श्रीलंकालाई टेस्ट शृंखला- खेलकुद - कान्तिपुर समाचार

श्रीलंकालाई टेस्ट शृंखला

एएफपी

पालेकेले — श्रीलंकाले बंगलादेशलाई दोस्रो टेस्टमा सोमबार २ सय ९ रनले पराजित गरेर दुई खेलको शृंखला १–० ले जितेको छ ।

जितका लागि ४ सय ३७ रनको कठिन लक्ष्य पाएको बंगलादेश पाँचौं दिनको पहिलो सत्र २ सय २७ रन बनाएर अलआउट भयो । पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

दोस्रो टेस्टमा भने श्रीलंकाले टस जितेर ब्याटिङ गरेयता खेल नियन्त्रणमा लिएको थियो । श्रीलंकाले सात विकेट गुमाएर ४ सय ९३ रन बनाएपछि त्यसको जवाफमा बंगलादेशले २ सय ५१ रनमात्र बनाएको थियो । तर श्रीलंकाले बंगलादेशलाई फलोअंनका लागि बाध्य पारेन र आफ्नो दोस्रो इनिङ्समा ९ विकेट गुमाएर १ सय ९४ रन जोडेको थियो ।

परेराको संन्यास

श्रीलंकाका पूर्व कप्तान थिसारा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । श्रीलंकाको एकदिवसीय टिमको नेतृत्व गरेका ३२ वर्षीय अलराउन्डरले श्रीलंकाली क्रिकेट बोर्डलाई आफ्नो संन्यासबाट जानकारी दिएका छन् ।

उनले नयाँ पुस्ताका खेलांडीलाई मौका दिन संन्यास लिएको बताएका छन् । परेराले १ सय ६६ एकदिवसीय खेलेर २ हजार ३ सय ३८ रन बनाएका छन् । उनले १ सय ७५ विकेट लिएका छन् ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

हामी धेरै डाक्टरहरू

कुखुरा–बाख्रा बेचेर हुन्छ कि घर–जमिन बन्धकी राखेर, नानीहरूलाई पढाउनैपर्छ । जुन दिन हामी ज्ञानको खेती गर्छौं, त्यही दिनदेखि हरेक गोर्खा–नेपालीको आङमा घाम लाग्छ ।
महेन्द्र पी‍. लामा

डाक्टरको उपाधि पाउन कसलाई रुचि नलाग्ला ! सबैको मन खाने उपाधि हो यो । कोही मानव चिकित्सा अध्ययन गरेर चिकित्सक हुँदा डाक्टर बन्छन् । कोही पशु चिकित्सामा निपुणता हासिल गर्दा डाक्टर बन्छन् त, कोही अध्ययन–खोज–अन्वेषणमा व्याप्त भएर थेसिस लेख्दा डाक्टर अफ फिलोसफी (पीएचडी) बन्छन् ।

अर्कोतिर, कसैले अत्यन्तै गहकिलो समाजसेवा वा विशेष योगदान दिँदा विश्वविद्यालयहरूले मानार्थ (अनरेरी) डाक्टरको उपाधि प्रदान गर्छन् । डाक्टर हुनु सहज काम होइन । डाक्टर भएपछि त्यो उपाधि अनुरूप काम गर्नु, सेवा पुर्‍याउनु झनै सहज हुँदैन । कारण, धेरै जनाले डाक्टरको उपाधि नपाईकनै डाक्टरले गर्ने काम गरिरहेका हुन्छन् । अरू धेरैले डाक्टरले भन्दा पनि निकै गहिरो प्रतिबद्धता एवं कटिबद्धताका साथ जनसेवा, राष्ट्र/विश्वको सेवा गरिरहेका हुन्छन् । यस्ता सेवकहरू व्यापार–वाणिज्य, साहित्य–संस्कृति, पत्रकारिता, खेल–संगीत–कला, ओखतीमूलो, सरकारी र निजी क्षेत्र, राजनीति–शिक्षण आदि सबैसबै क्षेत्रमा पर्याप्त संख्यामा पाइन्छन् । कसैकसैले त यति गहकिलो र सबैलाई पुग्ने काम गरिरहेका हुन्छन् कि, उनीहरूलाई ‘जी पाँच’ जस्तै ‘डाक्टर पाँच’ को उपाधि पनि दिनुपर्ने हुन्छ ।

डाक्टर हुने सपनालाई सबैले विपनामा साकार बनाउन सक्तैनन् पनि । अर्कोतिर, आँट, भरोसा, परिष्कृत सोच र लक्ष्यैतिर अघि बढे डाक्टर हुन पनि सकिने रहेछ । घुँडै धस्नुपर्छ डाक्टरको उपाधि पाउनलाई । र नै निचोरिएर निस्किएका डाक्टरहरू खप्पिस समाजसेवक पनि हुन पुग्छन् । कसैको घरमा सबै डाक्टर हुन्छन् । काठमाडौंका प्राध्यापक विद्यावीर सिंह कंसाकार आफूचाहिँ पीएचडी अनि श्रीमती र छोरा–छोरी चिकित्सक । घरभित्रै डाक्टरैडाक्टर ! केवल दोस्रो पिँढीदेखि शिक्षित भएको यस परिवारको समाजमा योगदान प्रशंसनीय छ । अर्कोतिर, देवकोटा–लेखनाथ–बालकृष्ण–पारिजात, नारायण गोपाल–अम्बर गुरुङ, बीपी–कृष्णप्रसाद–मनमोहन, अनुराधा कोइराला आदिले डाक्टर नै नभई थाकथाक, युगयुग पुग्ने गरी मन छुने कार्य गरेका छन् । पत्रकारितामा अप्ठ्यारो–मीठो–फराकिलो स्थितिमा गतिलै योगदान दिएका छन्, बितेर गएका र वर्तमानका कतिपय पत्रकारले पनि । विश्वविद्यालयहरूले यिनीहरूलाई त निम्त्याउँदै, आलिंगन गरेर डाक्टरको उपाधि दिनुपर्ने हो ।

लगभग ३९ वर्षअघि, जवाहरलाल नेहरू विश्वविद्यालयबाट एमए सक्नासाथ मलाई दार्जिलिङको प्रसिद्ध सन्त जोसेफ कलेजका प्राचार्यले लेक्चररको नियुक्तिपत्र दिँदै ‘अब तिमीले शिक्षण पेसा सुरु गर’ भनेपछि म हर्षले गदगद हुँदै घर पुगें । अर्थशास्त्रमा लेक्चररको उपाधि, परिवारले गर्व गर्ने भए ! भोलिपल्ट बिहानै पिताजीले आफ्नो हाल्डा टाइपराइटर मेसिनमा टकटक गर्दै टाइप गरेको सुनें । ‘तँ पनि आइज, यो पत्र लिएर कलेजका प्राध्यापकलाई आजै दिइहाल्’ भनेपछि मनमा कताकता चिसो त पस्यो, तैपनि सोचें— सायद प्रथम नोकरी जोइन गर्ने स्वीकृतिपत्र होला । नभन्दै, पत्रमा हस्ताक्षर गर्नुअघि पढेको त लेखिएको रहेछ, ‘अझै अध्ययन गर्नका लागि जेएनयू फर्कंदै छु र लेक्चररको पद सम्हाल्न सक्तिनँ । प्राचार्य फादर पापाडिललाई धेरै धन्यवाद ।’ त्यति नै बेला त झोंक चल्यो ।

अल्लारे–वल्लारे जवान म, केही गर्न नसक्ता पिलपिल गर्दै आँखाबाट आँसु झर्‍यो । अनि त मेरो डाक्टरको यात्रा त्यहीँबाट सुरु भयो । एउटा चिठीले नै मलाई डाक्टर बनायो, भारतको प्रसिद्ध जवाहरलाल नेहरू विश्वविद्यालयबाट । ह्याप्पी भ्याली चिया कमानको विन्डसर लजको त्यो सानो कोठामा पिलपिल झरेको आँसुले विक्षिप्त पारेछ र नै हाम्रो चार जनाको सानो परिवारमा पनि दुवै छोरीहरू, काफल अनि टोटोला, पनि डाक्टर भए । माता–पिता, प्रथम पिँढी, शिक्षा पाएका भाग्यमानी व्यक्तिहरू थिए । आफ्नो भाग्य नै बाँडे उनीहरूले म र अन्यसँग । खाली खुट्टै हरेक दिन पन्ध्र–बीस किलोमिटर उकालो–ओरालो हिँडेर स्कुल गएका माता–पिताले मलाई रेलगाडीमा चढाएर दिल्ली पुर्‍याए र डाक्टर बनाए । र दोस्रो पिँढी पनि शिक्षित भयौं । हामीले छोरीहरूलाई रेलगाडीसँगसँगै हवाईजहाजमा चढाई तेस्रो पिँढी शिक्षित बनाउँदै डाक्टर बनायौं । हामी यसरी तेस्रो पिँढी मात्रै शिक्षित भएका भारतीय गोर्खा नेपालीभाषीहरू बाह्र–पन्ध्र पिँढीदेखि नै शिक्षित भएका बंगाली–तमिल–मराठी–तेलुगु आदिसँग होडबाजी गर्ने भयौं । र विदेशीका पनि त्यति नै पिँढी खाएकाहरूसँग आङमा आङ मिलाएर, आँखै जुधाई टक्कर दिने भयौं । केवल शिक्षा, एउटा पत्रले लगाएको बौद्धिक आगो, एउटा टाइपिङ मेसिनले दिएको सामाजिक सन्देश ! हामी भारतीय गोर्खा र विश्वमा छरिएर बसेका नेपालीहरूलाई डाक्टर बनाउने, पिँढी सपार्ने र हाम्रा नानीहरूलाई होडबाजी–टक्कर दिने बनाउने एउटै मन्त्र हो— शिक्षा र ज्ञान । यसैले कुखुरा–बाख्रा बेचेर हुन्छ कि घर–जमिन बन्धकी राखेर, नानीहरूलाई पढाउनैपर्छ । जुन दिन हामी ज्ञानको खेती गर्छौं, त्यही दिनदेखि हरेक गोर्खा–नेपालीको आङमा घाम लाग्छ ।

चिकित्सक डाक्टरहरू समाज–राष्ट्र–विश्वका मुटु हुन् । बिरामीहरूका निम्ति ईश्वर नै हुन् । मर्न कसैलाई मन पर्छ र, मर्नलाई नै जन्मेको भए पनि ! यो मन नपर्नु र एक दिन मर्न नै पर्नु बीचको दूरीमा चिकित्सक डाक्टर उभिएको हुन्छ । यतापट्टि परिवार अनि अर्कोपट्टि यमराज । डाक्टरको भूमिका अहं तर जटिल । यसैले मानव समाजले डाक्टरहरूको उत्सव मनाउँछ, मनमनै उनीहरूको पूजा पनि गर्छ । बिमार व्यक्ति चिकित्सक डाक्टरहरूको बोली सुन्दै र अनुहार देख्दै ठीक हुन्छ, ओखतीमूलो त पछि आउँछ । कोरोना महामारीमा डाक्टरहरूले प्रस्तुत गरेका अनुकरणीय मानवगुण सबैले टिपेर राखेका छन्, फक्रिएका सुन्दर फूलहरूले देवी–देवताको थान सजाएझैं ।

अभाग्यवश, कतिपय चिकित्सक डाक्टरहरू पनि महाजनजस्तै व्यापार–वाणिज्य गर्ने गर्छन् । शिर दुख्दा पनि शरीरभरिको स्क्यानिङ गर्न लगाउँछन् । औंला मर्किंदा पनि हात र खुट्टा नै काटुँला जस्तो गर्छन् । बिमार व्यक्तिका परिवारलाई भय–त्रासले जानीजानी ग्रसित बनाउँछन् र निम्बु निचोरे जस्तै पैसा माग्छन् । यस्ता अस्पताल र नर्सिङ होम पर्याप्त छन् जसले बिरामीको लाचारी र असहायपनको आत्मामै भाला गाड्छन् अनि आफू चाहिँ पैसाको मालाले घरका स्वर्गीयहरूका तस्बिर सजाउँछन् । यस्ताहरू ठग्नै, लुट्नै जन्मेका हुन्छन् क्यारे !

पीएचडी हासिल गरेका डाक्टरले समाज–राष्ट्र निर्माण गर्ने दायित्व लिएका हुन्छन् । मैले आफ्नै आँखाले देखेको छु, कति समर्पित हुन्छन् यिनीहरू ! विद्यार्थीहरू कक्षाकोठा छोड्न मान्दैनन् यी डाक्टरहरू बोल्न थालेपछि । कोट्याईकोट्याई पढ्छन् यी डाक्टरहरूले लेखेका लेख–अध्याय–पुस्तकहरू । जीवनभरि ऋणी रहन्छन् विद्यार्थीहरू ।

अभाग्यवश, यहाँ पनि पीएचडी गर्ने कतिपय डाक्टरहरू पीएचडी नै विश्वको सबैभन्दा ठूलो उपाधि हो भन्ठानेर एकपल्ट डिग्री हासिल गरेपछि आफूलाई आडम्बर र दम्भको डोकोभित्र हाल्छन् । मैलेजति अरू कसैले जान्दैन भनेर ज्ञान लिन आएकाहरूलाई कुचो–झाडुले बढारिदिन्छन् । कक्षाकोठामा गई विद्यार्थीलाई आडम्बरको पाठ पढाउँछन् । हाम्रै आँखाअगाडि विश्वविद्यालयमा पीएचडीका नाममा यस्तो शिक्षक नियुक्त गरियो, जो कक्षाकोठामा विद्यार्थीहरूमाझ एपोलो सर्कसको जोकर नै भयो । उसलाई नेपाल राष्ट्रको विशेषज्ञका रूपमा नियुक्ति गरियो, जबकि उसले नेपालको मानचित्र पनि ठीकसँग देखेको थिएन । अनि यस्ताले कसरी ओखलढुंगा र सोलुखुम्बु पढाउन सक्छन् ! विशेषज्ञ भएर होइन, उसलाई कुनै अन्य कारणवश नियुक्ति दिइएको थियो ।

पिँढी–दर–पिँढी विद्यार्थीहरूले नेपाल राष्ट्रका बारेमा उल्टापाल्टा–टेढोमेढो, फेसबुक र ट्वीटरले दिने ज्ञान पाउँछन्, गलत पीएचडी पाएका यस्ता डाक्टरहरूबाट । पीएचडी पाउनु भनेको दाल–भात–डुकुको आफ्नो समस्या हल गर्नु होइन । यो समस्या त छिचिमिरा–मालसाँप्रो–भालेमुंग्रोले पनि डाक्टर नभई हल गर्छन् । डाक्टर हुनु भनेको विद्यार्थीहरूलाई ज्ञानले ओतप्रोत पार्नु हो, ठूलो सोच्ने बनाउनु हो र सामाजिक दिशानिर्देश गर्नु हो; अरूले लेखेका कुरा पढाए पनि आफूले सोचेका, भोगेका, खोज–अन्वेषण गरेका कुराहरू अघि राखेर विद्यार्थीहरूको कौतूहललाई उचाइमा पुर्‍याउनु हो; उनीहरूका ज्ञानको तृष्णा मेटाउन एक गाग्रो धाराको पानी अघि राखिदिनु हो ।

अर्कोतिर, धेरै धनको मालिक तर ज्ञानमा गरिब र निर्धनहरू डाक्टरेट डिग्री पाउन आतुर रहन्छन् । कतिले किन्छन् पनि डिग्री, छिटो–सस्तोमा डिग्री बेच्ने विश्वविद्यालयहरूबाट । उत्तर–पूर्वी राज्य मेघालयको एउटा निजी विश्वविद्यालयले यस्ता डिग्री बेचेको थाहा पाएपछि भारतको विश्वविद्यालय अनुदान आयोगले मलाई जाँच समितिमा पठायो । त्यहाँ मैले डिग्रीको जुन व्यापार देखें, छाँगाबाट खसेजस्तै भएँ । राजनीतिक नेताहरू, विशेषतः अति नै कम पढेकाहरू आफ्नो रूखो र नितान्त कम ज्ञानको भण्डार छिपाउनलाई डाक्टरेट डिग्री माग्ने गर्दा रहेछन् । नदिँदा र कठिन सर्त राख्दा विश्वविद्यालयको बदनाम गरिदिने रहेछन् । विश्वविद्यालयका अधिकारीहरूलाई घिनैलाग्दो झुटो केस पनि लगाइदिने रहेछन् । कतिले आफूलाई डाक्टर भन्दै अहंकारको दुन्दुभि बजाउने रहेछन् । यही कारण डाक्टरजस्ता मानक डिग्रीहरू दिन विश्वविद्यालयले अति नै उच्च मापदण्ड राख्नुपर्छ । वर्षौं दुःख गरेर, पसिना चुहाएर डिग्री आर्जन गर्ने र पैसा खुवाएर, लालच देखाएर, धम्कीले फन्को मारेर मानक पीएचडी डिग्री हत्याउनेहरूबीचको दूरी अति नै लामो बनाउनुपर्छ ।

पशु चिकित्सक डाक्टरहरू प्रकृतिले नै डाक्टर डिग्री दिएका व्यक्ति हुन् । पशुहरूका भाषा, जात, जाति, संस्कृति एवं सृजनाबारे कणकण बुझेका, रौंरौं भिजेका अनि मेटिँदै गएका पाइलाहरू केलाउने यी पशु चिकित्सक डाक्टरहरूको धैर्य, अनुभव र ज्ञान अति नै मर्मस्पर्शी हुन्छ । पशु पीडाले रुँदा आफ्नै छोरी–छोरा–आफन्तको वेदना साँच्ने यी डाक्टरहरू पशु–प्राणी मुस्कुराउँदा आफ्नो आँतबाटै खितखित हाँस्छन् । पशु–प्राणी अब नबाँच्ने रहेछ, किन पीर–पीडामा चोबल्नु भनेपछि यिनै डाक्टरहरूले ‘पुट–टु–स्लिप’ अथवा सधैंभरिका लागि सन्चोले सुत्ने सुई लगाइदिन्छन् । आईसीयू र भेन्टिलेटरमा हत्तपत्त जानै दिँदैनन् । यी डाक्टरहरूलाई हात्ती–घोडा–बाघ–भालु–हाप्सिलो–गाई–कुकुर–बिरालो–साँप सबैले टाढैबाट चिन्छन् र नै छेउमा आई लडीबडी गर्छन् । मानव चिकित्सकभन्दा व्यापक माग भएका यी डाक्टरहरू पर्वत, जंगल, गाउँ, बस्ती, भीर, पखेरा सबैसबै स्थानमा पुगेका हुन्छन् । जात–जाति–रङ–धर्म–भाषा छुट्याउँदैनन् यी डाक्टरहरू ।यी सबैसबै डाक्टरहरूको सदैव जय होस् ! मानव–पशु, ज्ञान–विज्ञान, कला–संस्कृति, खेल–संगीतमा यी डाक्टरहरू सदैव मुस्कुराइरहून् । शीतलता प्रदान गर्दै रहून् ।

प्रकाशित : वैशाख २१, २०७८ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×