कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपाल सुपर लिग : धड्कन रोकिने खेल

घरेलु फुटबलकै एक उत्कृष्ट खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटी एफसीलाई ५–४ ले हरायो
राजु घिसिङ

काठमाडौँ — मनै लोभ्याउने खेल भनौं भने उच्च रक्तचाप हुनेहरूका लागि खतरा नै हुने खालको थियो । खेलमा तनाव लिनेकै लागि भन्ने हो भने त हृदयघात निम्त्याउने किसिमकै थियो । निकै रोमाञ्चक । अति नै रोमाञ्चक ।

नेपाल सुपर लिग : धड्कन रोकिने खेल

मुटुको धड्कन नै रोकिने किसिमको रह्यो काठमाडौं रेजर्सविरुद्ध विराटनगर सिटी एफसीको प्रतिस्पर्धा । दुवै टिमले आक्रामक फुटबल पस्किए । धेरै अवसर उपयोग गरे । यस्तो सनसनीपूर्ण र घरेलु फुटबलकै उत्कृष्ट खेलमा काठमाडौंले ५–४ ले बाजी मार्यो ।

नेपाल सुपर लिग (एनएसएल) को दशरथ रंगशालामा बिहीबार दोस्रो खेलमा फुटबलमा लिन सकिने सबै खालको रोमाञ्च अर्थात् मनोरन्जन अनुभव गर्न सकिन्थ्यो । खेल नाटकीय थियो । अझ सभ्य रूपमा भन्नुपर्दा स्तरीय, उत्कृष्ट । निकै उत्कृष्ट । रेफ्रीको निर्णयको विरोधमा बारम्बार दुवै टिमको ‘प्लेयर बक्स’ तनावपूर्ण बन्यो । दुवै टिमका एक–एक अफिसियललाई रातो कार्ड देखाउँदै रेफ्री नवीन्द्र महर्जनले प्यारापिटतिर पठाइदिए । थोरै भएपछि भीआईपी प्यारापिटका समर्थकको चिच्याहट चर्कै थियो ।

फेरि एकपल्ट विदेशी खेलाडी हाबी भए । खेलको ९ गोलमध्ये सात गोल विदेशीको नाममा रह्यो । काठमाडौंका क्यामरुनी फरवार्ड मेसोके ओलोमोउ एनएसएलकै पहिलो ह्याट्रिकर्ता भए । सुरुमा अग्रता भने विराटनगरले लियो । त्यो पनि २–० को । त्यसलाई उल्ट्याउँदै काठमाडौं ३–२ ले अघि बढ्यो । पहिलो हाफका ५ गोलमध्ये पछिल्ला ४ गोल ८ मिनेटभित्र भए । दोस्रो हाफमा काठमाडौंले ४–२ को अग्रता लियो । विराटनगरले अन्तर छोट्याउँदै ३–४ बनाएर संघर्ष जारी राख्यो । फेरि काठमाडौंले ५–३ बनायो । फेरि पनि विराटनगरले गोल फर्काएर अन्तर ४–५ मा झार्दै अंक जोड्ने आशा कायमै राख्यो । तर, अन्तिम नतिजा ५–४ काठमाडौंको पक्षमा गयो ।

विराटनगर सिटीका कप्तान रन्जित धिमालको क्रसमा बल डिफ्लेक्ट हुँदै पेनाल्टी क्षेत्रमा पुग्यो । जसलाई एडेलाजा सोमिडेले ‘फिल्क’ गर्दै बल काठमाडौंका गोलकिपर विकेश कुथुको टाङमुनिबाटै पोस्टको दिशा दिँदै विराटनगरलाई अघि बढाए । मैदानको आफ्नै क्षेत्रबाट सन्तोष तामाङले दिएको बल अघि बढाउँदै पेड्रो मान्जीले विकेशलाई छक्याएर ३३ औं मिनेटमा अग्रता दोब्बर बनाए । त्यो मुभमा स्पेनी फरवार्ड अफसाइड रहेको भन्दै काठमाडौंले चर्को विरोध गर्‍यो । मैदानमा खेलाडीभन्दा बढी उसको प्लेयर बक्स तातियो । निर्णायकहरूमाथि गालीगलौजमै उत्रिए । अफिसियल राकेश कार्कीलाई रातो कार्ड देखाउँदै रेफ्रीले बाहिर पठाइदिए ।

‘हामी लाइनमै छौं । दोस्रो गोल अफसाइड हो,’ काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘स्तरीय रेफ्रीको अभाव देखेको छु ।’ दोस्रो हाफमा विराटनगर पछाडि परेको अवस्थामा सन्तोषको प्रहार काठमाडौंका खेलाडीको हातमा लाग्दा र मनीष डाँगीलाई विश्वास श्रेष्ठले ट्याकल गर्दा पेनाल्टीको माग गर्दै चर्को प्लेयर बक्स तातिएको थियो । त्यसैक्रममा अफिसियल अशोक यादवलाई रातो कार्ड दिँदै बाहिर पठाउनुपर्‍यो । दुई खेलअघि एनएसएलका रेफ्रीलाई आफूले देखेका सबैभन्दा खराब भनेका विराटनगरका प्रशिक्षक यान लले बिहीबार भने निर्णायकको आलोचना गरेनन् ।


काठमाडौंको पाँचमध्ये चार गोल उस्तै प्रकृतिको रह्यो । मेसोकेले ३५ औं मिनेटमा प्रहार गरेको बल गोलकिपर किशोर गिरीको ग्लोभ्स हुँदै जाली चुमेपछि काठमाडौं खेलमा फर्कियो । मेसोकेले ३६ औं मिनेटमै डिफेन्डर विक्रम धिमाललाई छक्याउँदै सेकेन्ड बारमा प्रहार गरेको बल सिधै गोलमा परिणत भयो र खेल २–२ भयो । खासमा क्रसजस्तो देखिएको त्यो प्रहारमा बलले टप बारमा जाली चुम्यो । विजय धिमालले मेसोकेलाई पेनाल्टी क्षेत्रको ठीकबाहिर दायाँतिर फाउल गरेपछि काठमाडौंले फ्रिकिक पायो । त्यसैमा स्टेफेन समिरले सेकेन्ड बारमा च्याप्दै प्रहार गरेको बल गोलकिपर किशोर र डिफेन्सले भेट्टाउनै सकेनन्, काठमाडौं ३–२ ले अघि बढ्यो ।

मेसोकेले विजयलाई छक्याउँदै सिक्स यार्ड लाइनस्थित कठिन कोणबाट गोलकिपर किशोर रहेकै फस्ट बारबाट बललाई जाली चुमाउँदै ६८ औं मिनेटमा एनएसएलकै पहिलो ह्याट्रिक पूरा गरे । यसको खुसीयालीमा जिम्न्यास्टिकका यी पूर्वखेलाडीले एक्रोब्याटिक कौशल देखाए । प्रतियोगितामा उनको गोलसंख्या ४ पुगेको छ । धनगढीका ओलावाले आफिज र विराटनगरका मान्जीको पनि ४ गोल नै छ । सन्तोषको पासमा करिब २५ यार्डबाट प्रहार गर्दै रजिनले ७९ औं मिनेटमा लोभलाग्दो गोल गर्दै विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे । तर, छिरिङ गुरुङले ८२ औं मिनेटमा काठमाडौंलाई फेरि दुई गोलको अग्रता दिलाए ।

अक्सनमा बिक्री नभएपछि घाइते खेलाडीको स्थानमा मौका पाएका छिरिङको गोलको मुभ सम्भवत एनएसएलकै उत्कृष्ट रह्यो । उनले आफ्नै क्षेत्रबाट अघि बढाउँदै विपक्षीका पाँच खेलाडीलाई छक्याउँदै मेसोकेलाई पास दिए । मेसोकेले बल छिरिङलाई नै दिए र उनले गोलकिपर किशोरलाई कुनै मौका दिएनन् र उत्कृष्ट गोल गर्दै काठमाडौंलाई ५–३ ले अघि बढाए । विराटनगरका कप्तान रन्जितको पासमा एडेलाजाले तिघ्राले पेनाल्टी क्षेत्रमा रोकेको बललाई मान्जीले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै फेरि अन्तर एक गोलमा झारे । तर, प्रतियोगितामा मान्जीको व्यक्तिगत चौथो गोल अंक जोड्न पर्याप्त भएन । थप तीन अवसर उपयोग नगरेको मूल्य पनि विराटनगरले चुकाउनुपर्‍यो ।

काठमाडौं प्लेअफमा

‘नसोचिएको नतिजा,’ काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘राम्रो प्रदर्शन । राम्रो स्कोर निस्कियो ।’ उनले थपे, ‘हरेक दिन सम्पूर्ण पक्षमा सुधार भइरहेको छ । विदेशी खेलाडी सोचेभन्दा राम्रा छन् । दुई गोल खाएपछि अलि बढी आक्रमक भएका हौं ।’ उनको टिमले तेस्रो जितसँगै शीर्षस्थानको धनगढी समान १० अंक बनाउँदै प्लेअफमा स्थान पक्का गर्‍यो । धनगढीविरुद्ध ३–० ले हारेकोले हेड टु हेडमा पछाडि परेको काठमाडौं दोस्रो स्थानमा छ ।

दोस्रो हारपछि विराटनगर (७ अंक) को भाग्य भने लिगको अन्तिम खेलमा ललितपुर सिटी (६ अंक) विरुद्धको नतिजामा निर्भर भएको छ । उसका भारतीय प्रशिक्षक यान लले काठमाडौंविरुद्धको खेलबारे भने, ‘गोल गर्नेमा समस्या भयो । डिफेन्समा कमजोरी । गोलकिपरमा पनि कमजोरी भयो । जिरो एङ्गलबाट गोल अपेक्षा पनि गरेका थिएनौं । अब अर्को खेल जित्नैपर्छ र त्यसमा फर्किनको लागि खेलाडीहरू मानसिक रूपमा तयार हुने आशा छ ।’ उनले पहिलो हाफमा घाइते भएका तीन खेलाडी निरकुमार राई, सरोज दाहाल र विक्रम धिमाललाई परिवर्तन गरेकाले पनि समस्या भएको बताए ।

ललितपुरको सम्भावना कायमै

मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको पहिलो खेलमै ललितपुर सिटी एफसीले जित हात पारेको छ । सहायक प्रशिक्षक राजु तामाङ कार्यबाहक बनेको पहिलो खेलमै ललितपुरले बुटवल लुम्बिनीलाई १–० ले हरायो । विहीबारको पहिलो खेलको एकमात्र गोल अजरबैजानी मिडफिल्डर नुर्लान जाहिदले गरे ।

कमल श्रेष्ठको कर्नरमा नीरज बस्नेतले ‘ओभरहेड किक’ हाने र त्यसैमा कप्तान अञ्जन विष्टले हेडद्वारा बल प्रहार गरे । त्यही बललाई नुर्लानले ‘सिक्स यार्ड बक्स’ निरबाट डाइभिङ हेड गर्दै पाँचौं मिनेटमै ललितपुरलाई अग्रता दिलाए । ललितपुरले जति आक्रमण गरे, पहिलो हाफमै गरे । उसका तीन राम्रा प्रहारमा बुटवल लुम्बिनीका कप्तान एवं गोलकिपर विशाल श्रेष्ठ बाधक भए ।

पहिलो जितसँगै ललितपुर ६ अंक जोड्दै चौथो स्थानमा उक्लियो । उसले लिगको अन्तिम खेलमा विराटगर सिटीविरुद्ध खेल्नेछ र त्यसमा तीन अंक जोड्नसके शीर्ष चारमा स्थान पक्का गर्नेछ । बुटवल लुम्बिनीले चाडका मिडफिल्डर अर्मान्ड बेडुमको स्थानमा अभिषेक रिजललाई एनएसएलमा डेब्यू गराए पनि उनले खासै प्रभाव छाड्न सकेनन् । प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको बुटवल लुम्बिनीको प्रदर्शन खस्किँदै गएको छ । उसको अपराजित यात्रा चौथो चरणमा काठमाडौंले १–० ले समाप्त गरेको थियो । लगातार दोस्रो हारसँगै उसको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ । अन्तिम खेलमा धनगढीलाई पराजित गर्नसके पनि उसको प्लेअफ खेल्ने सम्भावना अरू टिमकै हातमा हुनेछ ।

प्रकाशित : वैशाख २४, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?