कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ प्रयोगको साक्षी बन्दै काठमाडौं र धनगढी

पहिलो फ्रेन्चाइज फुटबल मंगलबार प्लेअफमा प्रवेश गर्नेछ र यो दिन नेपाली फुटबलकै लागि नयाँ र ऐतिहासिक रहनेछ
हिमेश

काठमाडौँ — कसैले ठीकै भनेका थिए, नेपाल सुपर लिगको प्लेअफ भनेको ठ्याक्कै दुई सेमिफाइनल र एक क्वाटरफाइनलको समीकरण हो । हो पनि । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानका टिमसँग फाइनल प्रवेशलाई दुई अवसर हुनेछ ।

नयाँ प्रयोगको साक्षी बन्दै काठमाडौं र धनगढी

नेपालमा भइरहेको पहिलो फ्रेन्चाइज फुटबल मंगलबार प्लेअफमा प्रवेश गर्नेछ र यो दिन नेपाली फुटबलकै लागि नयाँ र ऐतिहासिक रहनेछ । अनि यसका साक्षी रहनेछन्, काठमाडौं रेजर्स र धनगढी एफसी ।

यसमा जित्ने टिमसँग सिधै फाइनल प्रवेशको अवसर हुनेछ । हार्ने टिमले फेरि एकपल्ट अवसर पाउनेछ, लिगको तेस्रो र चौथो स्थानमा रहेका टिमबीचको विजेतासँग खेल्ने । त्यसमाथि प्रतियोगिता आफैंमा फरक छ, किनभने यो क्लब फुटबल होइन, फ्रेन्चाइज फुटबल हो । त्यसैले त काठमाडौं टिम झम्सिखेलस्थित भिभान्त होटलमा बसिरहेको छ । धनगढी टिम अझ के कम, ताहाचलस्थित सोल्टी होटलमा छ । नेपाली फुटबल कर्पोरेट क्षेत्रमा प्रवेश गरेको प्रमाण हो यो ।

त्यसैले माहौल नै बेग्छ यसपल्ट । अनि, प्लेअफको माहौल सर्वथा फरक छ । प्लेअफको पहिलो खेल जित्ने टिम फाइनल खेल्नुअगाडि निकै आरामको स्थितिमा हुनेछ, किनभने उसले त्यसपछि सिधै शनिबारको उपाधि भिडन्त खेल्नेछ । तर फाइनल खेल्ने दोस्रो टिमले त्यसअगाडि थप एक खेल खेल्नुपर्नेछ, त्यो पनि लगातार । त्यसैले तय छ, पहिलो प्लेअफ जसले जित्छ, उसलाई फाइदा रहनेछ । त्यसैले काठमाडौं र धनगढी दुवैको स्पष्ट लक्ष्य हुनेछ, जित ।

सोमबार दशरथ रंगशालामा भएको प्रिम्याच कन्फ्रेन्सपछि काठमाडौं टिमले भिभान्त पुगेयता एउटा बैठक जस्तै राखेको थियो । कर्पोरेट संलग्न फुटबल भएर होला, यस्तो बैठक बारम्बार भइरहन्छन् अनि त्यसमा टिमका मालिक नै पुग्ने गर्छन् । त्यही बैठकपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कान्तिपुरसँग भने, ‘नेपाली फुटबलमा पहिलोपल्ट काठमाडौंमा फ्रेन्चाइज फुटबल हुँदै छ । त्यसैले चाहन्छौं, यो प्रतियोगिताको उपाधि काठमाडौंबाहिर नजाओस् ।’

गज्जब प्रतिक्रिया । उनले यसमै थपे, ‘हामी प्रतियोगिताका क्रममा प्राप्त प्रतिक्रियाबाट निकै खुसी छौं । काठमाडौंका फुटबलप्रेमी यही काठमाडौं रेजर्सको समर्थनमा देखिएका छन् । यो हामीलाई उत्साहित हुने ठोस कारण हो । त्यसैले हामी क्लब मालिकदेखि आमसमर्थक सबैलाई धन्यवाद दिन चाहन्छौं ।’ धनगढीका मुख्य प्रशिक्षक युगलकिशोर राई पनि प्रिम्याच कन्फ्रेन्सपछि होटल फर्केर टिमको रणनीति बनाउनमै व्यस्त रहे । यो रणनीति कस्तो हुन्छ, त्यो भने उनले खुलाउन चाहेनन् ।

यो त व्यापारिक घरानाबीचको प्रतिस्पर्धाजस्तै रह्यो । उनले पनि गज्जबको प्रतिक्रिया दिए, ‘हामीले खेल्ने पनि जितकै लागि हो, यसमा दुविधा छैन । तर एउटा तथ्य के निश्चित छ भने पहिलो प्लेअफका क्रममा नेपाली फुटबलप्रेमीले उम्दा खेल हेर्न पाउनेछन् । यो तथ्यमा म ढुक्क छु । यो खेल माथिल्लोस्तरको हुनेछ ।’ उनीसँग यसको कारण छ । यो हो, दुवै टिम अहिले लयमा छन् । दुवैले लिग चरणका क्रममा आफ्ना प्रतिस्पर्धी टिमलाई बुझ्ने र सम्झने पर्याप्त कारण पाइसकेका छन् ।


हो पनि, लिग चरणका ६ खेल खेलेपछि प्लेअफ पुगेका चारै टिमबारे सबैलाई सबै थाहा छ । जस्तो, लिग चरणमा धनगढीले काठमाडौंलाई मज्जाले ३–० ले हराएको थियो । आफ्नो पहिलो खेलमा ललितपुर सिटी एफसीलाई हराएर उत्साहित काठमाडौं लगत्तै दोस्रो खेलमा आकाशबाट जमिन झरिहाल्यो । धनगढीविरुद्धको त्यो खेलमा काठमाडौंको केही पनि चलेनभन्दा हुन्छ । विशेषतः भाग्य । टंक बस्नेतको अजिब पहिलो गोलपछि धनगढीका लागि ओलावाले आफिजले दुई सुन्दर गोल गरेका थिए ।

तर काठमाडौंका लागि त्यही खेल सबै प्रकारको शिक्षा रह्यो । त्यसपछि काठमाडौंले प्रतियोगितामा मज्जाको पुनरागमन रच्योभन्दा हुन्छ । पोखरा थन्डर्सविरुद्धको गोलरहित बराबरीपछि लगातार तीन खेले जितेको थियो, काठमाडौंले । त्यसमा पनि विराटनगर सिटी एफसीमाथि प्राप्त ५–४ को जित त अझ सनसनीपूर्ण थियो । अर्कोतर्फ धनगढी पनि आफ्नो पहिलो खेलमा विराटनगरसँग पराजित भएपछि कम्ती मर्माहत देखिन्नथ्यो । तर काठमाडौंलाई हराएयता तीन खेलबाट ७ अंक बटुलेको थियो ।

यस्तोमा दुवै टिम पुनरागमनका लागि माहिर देखिएका छन् । चाहे त्यो प्रतियोगितामै किन नहोस् वा खेलमै सही । जतिबेला यिनै दुई टिम फेरि एक आपसको सामना गर्न मैदानमा उत्रनेछन् । त्यो फरक खेल हुनेछ, त्यसले उनीहरूबीचको पहिलो खेलको खासै अर्थ बोक्ने छैन । तर निश्चित छ, यस खेलमा फेरि एकपल्ट प्रतिद्वन्द्विताको भने नवीकरण हुनेछ । यो हुनेछ, विकेश कुथुविरुद्ध किरण लिम्बू, मेसोके आलोमोउविरुद्ध ओलावाले अफिज ।

र, अरू धेरै पनि । सबैभन्दा मुख्य तथ्य त के भने यो खेल लिग चरणमा सबैभन्दा राम्रो खेलेका दुई टिमबीचको भिडन्त हो । काठमाडौं लिग चरणमा चार खेल जित्ने एक्लो टिम थियो, त्यसैले उसले सर्वाधिक १३ अंक बटुलेको थियो । अर्कोतर्फ धनगढी १० अंक बटुलेर दोस्रो स्थानमा थियो । पोखराविरुद्ध धनगढीका लागि दर्शन गुरुङको वास्तवमै दर्शनीय गोल थियो । यसलाई दशरथ रंगशालामा सम्भव सबैभन्दा राम्रा गोलमध्ये एक मान्न सकिन्छ । विश्वास गरौं, अबको खेल आफैं यत्तिको दर्शनीय हुनेछ, प्रशिक्षक युगलकिशोरले भनेजस्तै ।

प्रकाशित : वैशाख २८, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?