क्षितिजलाई चेस उपाधि

काठमाडौँ — मोरङ जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा फिडे आर्बिटर विजयकुमार थापाको स्मृतिमा भएको अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर क्षितिज भण्डारीले जितेका छन् । उनले नवौं चरणमा सुनसरीका तीर्थ सुब्बालाई पराजित गरेर साढे ८ अंकसहित उपाधि जितेका हुन् ।

क्षितिजलाई चेस उपाधि

अस्ट्रेलियामा रहेका हिमालले साढे ७ अंक हात पार्दै दोस्रो स्थानमा रहे । उनले अन्तिम चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई हराएका थिए भने काठमाडौका सुदीप तामाङले नवौं चरणमा फिडे मास्टर मनीष हमालमाथि सफलता पाए । समान ७ अंक नै जोडेका हेराकाजी महर्जनलाई प्रोग्रेसिभ अंकमा पछि पार्दै सुदीपले तेस्रो स्थान ओगटे ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा चौंथौदेखि दसौं स्थानसम्म क्रमशः हेराकाजी, थापाथली चेस पार्कका रन्जित राई, मकवानपुरका कृष्ण थापा, सुनसरीका तीर्थ सुब्बा, कैलालीका दीर्घराज जोशी र काठमाडौका पुरुषोत्तम सिलवाल रहे ।

महिलातर्फको उपाधि वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले जितिन् भने दोस्रो र तेस्रो झापाका कृपा अधिकारी र सिन्दिरा जोशी भए । १८०० मुनि रेटेडमा रोशन श्रेष्ठ र १६०० मुनि सुशील गुरुङ उत्कृष्ट ठहरिए । कोरोना संक्रमणबाट कारणले जीवन गुमाएका थापाको स्मृतिमा भएको प्रतियोगितामा १ सय ३६ खेलाडीको सहभागिता थियो । उत्कृष्ट १९ खेलाडीलाई नगद पुरस्कार प्रदान गर्न नेपाल बुद्धिचाल संघका सहकोषाध्यक्ष ज्ञानेन्द्र पराजुली र दुबईमा रहेका चेस खेलाडी दिल पुनले आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?