२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

घरेलु भूमिमा ११ वर्षपछि च्याम्पियन

नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई सानदार शैलीमा १ सय ४२ रनले पराजित गर्‍यो
विनोद पाण्डे

काठमाडौँ — कुशल भुर्तेलको ब्याटिङ प्रभाव कायमै रहँदा नेपालले उच्च स्कोर बनाउनुका साथै सबैभन्दा ठूलो विजय हात पार्दै बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै सानदार शैलीमा उपाधि जितेको हो ।

घरेलु भूमिमा ११ वर्षपछि च्याम्पियन

कुशलले ७७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३ विकेट गुमाई २ सय ३८ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोरको जवाफमा आएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमै समेटियो ।

नेपालको जगमगाउँदो ब्याटिङले फाइनलसम्म निरन्तरता पायो । कुशल मल्लले अर्धशतक बनाए भने दीपेन्द्रसिंह ऐरीले ४८ रनको अविजित इनिङ्स खेले । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको ठोस इनिङ्स खेल्नुअघि आसिफ शेखले सुरुआतमै २ छक्का प्रहार गर्दै १६ रन बनाएका थिए ।

‘जहिले पनि जित्दाको अनुभूति राम्रो हुन्छ, तर खेलाडीले जुन हिसाबले उपाधि जिते त्यसले मलाई आश्चर्यमा पारेको छ । यस्तो लाग्यो उनीहरूले आफ्नो उत्कृष्ट खेल फाइनललाई साँचेर राखेका थिए,’ नेपालको प्रशिक्षकका रूपमा पहिलो प्रयासमै उपाधि जितेपछि डेव ह्वाटमोरले भने, ‘नेपाली खेलाडीले निकै राम्रो खेलेका छन्, उनीहरू ठूला खेलका लागि तयार छन् ।’

जितपछि प्रशिक्षकलाई अँगाल्दै कप्तान ज्ञानेन्द्र ।

रनको हिसाबमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो जित हात पारेको हो । सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले यसअघि भुटानमाथि १ सय ४१ रनको जित हात पारेको थियो । सोही खेलमा बनाएको २ सय ३६ रन नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यसअघिको उच्च स्कोर थियो । नेदरल्यान्ड्सले पनि रनको हिसाबमा सबैभन्दा ठूलो हार भोगेको हो ।

नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको हो । नेपालले पछिल्लो पटक घरेलु मैदानमा ११ वर्षअगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आफ्ना खेलाडीहरूले जसरी खेले, उपाधि जिते त्यो निकै उत्साहप्रद रहेको र उपाधि बोनसजस्तै भएको बताउँछन् ।

‘विकेट राम्रो भएकाले पनि हुनसक्छ, नेपालले सुरुदेखि सकरात्मक क्रिकेट खेल्यो । ब्याटिङ, बलिङ, फिल्डिङ सबै राम्रो थियो,’ ज्ञानेन्द्रले भने, ‘टोलीमा धेरै युवा खेलाडी छन् । यसले आउने दिनमा उनीहरूले नेपाली क्रिकेटलाई राम्रो सन्देश दिएका छन् । उनीहरूलाई राम्रोसँग ग्रुम गर्ने हो भने नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ ।’

डेब्युमै चम्किएका कुशल भुर्तेल म्यान अफ द सिरिज भएपछि पल्सर मोटरसाइकलसाथ ।

नेदरल्यान्ड्सलाई सानो स्कोरमा समेट्नेक्रममा करण केसीले ३, कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले ३ ओभरमा ११, कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चे । अविनाश बोहराले १ विकेट लिए । नेदरल्यान्ड्सका माथिल्लोक्रमका दुई ब्याट्सम्यान टोबाइस भिसे र बास डे लिडलाई नेपाली फिल्डरले रनआउट गरे ।

नेदरल्यान्ड्सबाट सेबास्टियन ब्राटले २६ रन बनाई अविजित रहे । म्याक्स ओ’डाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए । कुशल भुर्तेलको क्याच १२ रनमा छाडेपछि कुनै पनि समय खेल आफ्नो पक्षमा नआएको नेदरल्यान्ड्सका कप्तान सिलारले बताए । ‘नेपालले त्यसपछि उत्कृष्ट ब्याटिङ गर्‍यो । फाइनलमा २ सय ३९ रनको लक्ष्य निकै चुनौतीपूर्ण हो । नेपालले विगतभन्दा ट्वान्टी–२० खेल्ने शैली नै परिवर्तन गरेको छ ।’


नेपालले सुसन भारीको स्थानमा अविनाशलाई प्लेइङ ११ मा राख्दै ४ तीव्र गतिका बलर खेलाएको थियो । स्पिन विशेषज्ञका रूपमा सन्दीप लामिछानेमात्र खेलेका थिए । नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याउँदा कुशलले ५३ बलको इनिङ्समा ८ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।

प्रकाशित : वैशाख १२, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?