१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

च्याम्पियन इन्टरका नायक लुकाकु

लुकाकु इन्टर आएयता फेरिएका खेलाडी भए । उनको प्रदर्शन राम्रो थियो, त्यसैले त इन्टर सिरी ‘ए’ मा युभेन्ट्सको प्रभुत्व तोड्न सफल रह्यो ।
द गार्डियन

मिलान — भर्खरै इन्टर मिलानले इटालीको सिरी ‘ए’ उपाधि जित्यो । यसका लागि उसले ११ वर्ष कुर्नुपरेको थियो । यो सफलताका एक नायक रहे रोमेलु लुकाकु । सन् २०१९ मा उनी इन्टर पुगेका थिए ।

च्याम्पियन इन्टरका नायक लुकाकु

म्यानचेस्टर युनाइटेड छाडेयता उनीमाथि आफूलाई सिद्ध गर्ने चुनौती थियो । सँगै ७ करोड ४० लाख पाउन्ड मूल्यको दबाब पनि । यसअघि इन्टरका लागि अगाडि खेल्ने प्रमुख खेलाडी थिए, माउरो इकार्डी । लुकाकुलाई उनको प्रदर्शन पनि उछिन्नु थियो ।

त्यसो त मैदानबाहिर यी अर्जेन्टिनी खेलाडी इकार्डी प्रायः विवादमा परिरहन्छन् । तर मैदानभित्र उनी गज्जबकै हुने गर्छन् । त्यसैले उनले १ सय ६९ खेलमा इन्टरका लागि १ सय ११ गोल गरे । लुकाकुले म्यानचेस्टर युनाइटेडमा छँदा दुई वर्ष ९६ खेलमा ४२ गोल गरे । त्यसमध्ये एक चौथाइ गोल सुरुआती दुई महिनामा थियो । त्यसपछि उनले गोल गर्न जुन सुस्तता देखाए, त्यसको आलोचना नै भयो । अन्त्यतिर उनको बलमाथिको नियन्त्रण गुमेको थियो, लगातार राम्रा मौकामा पनि चुकिरहेका थिए ।

तर २७ वर्षीय लुकाकु इन्टर आएयता फेरिएका खेलाडी भए । उनको प्रदर्शन इकार्डीभन्दा राम्रो थियो, त्यसैले त इन्टरले सिरी ‘ए’ मा युभेन्ट्सको लगातार ९ वर्षको प्रभुत्व तोड्न सफल रह्यो । सन् २०१८–०१९ मा इन्टर युभेन्ट्सभन्दा २१ अंकले पछाडि रह्यो । एन्टोनियो कोन्टेको नेतृत्वमा गत वर्ष इन्टरले उपाधिका लागि चुनौती त दियो, तर एक अंकले मात्र पछाडि पर्‍यो । यसपल्ट भने उपाधि नै कब्जा गर्‍यो । एभरटन र म्यानचेस्टरमा छँदा उनी प्रायः एक्लो स्ट्राइकर हुन्थे ।

इन्टर मिलानका रोमेलु लुकाकु र लाउटारो मार्टिनेज । यो सिजनमा यो जोडी खुबै जम्यो । तस्बिर : एपी

इन्टरले ३–५–२ को शैलीमा खेलेको थियो र यसमा उनका साथी थिए, लाउटारो मार्टिनेज । लुकाकुका लागि मार्टिनेज राम्रो पार्टनर भए । जतिबेला लुकाकु केही पछाडि झरेर खेल्थे, त्यतिबेला मार्टिनेज अगाडि बढ्थे । दुवैले गोलकर्ता र गोल सिर्जनाकर्ता दुवै भूमिकामा खेले । उनीहरूले ६४ पल्ट सँगै सुरुदेखि खेले । त्यसबीच एकले अर्कालाई १८–१८ पल्ट गोलको अवसर बनाए । अनि दुवै मिलेर ८७ पटक गोल नै गरे ।

म्यानचेस्टरमा रहेका बेला लुकाकुको सबैभन्दा बढी आलोचना भएको पक्ष थियो, ठूला विपक्षी टिमविरुद्ध गोल गर्न नसक्नु । इंग्लिस प्रिमियर लिगका ठूला ६ क्लबबीचको खेलमा लुकाकुले सुरुदेखि खेल्दा १६ खेलमा एकै गोल मात्र गरे । गोलमा सहयोगी भूमिका भने चार थियो । बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग र सेभियाविरुद्ध युरोपा लिगमा पनि लुकाकुको प्रदर्शन फितलो रह्यो । यो सिजन भने उनको यस्तै प्रदर्शन फरक रह्यो ।

एसी मिलान, एटलान्टा, युभेन्ट्स, नेपोली, लाजियो र एएस रोमाविरुद्ध उनको प्रदर्शन राम्रो रह्यो, यी ६ मुख्य विपक्षी टिमविरुद्ध उनले आठ गोल गरे । आठ गोलको अवसर पनि सिर्जना गरे । फेरि म्यानचेस्टरमा रहेका बेला उनको शरीरलाई लिएर पनि ठूलै आलोचना भएको थियो, उनी नमज्जासँग मोटाएको देखिएका थिए । त्यसैले इन्टर आएयता उनी फरक खुराकीमा बसे, सेतो मासु बढी खान्थे । यसले उनी केही दुब्लाए र खेल पनि राम्रो भयो ।

प्रकाशित : वैशाख २२, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?