कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

घरबाहिर अर्को जितको चाहना

नेपालले विश्वकप/एसियन कप छनोटमा बिहीबार चाइनिज ताइपेईविरूद्ध प्रतिस्पर्धा गर्दै छ । कुवेत सिटीको चर्को गर्मीमा हुने खेलमा नेपाली टिमले ३ अंक जोड्ने कोसिस गर्नेछ ।
राजु घिसिङ

काठमाडौँ — नेपालले विश्वकप छनोटको प्लेअफमा १० वर्षअघि बलियो टिम जोर्डनविरुद्ध अम्मानमा ९–० ले हारेको ५ दिनभित्रै काठमाडौंमा १–१ को बराबरी खेलेको थियो । यसले फुटबलमा घरेलु मैदानले कति धेरै फरक पार्छ भन्ने देखाउँछ । चिरपरिचित मैदान, हजारौं समर्थक, अनुकूल मौसमले प्रदर्शनमै ठूलो प्रभाव पार्छ ।

घरबाहिर अर्को जितको चाहना

नेपालले चाइनिज ताइपेईलाई डेढ वर्षअघि उसैको भूमिमा हराएको थियो । विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा नेपालले हात पारेको एकमात्र जित हो त्यो । ताइवानमा ३ अंक जोडेपछि दशरथ रंगशालामा नेपाली खेलाडीहरू ढुक्कसँग खेल्ने अनुमान गरिएको थियो ।

तर, कोरोना भाइरस महामारीले ताइवानी टिमलाई नेपाल आउन दिएन । नेपालले घरेलु मैदानका अरू दुई खेल (अस्ट्रेलिया र जोर्डनविरुद्ध) पनि अन्तै खेल्नुपर्ने भएको छ । महामारीले यस्तो परिस्थिति सिर्जना गर्‍यो कि अर्को वर्ष कतारमा हुने विश्वकप नै शंकाको घेरामा पारिदियो । महामारीको एकपछि अर्को लहरबीच फुटबल दर्शकविहीन रूपमै भए पनि सुचारु भयो । विश्वकप र एसियन कपको संयुक्त छनोट पनि १९ महिनापछि फेरि सञ्चालन हुँदै छ । यसमा नेपालले घरेलु मैदानका बााकी तीन खेल तटस्थ भूमि कुवेत सिटीमा खेल्नुपर्ने भएको छ ।

महामारीले सबैलाई सताएको छ । दुःख दिएको छ । यसले अन्तर्राष्ट्रिय फुटबललाई धेरै नराम्रो असर गर्‍यो । कतिसम्म भने ताइवानी टिम नोभेम्बर २०१९ यता पहिलोपल्ट प्रतिस्पर्धामा फर्किंदै छ । मैदानमा फर्किंदा ताइवानको पहिलो भेट नै नेपाली टिमसँग हुँदै छ । छनोटमा अघिल्ला पाँचै खेल हारेको ताइवानी टिम फेरिएको रूपमा खाडी मुलुक पुगेको छ । नयाँ प्रशिक्षक र विदेशी लिगमा व्यस्त रहेका खेलाडीबिना पुगेको ताइवानी टिमविरुद्ध नेपालले जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार ३ अंक जोड्ने लक्ष्य बनाएको छ ।

छनोटमा पछिल्लो खेल (नोभेम्बर २०१९) यता नेपाली टिममा ठूलै परिवर्तन भएको छ । अघिल्ला पाँचै खेलमा नेपाली टिम स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । उनी स्विडेनमै रहेपछि बालगोपाल महर्जन आए । नेपालले ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण दुई खेल खेल्यो । दशरथ रंगशालामा थ्री नेसन्स कप जित्यो अनि टिम सम्हाल्न आइपुगे कुवेती अब्दुल्लाह अलमुताइरी । आउने सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपलक्षित गर्दै छनोटमा युवा खेलाडीलाई प्राथमिकता दिएका उनले महर्जन टिमका १० खेलाडीमात्रै लिए ।

विश्वकप छनोटको तयारीमा नेपालले एसियाकै एक राम्रो टिम इराकविद्ध प्रतिस्पर्धा गर्‍यो । बासरामा शनिबार सम्पन्न खेल इराकले ६–२ ले जित्यो । इराकी टिमले पाँच गोल नेपाली डिफेन्स र गोलकिपरको प्रस्ट गल्तीमा गरेको थियो । प्रशिक्षक अब्दुल्लाहको पहिलो परिक्षण थियो त्यो । यसबाट उनले केही राम्रो संकेत दिएका छन् । जति ठूला टिमविरुद्ध पनि आक्रामक खेल्ने । डराएर होइन, भिडेरै खेल्ने । बासराको खेल आधा घण्टा पुग्दा त अञ्जन विष्ट र मनीष डाँगीको गोलमा नेपालले २–१ को अग्रता नै लिएको थियो । एसियन च्याम्पियन भइसकेको र विश्वकप खेलिसकेको देशको टिमविरुद्ध जुनसुकै बेला भए पनि नेपालले लिएको अग्रता वास्तवमै अपत्यारिलो थियो ।

विशषेगरी मनीषको फिनिसिङ र त्यसमा सन्तोषले दिएको बलमार्फत् नेपाली टिमले राम्रै खेल्नसक्ने सन्देश दिएको थियो । अञ्जनले पाएको अर्को एक अवसरमा पनि गोल गरेको भए त फिफा वरीयतामा १०३ स्थानमाथिको टिमविरुद्ध खेलको कथा नै फेरिन सक्थ्यो । ठूला टिमविरुद्धको खेलको तयारीमा आफ्नो कमजोरी पत्ता लगाएर सुधार गर्ने अवसर पनि हो इराकविरुद्धको खेल । बासरामा नेपाली डिफेन्स साह्रै कमजोर देखिएको थियो । टिमका महत्त्वपूर्ण र अनुभवी खेलाडीहरू गोलकिपर किरण चेम्जोङ र रोहित चन्दको प्रदर्शन स्तरअनुरूप थिएन । उनीहरूसँगै पूरा टिमले नै बासरामा गरेको गल्ती कुवेत सिटीमा सुधार गर्ने अपेक्षा गरिएको छ ।

मौसम नै चुनौती

भर्चुअल रूपमा आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा बुधबार प्रशिक्षक अब्दुल्लाहले भने, ‘कुवेतको मौसममा खेल्न सजिलो छैन । हामी दुवै टिमलाई गाह्रो हुनेछ ।’ ताइवानी प्रशिक्षक का–नुम भोमले पनि कुवेतको चर्को गर्मी चुनौती बनेको बताए, ‘यहाँ (कुवेत) को मौसममा घुलमिल हुन हामीलाई गाह्रो भइरहेको छ र हाम्रो सबैभन्दा ठूलो चुनौती नै मौसम हो ।’

एक्युवेदरका अनुसार शनिबार नेपाल र ताइवानको प्रतिस्पर्धा सुरु हुँदा कुवेत सिटीको तापक्रम ४७ डिग्री सेल्सियस हुनेछ । यस बेला काठमाडौंको तापक्रम २५ डिग्री अनुमान गरिएको छ भने ताइपेईको २७ डिग्री । त्यसैले दुवै टिमलाई कुवेतको गर्मीले समस्या पार्न सक्छ । त्यस्तै मौसममा अभ्यस्त हुन र आफ्नो कमजोरी पत्ता लगाउनकै लागि नेपाली टिमले दक्षिण इराकमा खेलेको थियो । बासराको अनुभवले नेपाललाई छनोटमा फाइदा हुनसक्छ । किनभने कुवेत सिटी र बासराको मौसम उस्तै छ । नेपाली टिमले इराकसँग ४५ डिग्री सेल्सियसमाथिको तापक्रममै प्रतिस्पर्धा गरेको थियो ।

नेपालले यो विश्वकप छनोटको पहिलो खेल पनि जाबेर अल हमाद रंगशालामै खेलेको थियो । जहाँ कुवेतविरुद्ध ७–० को अनपेक्षित हार बेहोरेको थियो । त्यस बेला खेलाडीले चर्को गर्मीको कारण खेल्नै नसकेको बताएका थिए ।

‘जितका लागि खेल्ने’

इराकसँगको प्रतिस्पर्धाबाट थुप्रै सकारात्मक पक्ष भेट्टाएको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले भने, ‘एसियन कप छनोट (तेस्रो) चरण) मा हाम्रो सम्भावनाका लागि ताइवानलाई हराएर समूहमा चौथो स्थानमा सुरक्षित हुन चाहन्छौं ।’ उनले युवा खेलाडीलाई समय र धैर्य आवश्यक रहेको बताए । विपक्षीबारे उनी बोले, ‘उनीहरूसँग नयाँ खेलाडी छन् । नयाँ कोचले पहिलो खेलमा टिम सम्हाल्दै छन् ।’

उनका समकक्षी भोमले भने, ‘नेपाल सन्तुलित टिम हो । उसको डिफेन्स र आक्रमण दुवैमा राम्रो छ । हाम्रा मुख्य खेलाडी र विदेशी लिगमा रहेका खेलाडीहरू कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिका कारण आउन पाएनन् । नयाँ खेलाडीले यो अवसर सदुपयोग गर्दै आफूलाई साबित गर्ने आशा छ ।’

हेड टु हेड

नेपाल र ताइवानले हालसम्म दुई खेल खेलेका छन् । त्यो पनि एक मैत्रीपूर्ण र यही विश्वकप छनोटमा । दुवै खेल ताइवानमा भएको थियो । काओसिङ (६ जुन, २०१९) मा भएको मैत्रीपूर्ण खेल १–१ मा टुंगिएको थियो । पछाडि परेको स्थितिमा सुधार गर्दै नेपालले अभिषेक रिजालको गोलमा बराबरी गरेको थियो ।

अञ्जन विष्टको दुई गोलमा नेपालले विश्वकप छनोटमा ताइपेईमा २–० को जित (१० सेप्टेम्बर, २०१९) हात पारेको थियो । कुवेतमा ७–० को अनपेक्षित हार बेहोरेको पाँच दिनभित्रै नेपालले ताइपेईमा ३ अंक जोडको थियो ।

नसोचिएको हार खेपेको त्यही कुवेती रंगशालामा नेपालले वरीयतामा ३० स्थानमाथिको ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्दै छ । अघिल्ला पाँच खेलमा नेपालले ४ हार बेहोरेको थियो भने ताइवानले शतप्रतिशत हार । एसियाली महारथी अस्ट्रेलिया र जोर्डनको सामना गर्नुअघि आत्मविश्वास बढाउन पनि नेपाललाई ताइवानविरुद्ध जित चाहिएको छ ।

आजको खेल

नेपालविरुद्ध चाइनिज ताइपेई

२१:४५ बजे (कुवेत सिटी)

प्रकाशित : जेष्ठ २०, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?