भिल्लारियलको गर्विलो सफलता

उनाइ एमरीले प्रशिक्षकका रूपमा चौथो युरोपा लिग उपाधि जितेका छन् । यसअघि उनले सेभियाबाट तीनपल्ट यो सफलता पाएका छन् ।
द गार्डियन

लन्डन — प्रशिक्षक उनाइ एमरी आफ्ना खेलाडीको प्रशंसा गर्दैमा थाक्दैनन् । भिल्लारियलले बुधबार म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपा कपको ट्रफी उचाल्यो । यो क्लबले जितेको पहिलो ठूलो उपाधि हो ।

भिल्लारियलको गर्विलो सफलता

क्लबको ९८ वर्षे इतिहासमा सशक्त युरोपेली प्रतिद्वन्द्वीलाई हराएर भिल्लारियल ठूलो उपाधि जित्न सफल भयो ।

पेनाल्टी सुटआउटमा भिल्लारियल ११–१० ले विजयी रह्यो । यसअघि खेल १–१ को बराबरीमा टुंगिएको थियो । भिल्लारियलका गोलरक्षक जेरोनिमो रुलीले निर्णायक साबित ११ औं प्रहारमा गोल गरेपछि त्यसपछि समकक्षी गोलरक्षक डेविड डी जियाको प्रहार जोगाए ।

स्पेनी पूर्व खेलाडी एमरीले प्रशिक्षकका रूपमा जितेको यो चौथो युरोपा लिग हो । यसअघि उनले सेभियाका लागि तीन अवसरमा यो प्रतियोगिता जितिसकेका छन् । उनले भने, ‘युरोपा लिगमा भिल्लारियलको प्रदर्शन यसपल्ट निकै उत्कृष्ट रह्यो । हामीले पहिलो खेलदेखि नै जित्ने खालको प्रदर्शन गरिरहेका थियौं । हामी कहिलेकाहीं आइतबारको खेललाई बिहान ६ बजे नै मैदानमा पुगिसकेका हुन्छौं । यस्ता उपाधि यस्तै मिहिनेतले सम्भव हुने हो, मलाई यो यात्रामा गर्व छ ।’

उनले अगाडि थपे, ‘सबैले यस्तो अवसरको मज्जा लिनु सक्नुपर्छ । युरोपा लिगको फाइनल पुग्नु पनि आफैंमा ठूलो उपलब्धि हो, तर फाइनलमा पराजित रह्यौं भने त्यसले पीडा दिन्छ । तर जित्नुको अर्थ फेरि धेरै ठूलो हुन्छ । यसले क्लबलाई अगाडि बढ्न धेरै मद्दत गर्छ । फुटबल खेल्नुको सबैभन्दा ठूलो अवसर भनेकै यस्तै फाइनल खेल्नु हो । हामीले यो उपाधि जितेर भिल्लारियलका धेरैभन्दा धेरै समर्थकलाई खुसी दिन सकेका छौं ।’

सन् २०२० मा उनी भिल्लारियलसँग आबद्ध भएका थिए । त्यसको ९ महिनाअगाडि उनी आर्सनलबाट बर्खास्तगीमा परेका थिए । किनकि क्लबको लगातार खराब प्रदर्शन थियो । यसपल्टको प्रतियोगितामा भिल्लारियलले नै उनको पूर्व क्लब आर्सनललाई पन्छाएको थियो । फाइनलमा भिल्लारियलले अर्को इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई हराउन सफल रह्यो ।

ट्रफी चुम्दै प्रशिक्षक उनाइ एमरी  । तस्बिर : एपी

यस तथ्यका बावजुत प्रशिक्षक एमरी यसलाई व्यक्तिगत बदलाको भावनाबाट लिँदैनन् । उनले भने, ‘म यसलाई कुनै पनि प्रकारले फुटबलमा लिएको बदला मान्न तयार छैन । म त प्रत्येक जितमात्र होइन, हारमा पनि खुसी र गर्व खोज्ने खालको हुँ । म जहाँ जहाँ जान्छु, इंग्ल्यान्डमा आर्सनल नै सही, त्यहाँको माहौल र फुटबल संस्कृतिसँग भिज्न चाहन्छु । सबैसँग केही न केही सिक्न चाहन्छु । फुटबलमा व्यावसायिक खेलाडी वा प्रशिक्षक भएर त्यस्ता असफलता पनि भोग्नुपर्छ, जसले सबैलाई नयाँ अवसर पनि दिन्छ ।’

एमरीले भिल्लारियलका लागि युरोपा कप जित्नुमा त्यत्तिकै गर्व रहेको बताए । जति सेभियाका लागि जित्नुमा रहेको थियो । उनले थपे, ‘आर्सनलमा छँदा पनि हामी युरोपा लिगको फाइनलमा पराजित रह्यौं । तर यो नियमित प्रक्रिया हो । यस्तै हारबाट हामीले सिक्ने हो । हारबाट नै जित्नका लागि प्रेरणा मिल्छ । जेहोस्, फाइनल जितमा मलाई धेरै गर्व छ ।’ यो जितपछि भिल्लारियल अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि सिधै छनोट भएको छ ।

‘उपाधिबिना सिजन असफल’

म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओले गनर सोल्सायरले भने क्लबका लागि यो सिजन असफलता साबित भएको स्वीकारेका छन् । उनले दाबी गरे, क्लब अर्को ठूलो अवसरका लागि तयार भने छ र त्यसमा राम्रो गर्न सक्षम हुनेछ ।

म्यानचेस्टर यसपल्टको इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा आउन सके पनि क्लबले सन् २०१७ यता कुनै पनि उपाधि जित्न सकेको छैन । यसै पृष्ठभूमिमा उनलाई सोधिएको थियो, के यो सिजन कस्तो रह्यो त ?

उनको स्पष्ट उत्तर थियो, ‘असफल । हामीले सफलता चुम्ने हो भने यो भन्दा राम्रो प्रदर्शन गर्नुपर्नेछ, यसमा शंका छैन । हामीले यो सिजन राम्रो फुटबल खेलेका छौं, भलै सुरुआत खराब रह्यो । विशेषतः लिगमा राम्रो गरेका छौं । हामीले दोस्रो स्थान हात पार्नु भनेको अपेक्षाभन्दा बढी थियो । तर सिजनको अन्त्यमा हामीले राम्रो गर्न सक्यौं भनेर दाबी गर्न उपाधि जित्नुपर्छ, यो काम भने हामीले गरेका छैनौं ।’

फेरि एकपल्ट म्यानचेस्टर निर्णायक मोडमा चुकेपछि ठूला खेलमा टिमको प्रदर्शनलाई लिएर प्रश्न उठेको छ । म्यानचेस्टरकै पूर्व खेलाडी पाउल स्कोल्स भने भिल्लारियलविरुद्धको हारमा खेलाडीको प्रदर्शन र तिनले देखाएको मानसिकतामा प्रश्न उठाएका छन् । तर सोल्सायर आफ्नो टिम र खेलाडीको समर्थनमा रहे । उनले भने, ‘हामीसँग बलियो र प्रतिस्पर्धात्मक टिम छ । टिममा खेलाडीको मानसिकता पनि बलियो छ । अहिले तत्काल खेलाडीको प्रदर्शनलाई लिएर प्रश्न गर्ने उपयुक्त समय होइन । तर मान्छु, उपाधि जित्न सकेन भने सबैखाले दाबी मजबुत देखिन्न ।’

प्रकाशित : जेष्ठ १४, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?