कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बागलुङमा जसले कराते सिकाए

प्रकाश बराल

बागलुङ — झन्डै तीन दशकअघि । जिल्लामा सडक सञ्जालमा समेत जोडिएको थिएन । भलिबल र फुटबललाई मात्रै खेल भनिन्थ्यो । मार्सल आर्टबारे जिल्लावासीमा थाहै थिएन ।

बागलुङमा जसले कराते सिकाए

ललितपुरको ठेचोमा जन्मेका धनदास महर्जनले पहिलोपल्ट बागलुङ आएर मार्सल आर्ट्स चिनाए । २७ वर्षदेखिको उनको सक्रियताले अहिले बागलुङ मार्सल आर्ट्सको उत्कृष्ट जिल्लामा गनिन्छ ।

महर्जनले प्रशिक्षण दिएर जिल्लामा सयौं खेलाडी र २० डोजो बनाएका छन् । सदरमुकामलगायत बिहुँ, गलकोट, बुर्तीवाङ, बुंगादोभान, निसीमा बढी सक्रिय डोजो छन् । हरेक महिना सबै डोजोमा पुगेर अनुगमन गर्ने, तालिम र सुझाव दिने काममा उनले कहिले पनि कन्ज्युस्याइँ गरेनन् । ‘दुई तीन दिन पैदलै हिँडेर निसीसम्म तालिम दिन गएको छु,’ महर्जन भन्छन्, ‘राजधानीमै बसेको भए यस्तो अवसर पाइने थिएन ।’

जिल्लामा बसेकाले बढी सम्मान पाएको उनले बताए । महर्जनका विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर स्वर्ण पदक जितेका छन् ।

‘आफ्ना विद्यार्थीले गरेको प्रगति देख्दा खुसी लाग्छ,’ उनले भने, ‘राष्ट्रिय टिममा बागलुङको उपस्थिति उत्साहजनक छ ।’ बागलुङका राजन पाइजा, चित्रबहादुर पुन उनका विद्यार्थी हुन् । राजनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा ३० स्वर्ण पदक जितेका छन् भने चित्रले पनि २ दर्जन पुर्‍याइसकेका छन् ।

महर्जनको मिहिनेतकै कारण करातेको राष्ट्रिय प्रतियोगितामा बागलुङले तीन पटकसम्म लगातार स्वर्ण जितेको थियो । उनले ४ लाख नगद पुरस्कार पनि पाए । ‘राष्ट्रिय खेलमा जाँदा सधैं पुरस्कार आउने क्षेत्र कराते हो,’ जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष धनबहादुर परियारले भने, ‘प्रतियोगितामा पाएको सफलताको जस महर्जनलाई जान्छ ।’

केही वर्षदेखि बागलुङका गाउँगाउँमा करातेको चहलपहल बढेको उनले बताए । सदरमुकाममा मात्र ५ सय ५० नियमित अभ्यास गर्ने विद्यार्थीले महर्जनलाई गुरु मान्छन् ।

जिल्लामा अहिले २ सय ७० ब्ल्याकबेल्ट पाएका युवा सक्रिय छन् । विराटनगरमा भएको खेलकुद प्रतियोगितामा बागलुङकै राजन पाइजा नेपाल च्याम्पियन भएका थिए । थानेश्वर राई र हीरासिंह डंगोलबाट तालिम पाएका महर्जनले २०४४ सालमा ब्ल्याकबेल्ट लिएका थिए । बागलुङमै बस्ती छैन होला भनेर आएका महर्जन ढोरपाटनमा पुगेर डोजो प्रशिक्षण गर्दा उपत्यकाका धेरैलाई मोफसल घुमाउनुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘राजधानीमा खुम्चेर बसेकालाई देशको अवस्था र जनताको चाहना बुझ्ने बनाउन सक्नुपर्छ ।’

संसारका शक्तिशाली देशसामु खेलकुदबाट मात्र सफलता पाउन राज्यले लगानी बढाउनुपर्ने उनी सुझाउँछन् । साथै राजधानीले मोफसललाई हेर्ने दृष्टिकोण परिवर्तन र लगानी बढाएमा राष्ट्रको नाम राख्न सकिने उनको बुझाइ छ ।

महर्जन नआएको भए मार्सल आर्टको सुरुआत हुन ढिला हुने परियार बताउँछन् । जागिर खान आएर पनि उनी यतै रमाए । राष्ट्रिय खेलकुद परिषद्बाट २०५० सालमा सहायक प्रशिक्षकको नियुक्ति पाएका महर्जन अहिले वरिष्ठ प्रशिक्षकबाट अवकाश भएका छन् । बागलुङ पुग्न सडक छैन, पैदल हिँड्नुपर्छ र धेरै दुःख पाइन्छ भनेर छिमेकीले धेरैपटक रोक्ने प्रयास गरेको स्मरण गर्छन् उनी । ‘मलाई धेरैले खानै नपाइने गाउँमा नियुक्ति दिएकाले तँलाई जागिर नदिने नियत हो पनि भने,’ महर्जनले ती दिन सम्झिए, ‘उनै व्यक्तिहरू अहिले बागलुङ घुम्न आउँछु, बस्ने व्यवस्थापन गर भन्छन् ।’

महर्जनको कारण धेरै पुरस्कार जित्न पाएकोमा स्वर्णधारी राजन पाइजा खुसी छन् । ‘उहाँ आएर खेलाडीको खोजी गर्नुभयो अनि युवाहरू खेलकुदमा लागे,’ उनले भने, ‘हामीलाई खेलको जानकारी मात्र भएन, जिल्लालाई चिनाउने मौका पनि पायौं ।’

प्रकाशित : वैशाख २५, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?