ठूला टिमविरुद्ध फेरिने आशा

माथिल्लो स्तरको प्रदर्शनलाई अन्तर्राष्ट्रिय फुटबलमा बिरलै दोहोर्‍याउने गरेको नेपालले यसपल्ट कुवेत सिटीमा सुधार्ने अपेक्षा गरिएको छ
राजु घिसिङ

काठमाडौँ — स्विडिस प्रशिक्षक योहान कालिनले दुई वर्षअघि सम्हालेको नेपाली टिमको पहिलो प्रतिद्वन्द्वी थियो, कुवेत । नेपाली टिम मैत्रीपूर्ण दुई खेलका लागि खाडी मुलुक पुगेको थियो । पहिलो खेल गोलरहित सकियो । दोस्रो खेल पेनाल्टी गोलमा कुवेतले १–० ले जित्यो । महादेशकै कमजोर टिममा पर्ने नेपालका लागि फेरि बलियो बन्ने अभियानमा रहेको कुवेती टिमविरुद्ध यी दुई नतिजा नसोचिएका उपलब्धि नै थिए । त्यो पनि प्रतिस्पर्धीको भूमिमा ।

ठूला टिमविरुद्ध फेरिने आशा

ती दुई खेलको नतिजाबाट कालिन र खेलाडीले वाहवाही पाए । त्यसपछि विश्वकप २०२२/एसियन कप २०२३ को संयुक्त छनोटमा नेपाल र कुवेत एउटै समूहमा पर्‍यो । छनोटको पहिलो खेलमै यी दुईको भेट भयो । फेरि कुवेतमै । मैत्रीपूर्ण खेल राजधानी कुवेत सिटी नजिकैको अल–अहमादी रंगशालामा भएको थियो । छनोटको प्रतिस्पर्धा राजधानीकै कुवेत स्पोर्ट्स क्लब स्टेडियम । मैत्रीपूर्ण खेल खेलेको ६ महिनापछि छनोटमा भएको भेटमा भने कुवेतले ७–० को जित निकाल्यो । कुवेतले पहिलो हाफमा २ गोल गर्‍यो । दोस्रो हाफमा ५ गोल ।

अन्तिम दुई गोल त इन्ज्युरी समयमा भएको थियो । विश्वकप छनोटमा यस्तो सुरुआत नेपाली फुटबलले चाहेको थिएन । त्यो नतिजाले स्तब्ध नै बनायो । फेरि टिम आलोचित भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले त खेलाडीहरूलाई चेतावनीकै भाषामा सोधेका थिए, ‘के हो त्यस्तो प्रदर्शन ? टिममा पुरानै रोग अझै छ ?’ त्यस्तो प्रदर्शन, नतिजा र यस्ता प्रश्नले टिममा विश्वासभन्दा पनि धेरै शंका गर्ने ठाउँ दिन्छ । नेपाली फुटबलमा बहुचर्चित खेल मिलेमतो (फिक्सिङ) काण्ड धेरैले बिर्सेका थिएनन् । कुवेतविरुद्ध ठूलो हारलाई लिएर एन्फाकै इन्टिग्रिटी अफिसरले अनुसन्धान पनि गर्‍यो । तर, त्यो निष्कर्ष निस्किएन ।

कालिनले कुवेतमा ७–० को हार कल्पना गरेका थिएनन् तर त्यसको पाँच दिनभित्रै नेपालले चाइनिज ताइपेईमा २–० को जित निकाल्यो । एक किसिमले ताइवानको नतिजा अनपेक्षित नै थियो । किनभने कुवेतमा नेपाली टिमले साह्रै खराब खेलेको थियो । पूरा खेलमै बल आफ्नै पेनाल्टी क्षेत्रवरिपरि थियो । कुनै खेलाडीको प्रदर्शन चित्तबुझ्दो थिएन । कुवेती खेलाडीले खुलेरै खेल्न पाइरहे । र, त्यो बेला फिफा वरीयतामा नेपालभन्दा ४१ स्थानमाथि पनि थियो ताइपेई । यसपालि विश्वकप छनोटमा नेपालको पहिलो जित त्यही हो र दोस्रो जित पनि ताइपेईविरुद्ध नै निस्कियो । कोरोना भाइरस महामारीले प्रभावित छनोट फेरि सुचारु हुँदा नेपालले बिहीबार ताइपेईलाई २–० ले हरायो ।

‘कोचको रूपमा स्वीकार्न गाह्रो छ तर कसैलाई दोष दिन चाहन्न, प्रमाण कोहीसँग छैन,’ भदौमा प्रशिक्षकबाट राजीनामा दिएपछि कालिनले कुवेतसँग ७–० को हारबारे भनेका थिए, ‘मैत्रीपूर्ण प्रतिस्पर्धाको पहिलो खेल गोलरहित भयो । अर्को खेलमा बराबरी गर्ने राम्रो अवसर थियो । कुवेतलाई राम्रोसँग अध्ययन गरेका थियौं । कमजोरी पत्ता लागेको थियो । सुगठित डिफेन्स बनाएका थियौं । त्यसैले कुवेत बलियो टिम भए पनि हामीलाई बराबरी गर्ने मौका थियो । हारमा पनि हामीले राम्रो गर्न सक्थ्यौं । तर, टिम नै कोल्याप्स भयो । हामीले सुरुबाटै खराब खेल्यौं र ७ गोल खायौं ।’

सात गोल खाएको दुई महिनापछि नेपालले त्यही कुवेती टिमविरुद्ध थिम्पूमा खेल्यो । दशरथ रंगशाला तयार नभएपछि नेपालले ‘होम म्याच’ का लागि थिम्पू रोजेको थियो । त्यहाँ कुवेतको जित १–० मा छोट्टियो । रोहित चन्दको प्रहारले जाली चुमेको भए त्यो खेलको कथा अर्कै हुनसक्थ्यो । थिम्पूमा ‘हाइअल्टिच्युड’ ले खेल्न गाह्रो भएको कुवेती खेलाडीको भनाइ थियो । नेपाली खेलाडीहरूले पनि कुवेतमा सात गोल बेहोर्दा त्यहाँ गर्मीका कारण खेल्न नसकेको बताएका थिए । नेपालले कुवेतविरुद्ध छनोटका दुवै खेल खेलिसकेको छ । त्यसैले तटस्थ भूमिको रूपमा कुवेतमा आयोजना गरिएको समूह ‘बी’ को यो छनोटमा नेपालले फेरि कुवेतको सामना गर्ने छैन ।

युवा जोस र लय

कुवेतकै स्तरको टिम हो जोर्डन । यो टिमविरुद्ध नेपालले सोमबार खेल्दै छ । त्यसपछि शुक्रबार अस्ट्रेलियाविरुद्ध । फिफा वरीयतामा जोर्डन ९५ औं स्थानमा छ भने नेपाल १७१ औंमा । त्यसैले दुई वर्षअघि कुवेतविरुद्धको खराब प्रदर्शन र बिर्सनलायक नतिजाबाट उक्सिने अवसर नेपालले पाएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनले नेपाली टिमको स्वरुप नै फेरिएको छ । युवा खेलाडीलाई प्राथमकिता दिएका उनले ठूला टिमविरुद्ध पनि आक्रामक खेल्ने बताएका छन् । सुरुका दुई खेलको प्रदर्शन र नतिजाले पनि उत्साही बनाएको छ ।

नेपालले ४० डिग्री सेल्सियस तापक्रममा भएको प्रतिस्पर्धामा ताइपेईलाई २–० ले हराएको थियो । त्यसअघि नेपालले बासराको चर्को गर्मीमा खेलेको मैत्रीपूर्ण खेलमा इराकसँग ६–२ को हार बेहोरेको थियो । आयोजनास्थलको मिल्दो मौसममा नेपाली टिमले १० दिन बिताइसकेको छ । त्यसैले यसपालि खेलाडीलाई गर्मीको बहाना बताउने अवसर छैन । सात गोल खाएको टिम र अहिलेको नेपाली टिममा ठूलै परिवर्तन भएको छ । त्यो बेलाका ११ खेलाडीमात्रै अब्दुल्लाहको टिममा छन् । पहिलो रोजाइकै ६ खेलाडी बाहिरिए । त्यसैले नयाँ रणनीति, लिएको आक्रामक स्वरुप र युवा जोसमा नेपाली टिमले राम्रो प्र्रदर्शनलाई निरन्तरता दिनसक्छ । नेपालले ३० महिनापछि लगातार चार खेलमा गोल गर्ने अवसर पनि पाएको छ ।

१० वर्षअघिको ‘कमब्याक’

जोर्डनले नेपाललाई १० वर्षअघि भएको विश्वकप छनोट (प्रारम्भिक चरण) को ‘अवे’ खेलमा ९–० ले हराएको थियो । त्यो अन्तर अनपेक्षित थियो । निकै अपत्यारिलो । त्यसैलाई लिएर धेरै प्रश्न तेर्सिए । कुवेतमा जस्तै अम्मानमा कुनै खेलाडीको प्रदर्शन गतिलो थिएन । तर ९ गोल बेहोरेको ५ दिनभित्रै दशरथ रंगशालामा नेपालले जोर्डनलाई १–१ मा रोक्यो । यो पनि नासोचिएको नतिजा थियो । झरीमै भएको खेलमा सन्तोष साहुखलको उत्कृष्ट पासमा भरत खवासले गरेको गोल र रोहित चन्दको अचुक ट्याकलमा नेपालले बराबरी गरेको थियो । यसपालिको अम्मान भेट जोर्डनले ३–० ले जित्यो ।

दक्षिण कोरियाविरुद्ध एसियन कप २००४ को छनोटमा १६–० को हार नेपालको इतिहासमै सबैभन्दा खराब हो । त्यसमा खेलाडी पलायनको पीडा पनि मिसिएको थियो । त्यसको एक महिनाभित्रै मस्कट (ओमान) को भेटमा नेपालले कोरियासाग हारको अन्तर ७–० मा झारेको थियो । नेपालले कोरियाविरुद्ध नै ३२ वर्षअघि विश्वकप छनोटमा ९–० ले हारेको एक साताभित्रै अर्को खेल ४–० (हार) मा टुंग्याएको थियो । इराकविरुद्ध २० वर्षअघिको छनोटमा ९–१ ले पराजित भएको दुई साता नबित्दै हारअन्तर ४–२ बनाएको थियो ।

ठूला हारपछि छोट्टिएका गोल अन्तरले नेपाली टिम त्यति खराब थिएन भन्ने देखाउाछ । गोल गर्न नसक्ने र एकरुपको खेल प्रदर्शन नगर्न छवि फेर्ने मौका नेपाली टिमले पाएको छ । ठीक यही बेला ठूला टिमसँग डराएर खेल्ने र रक्षात्मक रणनीति अंगाल्ने परम्परा परिवर्तन गर्ने प्रयासमा छन् अब्दुल्लाह । इराकसागको गोल र ताइपेईविरुद्धको जितसँगै नेपाली टिमले लय समातेको छ । प्रशिक्षक अब्दुल्लाहले पनि यसलाई सुरुआतमात्रै भएको बताएका छन् । त्यसैले नेपाली टिमले कुवेती भूमिमा अनपेक्षित र अपत्यारिला नतिजालाई टार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?