२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गोलको खडेरी तोडिँदै

नेपाली राष्ट्रिय टिम झन्डै तीन वर्षपछि लगातार चार खेलमा गोल गर्ने संघारमा आइपुगेको छ
राजु घिसिङ

काठमाडौँ — गत चैतमा दशरथ रंगशालामा नेपालले थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । सन्जोक राईले १८ औं मिनेटमा गोल गरे, जसले नेपालको गोलविहीन यात्रालाई ७ खेलमा टुंग्याइदियो । अर्को गोल विशाल राईले गरेका थिए ।

गोलको खडेरी तोडिँदै
  • इराकविरुद्ध बासरामा गत शनिबार मैत्रीपूर्ण खेलमा नेपाली टिम ६–२ ले हार्‍यो । फिफा वरीयतामा १०३ स्थानमाथिको टिमविरुद्ध अञ्जन विष्ट र मनीष डाँगीले गोल गरे ।
  • विश्वकप/एसियन कप छनोटमा बिहीबार नेपालले चाइनिज ताइपेईलाई २–० ले हरायो । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोलसँगै नेपालले कुवेत सिटीमा ३ अंक जोड्यो ।

नेपाली राष्ट्रिय फुटबल टिमका लागि ताइपेईविरुद्धको जितमा गोल पनि उत्तिकै महत्त्वपूर्ण रह्यो । नेपालले ३० महिनापछि लगातार तीन खेलमा गोल गर्‍यो । नेपालले सेप्टेम्बर २०१८ मा ढाकामा भएको साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा तय गर्ने क्रममा लगातार ४ खेलमा गोल गरेको थियो । दोहामा भएको एसियन कप छनोटमा यमन र साफ २०१८ को पहिलो खेलमा पाकिस्तानविरुद्ध समान २–१ को हार तथा भुटानमाथि ४–० र आयोजक बंगलादेशविरुद्ध २–० को जित । त्यसयता नेपालले १९ खेल खेल्यो र यसबीच लगातार तीन खेलमा गोल गरेको यसपालि हो ।

साफ २०१८ को सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हारसहित लगातार ६ खेलमा नेपालले गोलको खाता खोल्नै सकेन । नेपालले त्यो गोलविहीन खेलको शृंखलालाई पनि ताइपेईसँगको प्रतिस्पर्धामै तोडेको थियो । अभिषेक रिजालले काओसिङमा गोल गरेपछि नेपालले ताइपेईसँगको मैत्रीपूर्ण खेल (६ जुन २०१९) १–१ मा टुंग्याएको थियो । अर्को खेल विश्वकप २०२२/एसियन कप २०२३ को छनोट थियो कुवेतविरुद्ध । कुवेत सिटीमा नेपालले ७–० को अपत्यारिलो हार खेप्यो । त्यसको पाँच दिनभित्रै ताइपेईमा नेपालले २–० को जित रच्दै फेरि विश्वास जित्यो ।

ताइपेईमा अञ्जनले दुई गोल गरेपछि पनि नेपाली टिम गोलकै खडेरीबाट गुज्रियो । गोल नै गर्न नसक्ने जस्तो देखियो । लगातार ७ खेलसम्म गोल गर्न सकेन । त्यो गोलविहीन यात्रालाई सन्जोकले थ्री नेसन्स कपको फाइनलमा आएर तोडिदिए । छिमेकी बंगलादेश र किर्गिस्तान यू–२३ सहभागी थ्री नेसन्स कप प्रतिष्ठित प्रतियोगिता थिएन । तर, प्रशिक्षक बालगोपाल महर्जनले सम्हालेको नेपाली टिमले ३७ वर्षपछि घरेलु मैदानमा जितेको उपाधिले बेग्लै अर्थ राख्छ । त्यसपछि नेपाली टिम सम्हाल्न आइपुगे कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ।

प्रशिक्षक अब्दुल्लाहले जिम्मेवारी पाएलगत्तै नेपाली टिमलाई आक्रामक फुटबल खेलाउने बताएका थिए । दुई खेलमा त्यस्तै गरे पनि । विश्वकप खेलिसकेको र एसियन कप जितिसकेको देश इराकविरुद्ध बासरामा दुई गोल आक्रामक रणनीतिकै परिणाम हो । उनले फिफा वरीयतामा ३० स्थानमाथिको ताइपेईविरुद्ध कुवेतको चर्को गर्मीमा पनि ४–३–३ को आक्रामक शैली अपनाए । त्यसैको परिणाम मान्नुपर्छ चौथो मिनेटमै अञ्जनको अचुक पेनाल्टी र ८१ औं मिनेटमा नवयुगको ‘वान टच’ फिनिसिङ ।

अब्दुल्लाहले ठूला टिमविरुद्ध नेपाललाई आक्रामक शैलीमै खेलाउने बताइरहेका छन् । त्यसैको परीक्षण थियो इराकविद्धको खेल । उनले रक्षात्मक रूपमा खेल्ने नेपालको परम्परागत शैली परिवर्तन गर्ने प्रयास गरिरहेका छन् । उनको शैली अघिल्ला प्रशिक्षक बालगोपाल र योहान कालिनको भन्दा बिल्कुलै भिन्न छ । कालिनले विश्वकप छनोटका अघिल्ला ५ खेलमा नेपाली टिम सम्हालेका थिए । उनको सिद्धान्त नै थियो– डिफेन्सलाई बलियो बनाएर काउन्टर आक्रमणमा अगाडि बढ्ने अर्थात् गोल खाएन भने हारिँदैन भन्ने खालको । बालगोपाल सिद्धान्त पनि ठूला टिमसँग रक्षात्मक खेल्ने नै थियो । कालिनको टिममा एक स्ट्राइकरले मात्रै मौका पाउँथे । अब्दुल्लाहले अग्रपंक्तिमा तीन खेलाडीलाई सारेका छन् ।

नेपाली टिम सधैं ठूला टिमविद्ध डराएर खेल्थ्यो । धेरै गोल बेहोर्न नपोस् भनेर डिफेन्समै केन्द्रित हुन्थ्यो । त्यसैमा परिवर्तन चाहेका छन् अब्दुल्लाहले । उनले भन्ने गरेका छन्, ‘कुनै पनि टिमसाग डराउनु हुँदैन, आक्रामक खेल्नुपर्छ, गोल गर्नुपर्छ । अनि पो जित्नका लागि खेलेको हुन्छ त ।’ उनले इराकविरुद्ध उत्रिएका नवयुग र मनीषलाई ‘बेन्च’ मा राख्दै ताइपेईविरुद्ध सुनिल बल र आशिष लामालाई पहिलो रोजाइमा खेलाएका थिए । यो उनको रणनीतिक खेल थियो । मनीषलाई दोस्रो हाफको सुरुबाटै खेलाए । नवयुगलाई ६९ औं मिनेटदेखि । यस्तो रणनीति सफल पनि भयो । नवयुगको गोलमा नेपालले जित पक्का गर्‍यो भने मनीषले ताइवानी डिफेन्सलाई व्यस्त राखेका थिए ।

‘यो हाम्रो सुरुआत हो, लक्ष्यमा पुग्न बाँकी नै छ । अझै धेरै गर्न बाँकी छ । त्यसका लागि खेलाडीलाई समय र धैर्य आवश्यक छ,’ छनोटका ६ खेलमा दोस्रो जित हात पारेपछि प्रशिक्षक अब्दुल्लाहले भने, ‘एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौं ।’ नेपालले सोमबार जोर्डन र शुक्रबार अस्ट्रेलियाविरुद्ध खेल्दै दोस्रो चरणको छनोट टुंग्याउने छ ।

ताइपेईविरुद्धको दुवै खेल जितेपछि ६ अंक बनाएर नेपालले समूह ‘बी’ मा चौथो स्थान पक्का गर्‍यो । शीर्षस्थानको अस्ट्रेलिया (५ खेलमा १५ अंक) सहित कुवेत (६ खेलमा १०) र जोर्डन (५ खेलमा १०) लाई उछिन्ने नेपालको सम्भावना गाणितीय रूपमा मात्रै बाँकी छ । वास्तविकतामा धेरै कठिन । एसियन कप छनोटको तेस्रो चरणमा पुग्न पनि समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चारमा रहनुपर्छ । त्यसमा नपरे छनोटको तेस्रो चरण पुग्नका लागि प्लेअफ खेल्नुपर्नेछ ।

अब्दुल्लाहको आक्रामक रणनीतिसँगै नेपालले परम्परागत रूपमा रहेको गोलको खडेरी तोड्ने संकेत दिएको छ । विश्वकप छनोटमा नेपालले ४ गोल गर्दै १६ गोल बेहोर्‍यो । चारै गोल ताइपेईविरुद्ध हो । लगातार चार खेलमा गोल गर्न पनि बलियो मानिएको जोर्डनविरुद्ध आक्रामक खेल्नुपर्नेछ ।

सोलिडारिटी कप २०१६ को उपाधि जित्दाका पछिल्ला तीन खेल र एसियन कप २०१९ छनोटमा फिलिपिन्ससँग गरी लगातार चार खेलमा (८ नोभेम्बर २०१६ देखि २८ मार्च, २०१७ सम्म) नेपालले गोल गरेको थियो । त्यसपछि एसियन छनोट र साफ (२७ मार्च २०१८ देखि ८ सेप्टेम्बर २०१८ सम्म) का चार खेलमा निरन्तर गोल गर्‍यो । ती दुवै यात्राका प्रतिस्पर्धी आफ्नै स्तरका थिए । यसपालि लगातार गोलका लागि ठूलै टिमको चुनौती आइलागेको छ । नेपालले गोललाई निरन्तरता दिने प्रयास र अंक जोड्ने लक्ष्यमा जोर्डनविरुद्ध पनि आक्रामक खेल्नेछ ।

१३ वर्षयता राष्ट्रिय टिममा नियमित रहेका कप्तान किरण चेम्जोङले शुक्रबार भने, ‘यो कोचले सबै खेलाडीलाई कन्फिडेन्ट बनाएको छ । हामी गर्नसक्छौं, राम्रो फुटबल खेल्नसक्छौं भन्ने बनाइदिएको छ । दुई खेलमै पहिलाभन्दा धेरै परिवर्तन देखिएको छ । आक्रामक फुटबल खेलिरहेका छौं । सबै खेलाडीको मनोबल उच्च छ । हामी गोल गर्न सक्छौं, हामी आक्रमण गर्न सक्छौं भन्ने भएको छ । अर्को स्तर (माथिल्लो) महसुस गरेका छौं । दुई खेलको परिवर्तन हेरेर हामी अझै बढी गर्नसक्छौं जस्तो लाग्छ ।’

प्रकाशित : जेष्ठ २२, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?