दशकपछि इन्टरलाई सिरी ‘ए’

एएफपी

मिलान — इन्टर मिलानले आइतबार ११ वर्षयता पहिलोपल्ट इटालियन सिरी ‘ए’ को उपाधि आफ्नो नाममा पक्का गरेको छ । लिगमा दोस्रो स्थानमा रहेको एटलान्टाले सासौलोसँग १–१ बराबरी खेलेपछि इन्टरले लिग जित्ने निश्चित भएको हो । यसअघि इन्टरले क्रोटोनियालाई हराएपछि लिगमा चार चरणको खेल बाँकी छँदा १३ अंकको अग्रता लिएको थियो । 

दशकपछि इन्टरलाई सिरी ‘ए’

गत सिजन युभेन्ट्सले लिग जिन्दा इन्टर एक अंकको दूरी लिएर दोस्रो स्थानमा रहेको थियो । तर यसपल्ट एन्टोनियो कोन्टेको इन्टरले युभेन्ट्सको लगातार नौपल्ट लिग उपाधि जितेको क्रमलाई भंग गरेको छ । सन् २०१० मा इन्टरले पछिल्लो पटक लिग उपाधि जितेको थियो । त्यतिबेला इन्टरले जोसे मोउरिन्होको नेतृत्वमा लिग खेलेको थियो । कोन्टेले प्रशिक्षकका रूपमा सिरी ‘ए’ जितेको यो चौथोपल्ट हो । सन् २०११ देखि २०१४ बीच युभेन्ट्सले लगातार तीन लिग उपाधि जित्दा उनी नै प्रशिक्षक थिए । सन् २०१७ मा चेल्सीले इंग्लिस प्रिमियर लिग जित्दा पनि कोन्टे व्यवस्थापक थिए ।

इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे। तस्बिर : एपी

जनवरीमा इन्टरले युडिनेजीविरुद्धको खेल गोलरहित बराबरीमा चित्त बुझाएपछि टिम शीर्षस्थानमा रहेको एसी मिलानसँग दुई अंकले पछाडि थियो र लिग मध्यभागमा थियो । त्यसपछि इन्टरले लिगमा लगातार ११ खेल जित्यो र शीर्षस्थानमा आफ्नो पकड बलियो बनाउन सफल रह्यो । यससँग युभेन्ट्सको लगातार १० औं लिग जित्ने सपना पनि टुटेको हो । कोन्टेले इन्टरलाई ठोस रक्षापंक्तिसहित ३–५–२ शैलीमा खेलाएको छ । यसक्रममा लिगका ३४ खेलमा २९ गोलमात्र खाएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?