१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल सुपर लिग : अञ्जन फेरि हिरो

कप्तान अञ्जन विष्टको गोलमा ललितपुर सिटीले एनएसएलको प्लेअफमा बुटवल लुम्बिनीलाई १–० ले हरायो
राजु घिसिङ

काठमाडौँ — ललितपुर सिटी एफसीका ‘मार्की’ खेलाडी एवं कप्तान अञ्जन विष्टले नेपाल सुपर लिग (एनएसएल) को सुरुका खेलहरूमा लय समात्न सकेका थिएनन् । भाग्यले पनि साथ दिएन । चितवनविरुद्ध पेनाल्टीमा चुकेका उनले दुईपल्ट बललाई जाली चुमाए तर रेफ्रीले अफसाइड दिए ।

नेपाल सुपर लिग : अञ्जन फेरि हिरो

चौथो खेलसम्म जित निकाल्न असफल भएपछि ललितपुर संकटमा पर्‍यो । मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गर्दै सहायक प्रशिक्षक राजु तामाङलाई टिम सम्हाल्न दिइयो । प्रदीपको दुर्भाग्य वा राजुको भाग्य, त्यसपछि ललितपुरले लय समात्यो । पाँचौं खेलमा आएर पहिलो जित चाख्यो बुटवल लुम्बिनीविरुद्ध १–० को । लिगको अन्तिम खेलमा प्रतियोगिताकै बलियो मानिएको विराटनगर सिटीलाई ४–० ले पन्छाउँदै नसोचिएको रूपमा ललितपुरले प्लेअफमा स्थान बनायो ।

ललितपुरले क्वाटरफाइनलसरहको दोस्रो प्लेअफमा बुधबार बुटवल लुम्बिनीमाथि १–० को जित रच्दै फाइनल प्रवेशका लागि काठमाडौं रेजर्सविरुद्ध प्रतिस्पर्धा गर्ने पक्का गर्‍यो । अघिल्ला चार खेलमा देखिएको ललितपुरको कमजोरी सुधारिँदै गयो । टिमको भाग्य पनि फेरियो । प्रशिक्षक राजुकै शब्दमा ‘लगभग लिगबाटै बाहिरिएको टिम प्लेअफमै’ पुग्यो । सर्वथा बदलियो । फुटबल ‘टिम गेम’ भए पनि ललितपुरको परिवर्तित भाग्यमा अञ्जनको प्रदर्शन महत्त्वपूर्ण छ ।

अञ्जनकै गोलमा ललितपुर १–० ले बुटवल लुम्बिनीलाई दशरथ रंगशालामा हराएर सेमिफाइनलसरहको निर्णायक प्लेअफमा पुगेको हो । उनले मिक्छेन तामाङको क्रसमा डिफ्लेक्ट हुँदै ‘सिक्स यार्ड बक्स’ बाहिर पाएको बल ‘डाइभिङ हेडर’ मा जाली चुमाउँदै ६१ औं मिनेटमा गोल गरे । त्यसमा गौरव बुढाथोकीले मिक्छेनलाई दिएको पास उत्तिकै आकर्षक थियो ।

२३ वर्षीय अञ्जनको एनएसएलमा तेस्रो गोल हो यो । यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा विराटनगरका सन्तोष तामाङसँगै शीर्ष तीनमा पुगे । उनीभन्दा बढी मेसोके ओलोमोउ (५ गोल/काठमाडौं), ओलावाले आफिज (४ गोल/धनगढी) र पेड्रो मान्जी (४ गोल/विराटनगर) ले गरेका छन् । अञ्जनले खेलभन्दा रेफ्रीमाथि आक्रोशित भएको विराटनगरविरुद्ध दुई गोल गरे भने अर्को एक गोलमा अन्तिम पास दिएका थिए । बुटवल लुम्बिनीविरुद्ध लिगमा १–० को जित नै ललितपुरको भाग्य फेर्ने आधार हो । त्यसमा नुर्लान जाहिदको गोल अञ्जनकै पासमा भएको थियो ।


मिहिनेतको प्रतिफल

प्रतियोगितामा सुरुआती असफलताबारे अञ्जनले भने, ‘खेलमा त्यस्तो हुन्छ, जसले अझै बलियो बनाउन सहयोग गर्छ । यदि अगाडि बढ्नु छ भने जतिचोटि लड्छौं, त्यतिचोटि उठ्न सक्नुपर्छ । त्यसैले मैले मिहिनेत गर्न छाडिनँ ।’ ललितपुरको प्रदर्शन राम्रै थियो, जितको लागि आवश्यक गोलमात्रै गरेको थिएन । अञ्जन र अजरबैजानी खेलाडी नुर्लान पेनाल्टीमै चुकेका थिए । अञ्जनको प्रहारमा चितवनका गोलकिपर विशाल सुनारले राम्रो बचाउ गरेका थिए भने नुर्लानलाई धनगढीका कप्तान किरण चेम्जोङले असफल पारेका थिए । ती दुवै खेल बराबरी भएको थियो ।

‘मैले गरेको दुई गोल (धनगढी र बुटवल लुम्बिनीविरुद्ध) रेफ्रीले अफसाइड दिए । अहिले पनि भिडियो हेर्दा ती दुवै गोल हुन्,’ ६ वर्षयता राष्ट्रिय टिममा महत्त्वपूर्ण खेलाडीका रूपमा स्थापित अञ्जनले भने, ‘कहिलेकाहीं दुर्भाग्य पनि हुन्छ । सधैं आफ्नो दिन हुँदैन । तर, मिहिनेत गर्न छोड्नु हुँदैन । हामीले हरेक खेलमा अन्त्यसम्मै मिहिनेत गरेका थियौं ।’

लगातार तीन जितसहित ६ खेलको अपराजित यात्रापछि उनी बोले, ‘सुरुबाटै जित्नका लागि खेले पनि पहिलो खेलमै काठमाडौंसँग हार्‍यौं । तर, हामीाई जित्छौं भन्ने विश्वास थियो । मुख्य प्रशिक्षक परिवर्तन भएपछि राजु दाइ (प्रशिक्षक) ले स्कोरिङमा हेर्नुभयो । अनि राम्रो भयो । खेल जित्न थाल्यौं । प्रदीप सर (पूर्वमुख्य प्रशिक्षक) ले एकदम फरक गर्न खोज्नुभएको थियो, अन्तिम क्षणतिर चुकेका थियौं । त्यसैलाई सुधार गर्दै राजु दाइले अगाडि बढाउनुभयो ।’

‘नतिजाले फरक पार्छ,’ विंगर तथा फरवार्डको भूमिकामा खेल्दै आएका अञ्जनले ललितपुरको प्रदर्शन हरेक खेलमा राम्रो गर्नुको कारण प्रस्ट्याए, ‘खेलमा गरेका गल्तीहरूलाई ट्रेनिङमा सुधार गर्ने कोसिस गरिरहेका थियौं । तर, भाग्यमानी भएनौं । बुटवल लुम्बिनी र विराटनगरविरुद्धको जितले एकदमै ठूलो फरक पार्‍यो । जितले नै सबै कुरा राम्रो भएजस्तो लाग्छ । हामी सबै उत्साही भयौं र हरेकपल्ट प्रदर्शनमा सुधार हुँदै आयो । टिमले राम्रो खेलिरहेको छ ।’

‘बेन्च’ राम्रो

प्रशिक्षक राजु पनि आफ्नो ‘बेन्च’ (वैकल्पिक खेलाडी) बलियो भएको बताउँछन् । यसमा सहमत छन् कप्तान अञ्जन । ‘टिममा २० खेलाडी छन्, जसलाई खेलायो भने पनि उस्तै लाग्छ । जसले अवसर पायो, उसैले राम्रो खेल्छ,’ उनले सुनाए । ललितपुरले ४–३–३ को संरचनामा खेल सुरु गर्दै आएको छ । उसले आक्रमण गर्दा पाँच खेलाडीलाई अगाडि बढाउने गर्छ । सबैभन्दा अगाडि अञ्जन, विमल राना/भिलिम पोसिन्कोभिच र नुर्लान हुन्छन् । उनीहरूको पछाडि हुन्छन् दुई मिडफिल्डर । राजुको योजनामा डोना थापा र मिक्छेन तामाङले पनि मौका पाए । यी दुवै मिडफिल्डर प्रभावशाली देखिएका छन् । रक्षात्मक हुँदा टिमको संरचना ४–२–३–१ मा पुग्छ । यसको मतलव ललितपुर एउटै शैलीमा खेल्दैन, रणनीति र टिमको संरचना एउटै खेलमा पनि फेरिरहन्छ ।

नाइजेरियन डिफेन्डर पिटर सेगुन श्रम स्वीकृतिमा ढिलाइ हुँदा तीन खेलसम्म मैदानबाहिरै थिए । नुर्लान र क्रोएसियन भिलिमको प्रदर्शन अपेक्षाअनुरुप भएन । तैपनि ललितपुरको प्रदर्शनमा एकरुपता थियो, खस्किएको थिएन । सेन्टर–ब्याक प्लेअफमा नीरज बस्नेत (लिगमा तीन पहेँलो कार्ड पाएकोले एक खेलमा निलम्बित)) बिना पनि डिफेन्समा राम्रै गर्‍यो । त्यसैले त गोलकिपर अर्पण कार्कीले लगातार चार खेलसम्म ‘क्लिन–सिट’ राखे ।

‘आयो लाखे, जाग्यो लाखे’

लाखेलाई लोगो बनाएको ललितपुरले फुटबल दुनियाँमै स्तरीय प्रतियोगितामा नदेखिने दृश्यको सामना विहीबार गर्दैछ, जहाँ उसले फाइनल प्रवेशका कागि काठमाडौंविरुद्ध निर्णायक प्रतिस्पर्धा गर्दैछ । दुई घण्टा चलेको प्लेअफमा धनगढीविरुद्ध २–१ ले हारेको काठमाडौंले एक दिन आराम पायो । फिफाकै नियम बेवास्ता गर्दै आजको भोलि नै मैदानमा उत्रिनुपर्ने बाध्यता ललितपुरलाई आइपर्‍यो । अञ्जनले भने, ‘आराम त पुग्दैन तर खेल्नैपर्ने बाध्यता छ, लाखेको जोसमा खेल्छौं ।’

‘खेलतालिका यस्तै छ । आयो लाखे, जाग्यो लाखेको मनसायले खेल्नेछौं,’ काठमाडौंविरुद्ध हुने प्रतिस्पर्धाबारे प्रशिक्षक राजुले भने, ‘खेलाडी कतिको रिकोभरी हुन्छ, हेर्नैपर्छ । गम्भीर घाइते कोही छैनन् । बेन्च राम्रो छ । नीरज पनि फर्केपछि टिम बलियो हुन्छ । जितसँगै टिममा नयाँ उर्जा पनि थपिएको छ । पहिलो खेल (हार) को बदला लिने र फाइनल पुग्ने हिसाबले खेल्नेछौं ।’ एनएसएलको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?