२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्वारेज हुनुको फरक

द मार्का

म्याड्रिड — एट्लेटिको म्याड्रिडले लिगका अन्तिम दुई खेल खेल्नु अगाडि प्रशिक्षक डिएगो सिमोनीले भनेका थिए, ‘हामीसँग स्वारेज छ नि ।’ यसअघि उरुग्वेली स्टार लुइस स्वारेज खराब लयबाट गुज्रिरहेका थिए, तर टिमलाई उनकै सबैभन्दा बढी आवश्यकता थियो ।

स्वारेज हुनुको फरक

तर जतिबेला उनले केही गोल गरे, एट्लेटिको ११ पल्ट स्पेनी ला लिगा जित्न सफल रह्यो । ओसासुनाविरुद्ध स्वारेजले खेलको अन्त्यतिर गोल गरेका थिए । यसले लिग उपाधिमाथि एट्लेटिकोको एक हात परेको थियो ।

रियल भालाडोलिडविरुद्ध पछाडि परेको स्थितिमा पनि उनी नहुने कुरै थिएन । स्वारेजले खेलको अन्त्यतिर नै गोल गरे र एट्लेटिको विजयी रह्यो । सन् २०१४ पछि एट्लेटिको लिग च्याम्पियन भयो । जतिबेला बार्सिलोनाले स्वारेजलाई बेइज्जतीपूर्ण ढंगले क्लबबाट बाहिर निकालेको थियो, एट्लेटिकोले भने दुई हात खुला गरेर उनलाई स्वागत गर्‍यो । स्वारेज आफैं ३४ वर्षका भइसकेका थिए । त्यसमाथि चोटको समस्या थियो । तर एट्लेटिकोले उनीमाथि पूरा विश्वास गरेको हो । आखिरमा स्वारेजले त्यसको मीठो उत्तर पनि दिए, २१ गोल गरेर । यी गोल नै त हुन्, जसले क्लबलाई लिग उपाधिसम्म पुर्‍याउन मद्दत गरेको थियो । एट्लेटिकोले अन्तिम खेलमा जित निकालेपछि स्वारेजले आफूलाई रोक्न सकेनन्, भावुक भइहाले । आँसु पुछ्दै उनले भने, ‘यसपल्ट वास्तवमै निकै गाह्रो थियो । म जुन परिस्थितिबाट गुज्रिएको थिएँ त्यो निकै खराब थियो । मैले आफूले आफैंलाई कोठामा बन्द गरेको थिएँ । तर एट्लेटिकोले ठीक समयमा मलाई बाटो खोलिदियो ।’

बार्सिलोनाबाट निकालिएपछिको क्षण सम्झँदै उनले भने, ‘मैले मात्र होइन, पूरा परिवारले निकै पीडा भोगेको अवस्था थियो । मेरी श्रीमतीदेखि बच्चासम्मले । तर यो वर्ष हाम्रा लागि विस्तारै सुखद हुन थाल्यो र अहिले त निकै सफल साबित भएको छ । निकै कठिन परिस्थितिबीच पनि एट्लेटिकोले लगातार सबैभन्दा राम्रो प्रदर्शन गर्‍यो, त्यसैले हामी लिग च्याम्पियन रह्यौं ।’ बार्सिलोनाबाट फालिएका स्वारेजले वास्तवमै आफ्नो उपयोगिता साबित गरेका छन् ।

उनले थपे, ‘हामीले लिगमा राम्रो सुरुआत लिए पनि त्यसपछि गाह्रो हुन थालेको थियो । त्यसैले हाम्रो यात्रा निकै संघर्षपूर्ण रह्यो ।’ उनले अन्त्यमा बार्सिलोनाका लियोनल मेसीबारे पनि बोले । भने, ‘उनी पक्कै पनि मेरा लागि खुसी भएका होलान् । किनभने उनी मेरा साथी हुन् ।’ गत सिजन बार्सिलोना प्रशिक्षकमा रोनाल्डो कोम्यान आएपछि सबैभन्दा पहिले क्लबमा स्थान गुमाउने स्वारेज नै थिए । अझ उनलाई बेइज्जतीपूर्ण रूपमा क्लबबाट निकालिएको नै थियो । बार्सिलोनाका लागि स्वारेजले १ सय ९८ गोल गरेका छन् ।

बार्साका तेस्रो सर्वाधिक गोलकर्ता रहेका उनले चार लिग उपाधि जितेका थिए ।कोम्यानले यसपल्टको सिजनअगाडि आफ्नो टिम संरचनामा स्वारेजको कुनै स्थान नभएको बताएका थिए । भलै उनले राम्रै खेलिरहेका थिए । उनको खेलले बार्सिलोनालाई फाइदा नै भइरहेको थियो । कोम्यान स्वारेजबिनाको टिम बनाउन चाहन्थे । स्वारेजलाई जसरी क्लबबाट बाहिरको बाटो देखाइएको थियो, त्यसमा मेसीको पनि असन्तुष्टि थियो । उनले खुलेर विरोध पनि गरे । तर अहिले यी सबै घटनाको स्वारेजले मीठो उत्तर फर्काएका छन्, बार्सिलोनालाई ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?