कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ओलम्पियन’ हुने खुसी

‘सुरुमा पत्याउनै सकिनँ । सपना देखे जस्तो लाग्यो । जतिबेला साँच्चै हो जस्तो लाग्यो, खुसीको सीमा भएन ।’
हिमेश, कुशल तिमल्सिना

काठमाडौँ — केही क्षण यस्तै हुन्छ । पत्याउनै गाह्रो । तर त्यसले दिने खुसी भने अथाह । दुई दिनअगाडि सुटिङकी कल्पना परियार कोरोना भाइरसविरुद्धको दोस्रो खोपका लागि अस्पताल गएकी थिइन् । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक छात्रवृत्तिमा रहेका खेलाडीदेखि प्रशिक्षकलाई दोस्रो खोप व्यवस्था गरेको थियो ।

‘ओलम्पियन’ हुने खुसी

त्यहीं कल्पनाले कमिटीका अध्यक्ष र अरू ठूलाको मुखबाट सुने, आफूले पाएको ओलम्पिक वाइल्ड कार्डबारे ।

त्यसको अर्थ उनले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने अवसर । शनिबार बानेश्वरको होटल एभरेस्टमा भेट्दा त्यसै क्षणको बखान गर्दै २६ वर्षीया कल्पनाले भनिन्, ‘सुरुमा पत्याउनै सकिनँ । सपना देखे जस्तो लाग्यो । जतिबेला साँच्चै हो जस्तो लाग्यो, खुसीको सीमा भएन ।’

ओलम्पियन हुनुको खुसी यस्तै हुन्छ । उनले एकै क्षणमा लहान सिरहामा रहेको आफ्नो परिवारमा फोन गरिन् । भनिरहनुपर्दैन, परिवारको खुसी पनि उत्तिकै थियो । यस्तै क्षण त हो, बाआमा र बहिनीलाई कल्पनाले अहिलेसम्म तय गरेको खेलाडी जीवनको यात्रामा गर्व लाग्नु । विश्वका प्रत्येक खेलाडीको इच्छा हुने गर्छ, ओलम्पिकमा भाग लिने । भन्ने गरिन्छ, ओलम्पिकमा पदक जित्नुभन्दा भाग लिनु नै ठूलो । किनभने यो आफैंमा ठूलो उपलब्धि हो । आर्मीकी खेलाडी कल्पनाको स्वभाव नै रहेछ, सधैं आशावादी हुने । उनलाई लाग्दोरहेछ, मिहिनेत गर्नुपर्छ, भोलि पक्कै राम्रो हुन्छ । भाग्यले साथ दिने पनि यस्तै खेलाडीलाई त हो ।

कल्पनाकी अहिलेका प्रशिक्षक हुन् असिम यादव । सन् १९९६ को एटलान्टा ओलम्पिकका बेला उनी प्रतियोगिता खेल्ने नजिक पुगेका थिए, तर अन्त्यमा उनी त्यहाँसम्म पुग्न सकेनन् । अहिले आफ्नै चेलीको त्यो सपना पूरा गर्ने मोडमा पुग्दा यादव पनि दंग छन् । अनि भन्छन्, ‘कल्पना परिश्रमी छिन् र संयमित भएर खेल्ने गर्छिन् । उनलाई सधैं भोलि अझ राम्रो गर्नसक्ने विश्वास हुन्छ । त्यो अर्थमा उनी राम्रो खेलाडी हो । टोकियो ओलम्पिकमा उनको प्रदर्शन अझ सुधारिने पूरा विश्वास छ ।’

अहिलेसम्म सुटिङका पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका छन् । ती हुन्– पार्वती थापा, अनिता श्रेष्ठ, स्नेह राज्यलक्ष्मी राणा, फूलमाया क्यापछाकी र टीकाराम श्रेष्ठ । अब यसै सूचीमा कल्पनाको नाम पनि थपिने भएको छ । नेपाली सुटिङ र यसका खेलाडी प्रायः चर्चामा आइरहने गर्दैनन् । कल्पनालाई पनि लाग्दोरहेछ, अन्य खेलका खेलाडी मिडियामा मनग्गे छाउँदा आफूमात्र किन पछाडि भनेर । तर जतिबेला उनी टोकियो पुग्नेछिन्, उनलाई यसमा खासै गुनासो हुने छैन ।

सात वर्षे खेलयात्रा

१० मिटर एयर राइफलकी कल्पनाको खेलयात्रा आफैंमा धेरै लामो छैन । सात वर्षमात्र भयो । उनी २०७१ सालको राष्ट्रिय च्याम्पियनसिपमा दोस्रो भएकी थिइन् । त्यसयता उनले एकलतर्फ उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । उनको स्पर्धामा कुल ६ सय ५४ अंक हुन्छ । त्यसमा उनको ६ सय १४.५ अंकको प्रदर्शन सबैभन्दा उत्कृष्ट हो । उनले १३ औं दक्षिण एसियाली खेलकुदमा यो राष्ट्रिय कीर्तिमानसहितको प्रदर्शन गरेकी हुन् ।

प्रशिक्षक यादव भन्छन्, ‘टोकियोमा हाम्रो लक्ष्य भनेको कल्पनाको प्रदर्शनमा अझै सुधार गर्नु हो । हामीले धेरै ठूलो अपेक्षा राख्न पनि मिल्दैन । सीमित साधन स्रोतमा कल्पनाको यो प्रदर्शन पनि धेरै राम्रो हो ।’ अझ ओलम्पिककै लागि भनेर आर्मीले राइफल पनि उपलब्ध गराएको छ । सन् २०१९ को मे महिनाको मध्यदेखि कल्पना ओलम्पिक छात्रवृत्तिमा छन् र नियमित अभ्यास गर्दै आएकी थिइन् । तीन सातादेखि भने बन्द प्रशिक्षणमा छन्, अनि नियमित कोभिड–१९ प्रशिक्षण पनि भइरहेको छ ।

अब बाँकी समय अझै कडा मिहिनेत गर्नेछिन्, नयाँ राइफलसँगै । खासमा कल्पनाको खेलक्षेत्रमा प्रवेशको कथा नै केही फरक छ । उनी खेलाडी भएर आर्मीमा प्रवेश गरेकी होइनन्, बरू आर्मीमा राम्रो गरेर यहाँसम्म पुगेकी हुन् । आर्मीमा प्रवेश गरेयता कडा अभ्यासमा जुट्नुपर्छ । त्यसैक्रममा उनले फायरिङमा निकै राम्रो गरिन्, लगातार त्यस विधामा पहिलो भइन् । त्यसपछि त के चाहियो र, नेपाली सुटिङले एक राम्रो खेलाडी पायो । त्यसैले उनी भन्छिन्, ‘म खेलाडी हुनुमा आर्मीको योगदान कसरी बिर्सन सक्छु र ?’

एनओसी र संघको योगदान

पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) नेपाली सुटिङका लागि बिर्सनयालक रह्यो । नेपालले यो खेलमा एकै पदक जित्न सकेन । सागमा पदकविहीन भएको एक्लो खेल हो सुटिङ । यसबीच पनि कल्पनाका लागि वाइल्ड कार्ड ल्याउन नेपाल सुटिङ संघ र यसका अध्यक्ष पुष्पदास श्रेष्ठले कडा मिहिनेत गरे । यसमा नेपाल ओलम्पिक कमिटी र अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो पहुँचसम्म चारैतर्फ कुराकानी गरे । सागमा नेपालको खराब प्रदर्शन पछाडि धेरै कारण थिए ।

त्यसमध्ये एक त नेपाली खेलाडीले पहिलोपल्ट डिजिटल कम्प्युटराइज्ड प्रणालीमा खेलेको थियो । त्योभन्दा ठूलो ५ वर्ष पुराना राइफलबाट खेल्नुपरेको थियो । अब कम्तीमा यस्तो हुने छैन । एउटा तीतो सत्य के हो भने संघले १५ वर्षयता नयाँ राइफल किन्न सकेको छैन । संघसँग अहिले पनि ५ वर्ष पुराना राइफलमात्र छन् । फेरि यो खेल आफैंमा महँगो छ, जर्मनीमा उत्पादन हुने एउटै राइफलको ५ हजार युरोसम्म पर्छ । यसबीच कम्तीमा कल्पनालाई वाइल्डकार्ड प्राप्त गर्नु ठूलै उपलब्धि हो ।

पछिल्लो समय नेपाल ओलम्पिक कमिटी पनि आफैमा चनाखो भएको छ । कमिटीले ओलम्पिक छात्रवृत्तिअन्तर्गत १२ खेलाडी र तिनका प्रशिक्षकलाई १ करोड २० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । एनओसी उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य यसै कार्यक्रमका लागि लामै समयदेखि दौडधुप गरिरहेका छन् । त्यसैले पनि कल्पना भन्छिन्, ‘आर्मीले मलाई खेलाडी बनायो नै । अहिले ओलम्पिकमा सहभागी हुने अवसर पाएको छु, यसका लागि संघ र ओलम्पिक कमिटीलाई धन्यवाद दिनैपर्छ ।’

कल्पनासँग केही क्षण मात्र संगत गर्नुपर्छ । उनको एउटा ठूलो विशेषता ठ्याक्कै थाहा हुन्छ । उनी खुबै हँसिली छन् । कुराकानीमा पनि मन्द मन्द हाँसो देख्न पाइन्छ । यो सबै सम्भव भएको फेरि उनको सकारात्मक सोचले नै हो । प्रशिक्षक यादवले भने जस्तै, उनी लगातार १० अंक बटुल्न पनि माहिर छिन् । एकाग्र भएर खेल्छिन्, उनको नजर तिखो छ । त्यसैले त शनिबार भेटघाटको अन्त्यमा उनले भनिन्, ‘मलाई विश्वास छ, टोकियोमा मैले अझै राम्रो गर्न सक्छु ।’

प्रकाशित : जेष्ठ १६, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?