२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

उपाधि होडमा एट्लेटिको र रियल

एएफपी

म्याड्रिड — सात वर्षअघि मे १७ को दिन एट्लेटिको म्याड्रिडले स्पेनिस लिगको उपाधि उचालेको थियो । शनिबार हुने सिजनको अन्तिम खेलमा जित हात पारेमा एट्लेटिकोले ७ वर्षअघिकै सफलता दोहोर्‍याउने छ । त्यो क्रममा डिएगो सिमोनीको एट्लेटिकोले आइतबार सबैभन्दा नाटकीय क्षणको सामना गर्नुपरेको थियो ।

उपाधि होडमा एट्लेटिको र रियल

स्पेनिस लिगको उपाधि जित्न आइतबारअघि एट्लेटिकोले बाँकी रहेको दुवै खेल जित्नुपर्ने थियो । तर टोली ओसासुनाविरुद्ध घरेलु मैदानमै अन्तिम ८ मिनेटसम्म एक गोलले पछाडि रहेको थियो । यस्तोमा एट्लेटिकोको चिरप्रतिद्वन्द्वी छिमेकी रियल म्याड्रिड उपाधि दौडमा शीर्षस्थानमा पुगेको थियो ।

ओसासुनाका एन्टे बुडिमिरले ७५ औं मिनेटमा दिलाएको अप्रत्यासित अग्रताले एट्लेटिकोमा सन्नाटा छाएको थियो भने म्याड्रिड सहरको अर्को टोली रियलमा खुसी । त्यो अग्रता लामो समय टिकेन । रेनन लोडीले ८२ औं मिनेटमा बराबरी गोल गरे । खेल सकिन दुई मिनेट अगाडि बार्सिलोनाबाट आएका लुइस स्वारेजको नाटकीय गोलमा एट्लेटिकोले २–१ को जित हात पार्दै उपाधि यात्रा कायमै राख्यो ।

एट्लेटिकोले शनिबार रियल भालाडोलिडमाथि जित हात पारे स्पेनिस लिगको उपाधि जित्ने छ । उता रेलिगेसनबाट बच्न भालाडोलिडलाई यो खेल जित्नैपर्ने स्थिति छ । एट्लेटिको बराबरीमा रोकिए वा पराजित भएमा रियल उपाधिको दौडमा हुनेछ ।रिएलले अन्तिम खेलमा भिलारियलको सामना गर्नेछ ।

नाचोले दोस्रो हाफमा गरेको गोलमा साबिक विजेता रियलले एथलेटिक बिलबाओलाई १–० ले पराजित गरी उपाधि दौड कायमै राखेको थियो । ३७ खेल समाप्तिमा एट्लेटिकोको ८३ र रियलको ८१ अंक छ । आइतबारको खेलअघि बार्सिलोना पनि उपाधि दौडको झिनो आशामा थियो । सात वर्षमा पाँचौं पटक लिग जित्ने बार्सिलोनाको आस सेल्टा भिगोसँग २–१ ले पराजित भएपछि सकिएको थियो । लियोनल मेसीको गोलमा बार्सिलोनाले नोउ क्याम्पमा २८ औं मिनेटमै अग्रता लिएको थियो ।

सान्टी मिना लोरेन्जोले त्यसको १० मिनेटपछि नै सेल्टा भिगोलाई बराबरीमा ल्याए । म्याथ्यु लेङलेटले ८३ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा झरेको थियो । लोरेन्जोले ८९ औं मिनेटमा विजयी गोल गरे । ७६ अंकसहित तेस्रो स्थानमा रहेको बार्सिलोनाले लिगको अन्तिम खेल रेलिगेसनबाट जोगिन संघर्षरत एइबरसँग उसको मैदानमा खेल्नेछ ।

त्यसैले मेसी र बार्सिलोनाका प्रशिक्षक रोनाल्डो कोम्यानको नोउ क्याम्पमा अन्तिम खेल हुनसक्ने अड्कल काटिएको छ । यस सिजनको समाप्तपछि मेसीको बार्सिलोनासँगको सम्झोता सकिँदै छ । उनले अहिलेसम्म सम्झौता नवीकरण गर्न मानेका छैनन् । पहिलो सिजनमा कुनै उपाधि दिलाउन नसकेपछि कोम्यान बर्खास्तगीमा पर्ने र उनको स्थानमा बार्सिलोनाले पूर्व मिडफिल्डर हाभीलाई ल्याउन सक्ने जनाइएको छ ।

लिभरपुल छनोट नजिक

गोलरक्षक एलिसन बेकरले इन्ज्युरी टाइममा गोल गरेपछि लिभरपुलले आइतबार इंग्लिस प्रिमियर लिगमा रेलिगेसनमा परिसकेको वेस्ट ब्रुमलाई २–१ ले पराजित गरी अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने आशा बलियो बनाएको छ ।

चार मिनेट इन्ज्युरी टाइम थपिएको खेलको पाँचौं मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको कर्नरमा बेकरले हेडमा विजयी गोल गरेका थिए । उनी प्रिमियर लिगमा गोल गर्ने छैटौं गोलरक्षक हुन् । लिभरपुलको १ सय २९ वर्षको इतिहासमै पहिलोपल्ट गोलरक्षकले गोल गरेका छन् ।

यसअघि हल रोब्सन कानुको गोलमा वेस्ट ब्रुमले १५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसको १८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए । ३६ खेल समाप्तिमा लिभरपुल ६३ अंकसहित पाँचौं स्थानमा छ । लेस्टर ६६ र चेल्सी ६४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यी दुई टोली नै आगामी खेलमा प्रतिस्पर्धा गर्ने हुनाले लिभरपुल बाँकी दुई खेलमा विजयी भएमा च्याम्पियन्स लिगमा पुग्नेछ । प्रिमियर लिगका शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ ।

च्याम्पियन्स लिग छनोटको झिनो आशामा रहेको टोटेनहमले उल्भसमाथि २–० को जित हात पारेको थियो । ह्यारी केनले टोलीबाट पहिलो गोल गरेका थिए । केन र सलाहको समान २२ गोल भएको छ । टोटेनहमको ५९ अंक छ । त्यति नै अंक वेस्ट हयामको पनि छ र टोली गोलभिन्नतामा पछाडि छ । रेलिगेसनमा परिसकेको सेफिल्ड युनाइटेडसँग १–० ले पराजित भएपछि एभरटन च्याम्पियन्स लिगको दौडबाट बाहिरिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?