उत्कृष्ट पुर्नआगमन जितसँगै काठमाडौं प्ले अफमा

काठमाडौँ — दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर काठमाडौं रेजर्सले बिहीबार नेपाल सुपर लिगमा उत्कृष्ट पुर्नआगमन जित रचेको छ । यससँगै प्ले अफमा स्थान बनाउने दोस्रो टिम बनेको छ । काठमाडौंले विराटनगर सिटी एफसीलाई ५–४ ले हरायो र पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

उत्कृष्ट पुर्नआगमन जितसँगै काठमाडौं प्ले अफमा

प्रतियोगिताको अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोके ओलोमोउले ह्याट्रिक गरे र यो नै प्रतियोगिताको पहिलो तीन गोलको प्रदर्शन रह्यो । दशरथ रंगशालामा भएको खेलमा विराटनगरले सुरुमा दुई गोल गरेको थियो र खेल उसको पक्षमा जाने संकेत देखिएको थियो ।

नाइजेरियाका एडेलेजा सोमेडेले छैटौं मिनेटमा पहिलो गोल गरे भने उरुग्वेली स्पेनी खेलाडी पेड्रो मान्जीले १६ औं मिनेटमा दोस्रो गोल थपे । त्यसयता काठमाडौंका लागि ओलोमोउले ३५ र ३६ औं मिनेटमा दुई गोल गरे । लगतै क्यामरुनकै स्टेफन बियोङले ४१ औं मिनेटमा फ्रि किकबाट गोल गरे । फ्रि किकबाट भएको यो प्रतियोगिताको पहिलो गोल रह्यो ।

खेलको ६८ औं मिनेटमा ओलोमोउले ह्याट्रिक पूरा गरे । खेलमा गोलको क्रम यत्तिकैमा रोकिएन । कप्तान विक्रम धिमालले ७९ औं मिनेटमा शक्तिशाली प्रहारबाट विराटनगरका लागि तेस्रो गोल गरे भने छिरिङ गुरुङले ८२ औं मिनेटमा काठमाडौंका लागि पाँचौ गोल थपे । मान्जीले इन्ज्युरी समयको चौथो मिनेटमा आफ्नो दोस्रो गोल गरे । विराटनगर सात अंकमा तेस्रो स्थानमा रह्यो ।

प्रकाशित : वैशाख २३, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?