कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बार्सिलोनालाई महिला च्याम्पियन्स लिग

पुरूष टोलीलाई प्रेरित गर्दै महिला च्याम्पियन्स लिग जित्ने स्पेनको पहिलो टोली बन्नेक्रममा बार्सिलोना फ्रान्सेली क्लब लियोनकै वर्चस्व तोड्न सफल भयो
एजेन्सी

गोथेनबर्ग — बार्सिलोनाले आइतबार युरोपेली महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेपछि विजेता पदक लिँदै टोलीका प्रशिक्षक लुइस कोर्टस चेल्सी समकक्षी इमा हायेसप्रति नजर लगाएर सहानुभूति जनाइरहेका थिए । फाइनलमा चेल्सीलाई ४–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको थियो ।

बार्सिलोनालाई महिला च्याम्पियन्स लिग

बार्सिलोना च्याम्पियन्स लिग महिला र पुरुष दुवै विधामा उपाधि जित्ने पहिलो टोली बनेको हो । दुई वर्षअगाडि कोर्टस र उनको बार्सिलोनाले हंगेरीको बुडापेस्टमा अहिले चेल्सीले जस्तै पीडा महसुस गरेको थियो, जतिबेला टोली २०१९ को संस्करण फाइनलमा लियोनसँग ४–१ ले नै पराजित भएको थियो । बार्सिलोनाको महिला च्याम्पियन्स लिग फाइनलमा त्यो पहिलो अनुभव थियो ।

चेल्सी पनि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल पुग्दा टोलीले दुई वर्षअघि बार्सिलोनाको जस्तै हालत भोग्नुपर्‍यो । बार्सिलोनाले स्विडेनको गोथेनबर्गमा सम्पन्न फाइनलमा सबै चार गोल पहिलो ३६ मिनेटभित्र गरेको थियो । दुई वर्षअघि लियोनसामु निरीह बन्दा बार्सिलोनाले सुरुको २० मिनेटमा ३ गोल खर्चिइसकेको थियो ।

च्याम्पियन्स लिग जित्ने स्पेनको पहिलो टोली बन्नेक्रममा बार्सिलोना फ्रेन्च टोली लियोनकै वर्चस्व तोड्न सफल भयो । लियोनले २०१६ यता लगातार पाँचपल्ट यो उपाधि जित्दै आएको छ । टोली कुल कीर्तिमानी सातपल्ट युरोपको च्याम्पियन बनिसकेको छ । त्यस्तै फ्य्रांकफर्टले चारपल्ट च्याम्पियन्स लिग जितेको छ ।

चेल्सीविरुद्ध बार्सिलोनालाई अग्रता लिन ३२ सेकेन्डमात्र लागेको थियो । चेल्सीकी मिडफिल्डर मेलानी लेउपोल्जले क्लियर गरेको बलले गोलरक्षक एन–कार्टिन बर्गरलाई उछिनेको थियो । एलेक्सिया पुटेलासले १४ औं मिनेटमा पेनाल्टीबाट बार्सिलोनाको अग्रता दोब्बर बनाइन् । सात मिनेटपछि एइटाना बोनमाटीले तेस्रो गोल गरिन् । नर्वेजियन क्यारोलिन ग्राहम हान्सेनले ३६ औं मिनेटमा चौथो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै जित निश्चितजस्तै गरेको थियो ।

‘हाम्रो योजना भनेको युरोपमा वर्चस्व जमाउनु हो,’ बार्सिलोनाका ३४ वर्षे प्रशिक्षक कोर्टसले भने, ‘उपाधि जित्नु र दुई वर्षअघि फाइनलमा पराजित हुनु यही यात्राको प्रतीक हो । त्यतिबेला फाइनल खेल्दा हामी अहिलेको चेल्सी जस्तै भएका थियौं । मैले यसबारे आफ्नो टोलीमा धेरैपल्ट भन्दै आएको छु, किनभने त्यो सत्य थियो । त्यसयता हामीले धेरै मिहिनेत गर्दै लामो यात्रा तय गरिसकेका छौं ।’ बार्सिलोनाले यो यात्राक्रममा म्यानचेस्टर सिटीलाई क्वाटरफाइनल र पेरिस सेन्ट जर्मेनलाई सेमिफाइनलमा पराजित गरेको थियो । त्यसअघि लियोनको निरन्तर यात्रा रोकिसकेको थियो । सन् २००७ मा आर्सनलले उपाधि जितेयता चेल्सीले पहिलो पटक फाइनलमा इंग्लिस टोलीको प्रतिनिधित्व गरेको थियो ।

‘बार्सिलोनालाई अनुभवले काम गर्‍यो,’ चेल्सीकी व्यवस्थापक हायेसले भनिन्, ‘उनीहरूले दुई वर्षअघिको पीडा महसुस गरेर खेलेका थिए । स्कोरलाइन अर्कै भए पनि मलाई लाग्छ युरोपका उत्कृष्ट दुई टोली फाइनल खेलिरहेका थिए । यो खेल निकै कठिन रह्यो किनभने यो सुरु हुनुअघि नै समाप्त भइसकेको थियो ।’ चेल्सीले २०१५ देखि मात्र च्याम्पियन्स लिग खेल्न लागेको हो । साम केर, पेर्निल हार्डर र लेउपोल्जलाई चेल्सीले पछिल्लो १८ महिनाभित्रमा अनुबन्धन गरेको थियो । उनीहरू नै चेल्सीको यो यात्राका प्रमुख खेलाडी थिए । ‘हामी युरोपको दोस्रो उत्कृष्ट टोली बन्यौं, मलाई लाग्छ हाम्रो यात्रा सही दिशामै छ । बार्सिलोनाको उपाधिले हामीलाई अझ राम्रो खेल्न प्रेरित गरेको छ ।’

महिला च्याम्पियन्स लिगमा पाएको सफलताले बार्सिलोनालाई ठूलो राहत प्रदान गरेको छ । बार्सिलोनाको पुरुष टोली ऋणमा डुबिरहेको छ । विवादास्पद युरोपियन सुपर लिगमा खेल्ने निर्णय गरेकाले टोली कारबाही हुनेक्रममा छ । यद्यपि सुपर लिगबाट भने बार्सिलोना अहिलेलाई पछि हटिसकेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?