नेपाल सुपर लिग : खाली रंगशालामा उत्कृष्ट गोल

राजु घिसिङ

काठमाडौँ — ‘अक्सन’ मा लिइएका खेलाडीमा आधारित नेपाल सुपर लिग (एनएसएल) मा पहिलो चरणका खेल खासै गतिला थिएनन् । सातवटै फ्रेन्चाइज टिमले पूरा टिम (अक्सनबाट लिएका १४, मार्की १, विदेशी ३ (विदेशमा खेलिरहेका नेपालीसहित) र स्थानीय २ खेलाडी) एक साता पनि अभ्यास गर्न पाएका थिएनन् । दशरथ रंगशालाको प्यारापिट खाली भए पनि मैदानमा प्रतिस्पर्धाले दोस्रो चरणबाट गति लिन थाल्यो ।

नेपाल सुपर लिग : खाली रंगशालामा उत्कृष्ट गोल

अधिकांश टिमलाई आजको पर्सि नै खेल्नुपर्ने बाध्यता छ । त्यसैले धेरै टिमलाई चोटले नराम्रैसँग पिरोलेको छ । चोटका कारण लिगमा फर्किन नसक्ने खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइने प्रावधान पनि छ । जसअनुसार एक टिमलाई चार खेलाडीसम्मै परिवर्तन गरेका छन् । चौथो चरणको अन्तिम खेलमा मंगलबार काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई १–० ले हरायो । क्यामरुनी फरवार्ड स्टेफेन समिरले पाँचौं मिनेटमा गरेको गोलले बुटवल लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाइदियो ।

दोस्रो जित हात पारेको काठमाडौं रेजर्सले चार खेलमा दुई गोल गरेको छ र दुवै गोल अफ्रिकी खेलाडीले गरेका छन् । विराटनगर सिटी एफसीका स्पेनी फरवार्ड पेड्रो मान्जीले पनि एनएसएलमा दुई गोल गरेका छन् । धनगढी एफसीका फरवार्ड ओलावाले आफिजले सर्वाधिक चार गोल गरेका छन् । यसको मतलब देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा विदेशी खेलाडी हाबी भएको भने होइन । हरेक खेलमा विदेशी खेलाडी निर्णायक भएका छैनन् । स्वदेशी खेलाडीको प्रदर्शन पनि उत्तिकै दमदार छ ।

चौथो चरणसम्म प्रतिखेल दुई गोलको औसतमा २८ गोल भएका छन् । सबैभन्दा फराकिलो अन्तर ३–० को रह्यो । यति ठूलो जित दुईपल्ट हात पारेको धनगढीले एकपल्ट उस्तै अन्तरको हार पनि बेहोर्‍यो । पोखरा थन्डर्सले काठमाडौं र ललितपुर सिटीविरुद्ध गोलरहित खेल्यो । यिनै गोलरहित खेल निकै निरस थिए । विराटनगर सिटीले दुईपल्ट पछाडि परेर पनि बुटवल लुम्बिनीविरुद्ध २–२ को बराबरी खेल्यो । यस खेलमा तेस्रो चरणको उक्त खेलमा फुटबलमा पाइने सबै खालको रोमाञ्च अनुभव गर्न सकिन्थ्यो ।

लिगमा तीन चरण अर्थात् सात खेल बाँकी छन् । शीर्ष तीनमा रहेका धनगढी, विराटनगर सिटी र काठमाडौंको समान ७ अंक छ । बुटवल लुम्बिनी र पोखरा थन्डर्स ५–५ अंकमा छन् । शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने होडमा प्रतिस्पर्धा उनीहरू नै हुने देखिएको छ । पुछारका दुई टिम ललितपुर सिटी (३ अंक) र एफसी चितवन (२ अंक) को पनि प्लेअफमा पुग्ने गणितीय सम्भावना कायमै छ । तर, उनीहरूको भाग्य अरु टिमकै नतिजामा निर्भर हुनेछ । फाइनल प्रवेशका लागि शीर्ष दुई स्थानमा रहने टिमलाई सजिलो हुनेछ । त्यसैले, एनएसएलमा लिगका बाँकी खेल अझै रोमाञ्चक हुन सक्छ ।

चौथो चरणको समाप्तिमा एनएसएलका सात विशेषता :

आफिजको फिनिसिङ

एनएसएलमा हरेक टिमले एक करोड रुपैयाँ बढी लगानी गरेका छन् । लाखौं खर्च गरेर विदेशी खेलाडी ल्याएका छन् । भारतको आई लिग खेलेका मात्र होइन, युरोपका लिग र एएफसी च्याम्पियन लिगका अनुभवी खेलाडीलाई पनि ल्याएका छन् । केही टिम भने खेलेरै कमाउने बहानामा नेपाल आएका अफ्रिकी खेलाडीमै भर परेको छ । केही क्लबले भने यहाँको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीलाई विश्वास गरेका छन् ।

कुनै पनि टिमलाई एकसाथ तयारी गर्ने अवसर एक साता पनि थिएन । यसै बेला कोरोना भाइरसको महामारीले दक्षिण एसियालाई नै संकटमा पारिरहेको थियो । त्यसैले खाली प्यारापिटमा एनएसएलका खेल भइरहेका छन् । यस्तो बेला नयाँ खेलाडीलाई दशरथ रंगशालामा जम्न गाह्रै हुन्छ । त्यो पनि अक्सनबाट लिइएका मिश्रित खेलाडीको टिममा । यसमा अलि चलाख धनगढी देखियो । किनभने टोलीले जेठ १ सम्म हुने एनएसएलका लागि नेपाली फुटबल बुझेका नाइजेरियन फरवार्ड ओलावाले आफिजलाई ल्यायो ।

तर, धनगढी पहिलो खेलमै विराटनगर सिटीविरुद्ध ३–० ले हार्‍यो । निकै खराब हार थियो त्यो । किनभने धनगढीले गोलका दस अवसर खेर फालेको थियो र त्यसमा आधा मौका त आफिजले नै गुमाएका थिए । त्यसपछि भने आफिजसँगै धनगढी लयमा फर्कियो । ए डिभिजन लिगमा आरसीटी, संकटा, थ्रीस्टार र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका आफिजले धनगढीका लागि बालगोपाल महर्जनको टिम काठमाडौंविरुद्ध ३–० को जितमा दुई गोल गरे । उनले ललितपुर र चितवनविरुद्ध पनि एक–एक गोल गरेर आफ्नो गोल संख्या चार खेलमा चार पुर्‍याए । सर्वाधिक गोलकर्तामा सन्तोष (३ गोल) भन्दा अगाडि रहेका उनी अझै आरसीटी र संकटामा छँदाजस्तो उत्कृष्ट लयमा भने छैनन् । पहिलाभन्दा अलि सुस्त भएका छन् । थुप्रै अवसर पनि गुमाइरहेका छन् । तैपनि गोल गरेकै छन् ।

चार पेनाल्टी, तीनमा चुक्यो

एनएसएलमा चौथो चरणको समाप्तिसम्म चारपल्ट पेनाल्टी भएको छ । तर, तीन पेनाल्टीमा गोल भएन । जबकि खेलमा गोल गर्न सबैभन्दा सहज अवसरमा पर्छ पेनाल्टी । तर, यो १२ यार्डको प्रहारमा खेलाडीहरू लगातार असफल भइरहेका छन् । प्रहार नै कमजोर वा गोलकिपर उत्कृष्ट हुन् ? छुट्याउनै गाह्रो छ ।

ललितपुर सिटीले सबैभन्दा बढी दुईपल्ट पेनाल्टी पायो । तर, दुईपल्टै चुक्यो । कप्तान एवं मार्की अञ्जन विष्टले चितवनविरुद्ध २१ औं मिनेटमा प्रहार गरेको पेनाल्टीमा बल गोलकिपर विशाल सुनारले रोकिदिए । त्यो खेलमा युवा गोलकिपर विशालको प्रदर्शन उत्कृष्ट थियो । दोस्रो हाफमा कमल श्रेष्ठको नसोचिएको गोलमा ललितपुर सिटीले अग्रता लिएको थियो । तर, इन्ज्युरी समयमा पाएको पेनाल्टीमा अमित तामाङ भने चुकेनन् र ललितपुर १–१ मा रोकियो ।

लगत्तै अर्को खेलमा पनि ललितपुर सिटीले पेनाल्टी पायो । धनगढीका कप्तान किरण चेम्जोङको गल्तीमा पाएको पेनाल्टी अजरबैजानी मिडफिल्डर नुर्लान जाहिदले प्रहार गरे । तर, उनको प्रहार फितलो रह्यो र बल किरणले समाते । दोस्रो हाफमा दुवै टिमले गोल गरे र खेल १–१ मा सकियो । दुई पेनाल्टी चुकाइकै कारण पनि हो, भाटभटेनी सुपरमार्केट स्वामित्वको क्लब अझै जितविहीन छ ।

पेनाल्टीमा चुक्ने अर्का खेलाडी हुन् विलियम ओपोकु । बुटवल लुम्बिनीका यी मिडफिल्डरले मंगलबार काठमाडौंविरुद्ध छैटौं मिनेटमा प्रहार गरेको बल गोलकिपर विकेश कुथुले रोकिदिए । बुटवल लुम्बिनी एक गोलले पछाडि परेको अर्को मिनेटमै पाएको बराबरी गर्ने अवसर उपयोग गरेको भए अपराजित एक्लो टिम हुने थियो ।

पट्टी बाँधेरै खेलिरहे

दोस्रो हाफ चलिरहेको थियो । चितवनका मिडफिल्डर शिशिर लेखी र विराटनगर सिटीका डिफेन्डर सरोज दाहाल हेडद्वारा बल प्रहार गर्न क्रममा जुध्न पुगे । सरोजको दाँतले शिशिरको टाउको चोट लाग्यो । रगत बग्यो । प्राथमिक उपचारपछि टाउकोमा पट्टी बाँधेरै शिशिर खेल्न थाले । त्यसरी खेल्दा अप्ठ्यारो महसुस गरेपछि उनले पट्टी खोलेर फालिदिए । तर, हेडिङ गर्ने क्रममा उनको टाउकोबाट फेरि रगत बग्न थाल्यो । उनले फेरि पट्टी बाँधेर खेल्न थाले । उनलाई प्रशिक्षकले यसरी नै पूरा समय खेलाए । विराटनगरले २–० ले जितेको खेलपछि उनी सिधै हस्पिटल गए । उनको टाउकोमा तीन टाँका लगाइएको छ ।

उत्कृष्ट गोल

दोस्रो चरणको सुरुआतसँगै एनएसएलमा उत्कृष्ट गोलहरू भइरहेका छन् । बुटवल लुम्बिनीका फरवार्ड आशिष लामाले चितवनविरुद्ध गरेको गोल निकै उत्कृष्ट थियो । उनले करिब २५ यार्डबाट प्रहार गरेको बल गोलकिपर विशाल सुनारले रोक्ने अवसर नै पाएनन् ।

विराटनगर सिटीका स्पेनी फरवार्ड पेड्रो मान्जी दुई गोल गरेका छन्, बुटवल लुम्बिनी र चितवतविरुद्ध । दुवै गोल उत्कृष्ट रहे । उनले दुवै गोल उस्तै गरी पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट प्रहार गरेका थिए । विराटनगरकै आक्रामक मिडफिल्डर सन्तोष तामाङले तीन गोल गरेका छन् । इन्ज्युरी समयमा बुटवल लुम्बिनीविरुद्ध सुनिल खड्काले गरेको भनिएको बराबरी गोल पनि पछि रेफ्रीले सन्तोषकै नाममा गरिदिएका छन् । त्यसमा उनले फ्रि–किक प्रहारमा निकै चलाखी गरेका गरेका थिए ।

सन्तोषले धनगढीविद्ध हात पारेको ३–० को जितमा पनि गोलकिपर किरणलाई मौका दिएका थिएनन् । विशष्ोगरी उनले चितवनविरुद्ध २–० ले जितेको खेलमा ८९ औं मिनटमा गरेको गोल निक्कै उत्कृष्ट थियो । उनले पाएको बललाई विपक्षीका दुई खेलाडीलाई उछिन्दै पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट प्रहार गरे, जसले विराटनगरको दोस्रो जित पक्का गरेको थियो ।

विवादमा रेफ्री

विराटनगर सिटीविरुद्ध २–० ले हारेपछि चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले रेफ्रीले अन्याय गरेको दाबी गर्दै भनेका थिए, ‘पहिलो गोल हातमा लागेपछि भएको थियो । त्यसैले खेलमा फरक पार्‍यो ।’ तर, पेड्रो मान्जीले दायाँ खुट्टाले रोकेपछि बल सूक्ष्मरूपमा हेर्दा हातमा होइन, छातीमा लागेको देखिन्छ । त्यसपछि उनले आकर्षक गोलमा परिणत गरिदिएका थिए ।

विराटनगर सिटीका प्रशिक्षक यान लले पनि बुटवल लुम्बिनीविरुद्ध २–२ मा टुंगिएको खेलमा रेफ्रीको खुबै आलोचना गरेका थिए । उनले नेपालको जस्तो खराब रेफ्री कहिल्यै नदेखेको दाबी गर्दै देशको फुटबलको स्तर उकास्ने एनएसएलमा विदेशी रेफ्री ल्याउनुपर्ने जिकिर पनि गरेका थिए । अरु टिमका प्रशिक्षकले पनि रेफ्रीको धेरथोर आलोचना गरेका छन् । खासमा पेनाल्टी प्रहार गर्ने बेला गोलकिपर अगाडि बढेको अवस्थालाई रेफ्री र सहायक रेफ्रीले त बिर्सिएका छन् नै, टिमका प्रशिक्षकहरूले पनि याद गरेका छैनन् ।

प्रशिक्षक नै बर्खास्त

लगातार चार खेलसम्म जितविहीन रहेपछि ललितपुर सिटीले मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गर्‍यो । टिमका मालिकमध्येका एक कल्याण गुरुङले आइतबार चितवनविरुद्धको खेल गोलरहित सकिएलगत्तै हुमागाईंलाई बर्खास्त गरेको बताए । त्यसको कारण टिमको खराब नतिजा भएको पनि उनले बताए । पछि हुमागाईंले राजीनामा दिएको दाबी गरे । तर, त्यसअघि नै टिमबाट बर्खास्त गरिएको समाचार छ्याप्छ्याप्ती आइसकेको थियो । व्यावसायिक फुटबलमा टिमको असफलतामा प्रशिक्षकलाई हटाउने परम्परा नै छ र एनएसएलमा यसरी बर्खास्त हुने पहिलो प्रशिक्षक भए हुमागाईं । अमेरिकाबाट आएका उनलाई हटाइएपछि सहायक प्रशिक्षक राजु तामाङलाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

मनीषको ‘किलर’ हेडर

दक्षिण कोरियाको फुटबल एकेडेमीमा प्रशिक्षण गरिरहेका फरवार्ड मनीष डाँगी निकै मिहिनेती छन् । भलै उनको खेल शैली बुझ्ने खेलाडी टिममै कमै देखिन्छन् । उनलाई एनएसएलमा विराटनगर सिटीले स्थानीय खेलाडीको रूपमा भित्र्याएको हो । सब्स्टिच्युटको रूपमा नियमित खेलिरहेका उनी पनि चितवनविरुद्ध सन्तोषले गरेको गोलमा मुख्यपात्र हुन् । कप्तान रजिन धिमालको फ्रि–किकमा लगभग बाहिर गइसकेको बललाई उनले मुस्किलले हेड गर्दै लाइनबाट भित्र ल्याएका थिए । अशोक थापाले नियन्त्रण गरेको त्यो बललाई चितवनका डिफेन्डर जोनाथन रुडीले हेडद्वारा क्लियर गर्ने प्रयास गरे । त्यही बल पाएपछि सन्तोषले सुन्दर गोल गरेका थिए ।

प्रकाशित : वैशाख २२, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?