उत्कृष्ट, उपाधि र छनोट- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्कृष्ट, उपाधि र छनोट

नेपाल सुपर लिग च्याम्पियन काठमाडौं रेजर्सका कुनै पनि खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेनन् । २१ दिनसम्म खेलाडीहरुको प्रदर्शन कस्तो रह्यो त ?
राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले गत चैतमा घरेलु मैदानमा ३७ वर्षयताकै पहिलो उपाधिको रूपमा थ्री नेसन्स कप जितेको थियो । त्यो टिमका मुख्य प्रशिक्षक थिए बालगोपाल महर्जन ।

काठमाडौं रेजर्सविरुद्ध धनगढी एफसी । तस्बिर : कान्तिपुर

यी सर्वाधिक सफल नेपाली प्रशिक्षकले सम्हालेको काठमाडौं रेजर्स नै नेपाल सुपर लिग (एनएसएल) मा पनि च्याम्पियन भयो । देशकै पहिलो फ्रेन्चाइज फुटबलको उपाधि जितेको भोलिपल्टै काठमाडौंका कुनै पनि खेलाडी विश्वकप छनोट र मैत्रीपूर्ण खेलको तयारीमा बोलाइएका ३२ जनाको सूचीमा अटाउन असफल रहे ।

दुई हारको बदला लिँदै फाइनलमा धनगढी एफसीमाथि १–० को जित रचेपछि शनिबारमात्रै काठमाडौंका खेलाडीहरूले दशरथ रंगशालामा भव्य खुसियाली मनाएका थिए । उसका २० खेलाडीमध्ये तीन विदेशी थिए । यी अफ्रिकीहरूले एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । घाइते रहेका मिडफिल्डर त्रिदेव गुरुङको स्थानमा ल्याइएका छिरिङ गुरुङसहित थ्री नेसन्स कप विजेता टिममा रहेका मिडफिल्डर तेज तामाङ, सन्जोक राई र गोलकिपर विकेश कुथु (मार्की एवं कप्तान) को प्रदर्शन पनि काठमाडौंको लागि महत्त्वपूर्ण थियो । फरवार्डबाट लेफ्टब्याकमा झरेका विश्वास श्रेष्ठले त प्रतियोगिताकै उदीयमान खेलाडीको अवार्ड हात पारेका थिए ।

राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलको तयारीमा आइतबार ३२ खेलाडीको सूची सार्वजनिक गरे, जहाँ उनले कोरोना भाइरसको महामारीबीच दशरथ रंगशालामा २१ दिन चलेको एनएसएलमा गरिएको प्रदर्शनलाई आधार बनाए । एनएसएल च्याम्पियन ५ खेलाडी (जो थ्री नेसन्स कप विजेता टिममा थिए) उनको उत्कृष्ट ३२ खेलाडीमा पनि परेनन् । महर्जनले सम्हालेको राष्ट्रिय टिममा रहेका डिफेन्डर अजित भण्डारी (पोखरा थन्डर्स) र सुजल श्रेष्ठ (चोटको कारण एनएसएल गुमाएका) लाई पनि बोलाइएको छैन । अब्दुल्लाहले यही सूचीबाट छनोट गर्ने टिमले विश्वकप छनोटमा चाइनिज ताइपेई (३ जुन), जोर्डन (८ जुन) र अस्ट्रेलिया (११ जुन) तथा मैत्रीपूर्ण खेलमा इराक (२९ मे) विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बुटवल लुम्बिनीविरुद्ध विराटनगर सिटी । तस्बिर : कान्तिपुर

यी प्रो–लाइसेन्स प्रशिक्षकले नेपाली टिमलाई आक्रामक रूप दिने बताएका छन्, आक्रामक फुटबल खेल्ने योजना बनाएका छन् । हरेक प्रशिक्षक आ–आफ्नै दर्शन र रणनीतिअनुसार खेलाडीलाई खेलाउन चाहन्छन् र आफ्नो योजनामा आवश्यक खेलाडी लिने गर्छन् । त्यसैले राष्ट्रिय टिमबाट बाहिरिएका एनएसएल च्याम्पियन ५ खेलाडीलाई प्रशिक्षक अब्दुल्लाहले दुई कारण छनोट नगरेका हुनसक्छन् । पहिलो, उनको दर्शन र योजनामा आवश्यक नरहेका र दोस्रो, एनएसएल जिते पनि ती खेलाडीहरूको पोजिसनमा अरू नै उत्कृष्ट रहेका । यो प्रारम्भिक छनोटले राष्ट्रिय टिममा स्थान कुनै पनि खेलाडीलाई सहज नभएको देखाउँछ ।

विराटनगर सिटीको मिडफिल्डमा छाएका सन्तोष तामाङले एनएसएलमा ३ गोल र २ एसिस्ट गरेका थिए । उनी दुई वर्षअघिको ‘नाइटक्लब काण्ड’ यता पहिलोपल्ट बन्द प्रशिक्षणमा फर्केका हुन् । थ्री नेसन्स कपमा पहिलो खेलअघि सोल्टी होटलबाट झोला बोकेर घर जानुपरेका फरवार्ड नवयुग श्रेष्ठ पनि फर्किए ।

एनएसएलमा पोखराले गरेका तीनमध्ये दुई गोल उनले गरेका थिए । पोखराकै डिफेन्डर गौतम श्रेष्ठ, मिडफिल्डर आयुश घलान र कमल थापा, विराटनगरका मिडफिल्डर सुरजज्यू ठकुरी र मनीष डाँगीले पहिलोपल्ट बन्द प्रशिक्षणमा मौका पाएका छन् । पोखरा र विराटनगर एनएसएलको लिगबाटै बाहिरिए पनि उनीहरूले राम्रै प्रभाव देखाएका थिए । इन्डियन सुपर लिग (आईएसएल) बाट प्रभावित भएर चौधरी ग्रुपको नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) आयोजना गरेको एनएसएलमा सात टिमले २५ खेलमा प्रतिस्पर्धा गरे, जहाँ प्रतिखेल २.३१ को औसतमा ५८ गोल भयो । काठमाडौंका क्यामरुनी विंगर मेसुके ओलोमोउले सर्वाधिक ८ गोल गरे ।

पोखरा थन्डर्सविरुद्ध ललितपुर एफसी । तस्बिर : कान्तिपुर

संयोगले एनएसएलमा पहिलो र अन्तिम गोल गरेका उनी एकमात्र ह्याट्रिककर्ता हुन् । विराटनगरका स्पेनी फरवार्ड पेड्रो मान्जी र धनगढीका ओलावाले आफिजले ४–४ गोल गरे । विराटनगरकै मिडफिल्डर सन्तोष (३ गोल) र ललितपुर सिटीका कप्तान अञ्जन विष्ट (३ गोल) सबैभन्दा बढी गोल गर्ने नेपाली खेलाडी हुन् । अग्रपंक्तिमा नेपाली फरवार्डलाई अझै राम्रो मान्ने अवस्था छैन । तर, धेरै खेलमा निर्णायक प्रदर्शन र गोल नेपालीकै रह्यो । महामारीको कारण दर्शकबिना आयोजित एनएसएल रोमाञ्चक प्रतिस्पर्धाको आधारमा वास्तवमै घरेलु फुटबलमा हालसम्मकै सबैभन्दा अब्बल रह्यो । पोखराले काठमाडौं र ललितपुर सिटीविरुद्ध गोलरहित खेल्यो । प्रतियोगितामा गोलरहित टुंगिएका खेल यी दुईमात्रै हुन् ।

काठमाडौंले २–० ले पछाडि परेको स्थिति उल्टाएर विराटनगरलाई ५–४ ले पराजित गरेको खेल सनसनीपूर्ण रह्यो । यही काठमाडौंले धनगढीसँग लिगमा ३–० र प्लेअफमा २–१ ले हारेको बदला फाइनलमा लियो । चार खेलसम्म जितविहीन ललितपुरले मुख्य प्रशिक्षक प्रदीप हुमागार्इंलाई बर्खास्त गरेपछि लगातार तीन खेल जित्यो । एफसी चितवन सबैभन्दा कमजोर रह्यो । जितविहीन रहेको चितवनलाई चोट र कमसल विदेशी खेलाडीेले समस्यामा पारेको थियो । आठ दिनभित्र चार खेल खेल्नुपर्दा धेरैलाई गाह्रो भयो ।

एनएसएल ड्राफ्टमा रहेका १ सय ४९ जनामध्ये ९८ खेलाडी अक्सनमा बिक्री भएका थिए । अक्सनमा लिएका १४, विदेशी ३, स्थानीय २ र मार्की १ गरी हरेक टिममा २० खेलाडी थिए । चोटका कारण एनएसएल गुमाएका खेलाडीको स्थान अक्सनमा बिक्री नभएका थुप्रैले मौका पाए । खेलाडीहरूले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भन्दा बढी नै एनएसएलमा मिहिनेत गरेको पाइयो । क्याटगोरी ‘ए’ र ‘बी’ का मात्रै होइनन्, ‘सी’ मा रहेका, अक्सनमा बिक्री नभए पनि मौका पाएका र स्थानीय खेलाडीको कोटामा आएकाहरू पनि धेरै खेलमा चम्किए । स्थापित खेलाडीहरूलाई साख जोगाउन धौधौ पर्‍यो ।

एफसी चितवन । तस्बिर : कान्तिपुर

एनएसएलका अधिकांश खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे । खेलाडीहरूको मिहिनेत र उत्कृष्ट प्रदर्शनले नै धेरै खेललाई हेर्नलायक बनाइदिएको हो । सबैभन्दा परिस्कृत खेलाडीको रूपमा धनगढीका डिफेन्डर दिनेश राजवंशी करिअरकै राम्रो लयमा देखिए । उत्कृष्ट डिफेन्डरको अवार्ड जितेका उनले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गरे । मिडफिल्डमा पूजन उपरकोटी (धनगढी), सन्तोष र एरिक विष्ट (ललितपुर) पनि सबैभन्दा राम्रो लयमा देखिए । उनीहरूजस्तै माथिल्लो स्तरको खेल सबैले देखाउन सकेनन् । तर प्रयास गरे, मिहिनेत गरे । त्यसैले एनएसएलका धेरै खेल रोमाञ्चक बन्न सक्यो । घरेलु फुटबलमा सफल भइसकेका प्रशिक्षकको उपस्थितिले पनि फरक पार्यो । आई लिग (भारत) का अनुभवी यान लले त तरंग नै ल्याइदिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार देशकै सर्वोच्च प्रतियोगिता ‘ए’ डिभिजन लिग नै हो । तर, खेल प्रदर्शनको हिसाबले ‘ए’ डिभिजनभन्दा अब्बल रह्यो एनएसएल । विदेशी खेलाडीहरू पनि पहिलाभन्दा स्तरीय यसैपालिका रहे । हरेक खेलाडीले पूरा प्रतियोगिता अधिक मिहिनेत गरेको पनि यसपालि देखियो । आखिर यस्तो नहोस् पनि किन ? ‘ए’ डिभिजन लिगमा १४ क्लब छन्, जसमा करिब साढे ३ सय खेलाडी स्वदेशी हुन्छन् । यसैबाट छानिएका करिब १ सय फुटबलरले नयाँ सात क्लबबाट एनएसएल खेले । उनीहरूसँगै माथिल्लो स्तरका विदेशीको उपस्थितिले नै एनएसएलका प्रतिस्पर्धाहरूलाई स्तरीय र रोमाञ्चक बनाएको हो ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

विश्व बैंकले औंल्यायो रेमिट्यान्स नघट्नुका कारण

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ का कारण रेमिट्यान्स घट्ने पूर्वानुमानविपरीत संसारभर नै रेमिट्यान्सको प्रवाह नघटेको विश्व बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ प्रतिवेदनका अनुसार न्यून र मध्यम आय भएका मुलुकमा सन् २०२० मा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशत मात्रै कम हो ।

न्यून तथा मध्यम आए भएका मुलुकमा सन् २०२० मा कुल ५ सय ४० अर्ब डलर रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा जनाइएको छ । यो आँकडा सन् २०१९ मा ५ सय ४८ अर्ब डलर थियो । सन् २०२० मा कमी आएको रेमिट्यान्सको प्रवाह २००९ को विश्वव्यापी आर्थिक संकटको बेलाको भन्दा कमै हो । उक्त बेलामा रेमिट्यान्स प्रवाहमा ४.८ प्रतिशतले कमी आएको थियो । न्यून र मध्यम आय भएको मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भने घट्दो छ । लगानीको तुलनामा रेमिट्यान्सको प्रवाहमा आएको कमी थोरै हो ।

चीनबाहेक न्यून र मध्यम आय भएका मुलुकमा सन् २०२० मा प्रत्यक्ष वैदेशिक लगानीमा ३० प्रतिशतले कमी आएको थियो । न्यून तथा कम आय भएका मुलुकमा भित्रिएको रेमिट्यान्सको प्रवाह यी देशमा भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी २ सय ५९ अर्ब अमेरिकी डलरभन्दा बढी छ । यी देशले सन् २०२० मा पाएको कुल विकास सहायता १ सय ७९ अर्बभन्दा बढी छ ।

कोभिड–१९ को संकटका बेलामा पनि यी देशमा रेमिट्यान्सको प्रवाहमा कमी नआउनुलाई यस्ता देशका कामदार रहेका देशमा भएको आर्थिक क्रियाकलापलाई लिइएको छ । न्यून तथा कम आय भएका देशका कामदार बढी भएको मुलुकको आर्थिक अवस्था सोचेको भन्दा राम्रो अवस्थामै रहेकाले रेमिट्यान्स प्रवाहमा कमी नआएको प्रतिवेदनमा भनिएको छ । रेमिट्यान्स नगदको सट्टा डिजिटल र अनौपचारिकबाट औपचारिक माध्यममा सर्दै गएकाले पनि कमी नदेखिएको प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

यस्तो अवस्था आउनुमा तेलको मूल्यमा आएको उतारचढाव र विदेशी विनिमय दरलाई पनि कारक मानिएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकमा भित्रिने रेमिट्यान्सको प्रवाह ५.२ प्रतिशतले वृद्धि भएको विश्व प्रतिवेदनमा जनाइएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकमा १ सय ४७ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको थियो । विशेषगरी बंगलादेश र पाकिस्तानमा भित्रिने रेमिट्यान्समा वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी

रेमिट्यान्स भित्र्याउने राष्ट्र भारतमा सन् २०२० मा रेमिट्यान्सको प्रवाह जम्मा ०.२ प्रतिशतले मात्रै घटेको थियो । संयुक्त अरब इमिरेट्सबाट भारत भित्रिने रेमिट्यान्समा १७ प्रतिशत कमी आए पनि अन्य देशबाट भित्रिने रेमिट्यान्स वृद्धि हुँदा समग्र अवस्थामा कमी नआएको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तानमा सन् २०२० मा रेमिट्यान्सको प्रवाह १७ प्रतिशत बढेको छ ।

बंगलादेशमा रेमिट्यान्स प्रवाह १८.४ प्रतिशत र श्रीलंकामा भने ५.८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ । यसविपरीत नेपाल भित्रिने रेमिट्यान्स भने सन् २०२० मा २ प्रतिशतले कमी आएको थियो । सन् २०२० को त्रैमासिक नेपाल भित्रिने रेमिट्यान्समा १७ प्रतिशतमा कमी आएको भए पनि समग्र वर्ष भित्रिएको रेमिट्यान्स भने २ सन् २०१९चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने को तुलनामा २ प्रतिशतले मात्रै कम छ ।

सन् २०२१ मा दक्षिण एसियामा भित्रिने

रेमिट्यान्समा ३.५ प्रतिशतले कमी आउने विश्व बैंकको आकलन छ । उच्च आय भएका मुलुकको आर्थिक वृद्धि मध्यमस्तरमा हुने र त्यस्ता देश जाने कामदारमा पनि कमी आउने भएकाले रेमिट्यान्समा कमी आउने आकलन गरिएको हो । सन् २०२० को पहिलो ७ महिनामा नेपालमा श्रम स्वीकृति लिने कामदारको संख्या ६५ प्रतिशतले घटेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×