ ।

अब्दुल्लाहले टिम सम्हालेयता नेपालले पहिलो खेल वरीयतामा १०३ स्थानमाथिको इराकविरुद्ध खेल्यो । बासरामा भएको मैत्रीपूर्ण खेलमा ६–२ ले हारेको नेपालले प्रतिस्पर्धाले आधा घण्टा छुँदा अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता लियो । त्यसपछि बिहीबार विश्वकप छनोटमा ताइपेईमाथि २–० को जित रच्यो । अञ्जन र नवयुग श्रेष्ठले गोल गरे । त्यसैले नेपाली टिम राम्रो लयमा छ ।

खेलाडीहरूको मनोबल उच्च भएको अब्दुल्लाहले बताए । उनले खराब नतिजा आयो भने खेलाडीलाई दोष नदिन आग्रह गर्दै त्यसको जिम्मेवारी आफैंले लिने बताए, ‘यसको मतलब हामी डराएको होइन, प्रतिस्पर्धाअघि नै खेल सुम्पिएको होइन । गोर्खालीले कहिल्यै हार मान्दैन ।’

‘नेपालको स्तर र प्रणालीमा परिवर्तन’

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने लक्ष्यमा रहेको जोर्डन पनि नेपालविरुद्ध अंक गुमाउन चाहँदैन । बेल्जियन प्रशिक्षक भिटाल बुर्केलम्यान सोमबार जित हात पार्दै कुवेतमाथि ३ अंकको अग्रता लिएर दोस्रो स्थानमा उक्लिने योजनामा छन् ।

‘सबैले हामीले जित हासिल गर्दै ३ अंक जोड्ने अपेक्षा गरेका छन् । तर, यो फुटबल हो । यहाँ जे पनि सम्भव हुन्छ,’ तीन वर्षयता जोर्डनी टिम सम्हालिरहेका भिटालले भने, ‘नेपालले ताइपेई र इराकसँग खेलेको हेरेको छु । नेपालको स्तर र खेल्ने प्रणालीमा परिवर्तन भएको छ ।’ उनी सन् २०१२ देखि २०१६ सम्म बेल्जियमको सहायक प्रशिक्षक थिए । जोर्डनले कुवेत र अस्ट्रेलियाविरुद्ध पनि खेल्दै छ । विश्वकप छनोटको तेस्रो चरणमा पुग्न तीनै खेल जित्न आवश्यक रहेको भिटालले बताए ।

जोर्डन दुबईमा तयारी गरेर कुवेत सिटी पुगेको टिम हो । उसले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्यो । यूएईविरुद्ध ५–१ ले हारेको उसले भियतनामसँग १–१ को बराबरी गरेको थियो । उसलाई बेल्जियम, कतार, कुवेत, इराक र यूएईको लिगमा आबद्ध ९ खेलाडीको साथ छ । त्यो स्तरका खेलाडी नेपाली टिममा छैनन् । तर, फुटबलमा सधैं उत्कृष्ट खेलाडीको टिमले मात्रै जित्दैन ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?