४८ घण्टामै डुब्यो ईएसएल

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईएसएल हुन नदिन कानुनी अड्चन तेर्स्याएका थिए
द गार्डियन

लन्डन — युरोपेली सुपर लिग (ईएसएल) मंगलबार राति नै मृत्यु शैय्यामा पुग्यो । ६ इंग्लिस क्लबले नाटकीय रूपमा प्रतियोगिताबाट नाम फिर्ता लिए । समर्थक र सरकार दुवैबाट आलोचित भएपछि अरू उपाय नै थिएन ।

४८ घण्टामै डुब्यो ईएसएल

यस्तोमा घोषणाको ४८ घण्टापछि नै चार अर्ब ५० करोड डलरको लिग डुबेको हो । सबैभन्दा पहिले चेल्सीले नाम फिर्ता लियो । त्यसपछि म्यानचेस्टर सिटीले यही काम दोहोर्‍यायो । अबेर रातिसम्म आर्सनल, म्यानचेस्टर युनाइटेड, लिभरपुल र टोटेनहम पनि ईएसएल नखेल्ने निर्णयमा पुगे ।

यो ‘यू टर्न’ ले क्लबका मालिक र समर्थकबीचको सम्बन्ध नाजुक बनेको छ । नाजुकभन्दा पनि खराब भने हुन्छ । म्यानचेस्टरका कार्यकारी उपाध्यक्ष एड उडवर्डले राजीनामा पेस गरिसकेका छन् । उनले आफ्नो स्थिति उपयुक्त देखेनन् । उनी त ईएसएल सोचका एक मुख्य जिम्मेवार थिए । नाम फिर्ता लिएका क्लबमध्ये धेरैमा अझै दम्भ देखियो, आर्सनललाई छाडेर । आर्सनलले भनेको छ, ‘हाम्रो उद्देश्य यस्तो खराब स्थिति सिर्जना गराउने पक्कै थिएन । हामीले भुल गरेका छौं, त्यसैले माफी माग्छौं ।’

कम्तीमा टोटेनहम अध्यक्ष डानियल लेभीले पनि माफी मागेका छन् । उनले आफ्ना समर्थकसँग भनेका छन्, ‘ईएसएल खेल्ने निर्णयले निम्त्याएको स्थिति खेदजनक छ ।’

सबैभन्दा बढी आलोचना त लिभरपुल र यसका मालिक जोन डब्लू हेनरीकै भयो । उनले पछि भने माफी मागेका छन् । उनले भनेका छन्, ‘नयाँ प्रतियोगिता त्यतिबेलासम्म सम्भव हुने छैन, जतिबेलासम्म यसमा हाम्रा समर्थकको समर्थन हुने छैन । पछिल्लो ४८ घण्टामा सबै समर्थकले यो प्रतियोगिता ठीक छैन भनेका छन् । मैले यो सुनें, राम्रोसँग सुनें । पछिल्ला सबै नकारात्मक घटनाक्रमका लागि म माफी चाहन्छु, मैले समर्थकलाई निराश पारें ।’

बुधबार बिहानसम्म फेरि खबर आएको छ, ईएसएल ठ्याक्कै मरेको छैन । अब यसले नयाँ रूप लिनेछ । यसको अर्थ यो प्रतियोगिता अझै अगाडि बढ्न सक्नेछ । ईएसएलले भनेको छ, ‘इंग्लिस क्लबले छाडे, किनभने उनीहरूमाथि दबाब थियो । तर हामी अझै विश्वस्त छौं, यो प्रतियोगिता युरोपेली नियम र कानुनअनुसार नै वैधानिक छ । हालै तयार भएको स्थितिअनुसार अब के गर्ने हो, त्यो निर्णय गर्नेछौं । हाम्रो उद्देश्य फुटबल समर्थकलाई अब्बल दर्जाको खेल पस्कने नै हो । अनि पूरा फुटबल समाजसामु व्यवस्थित आर्थिक लेनदेन गर्ने हो ।’

विश्व फुटबलका लागि फुटको संघार तयार भएको स्थितिमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईएसएललाई कानुनी अड्चन र धम्की तेर्स्याएका थिए । उनले इंग्लिस फुटबल संघ, प्रिमियर लिग र समर्थकका प्रतिनिधिसँगको छलफलमा भनेका रहेछन्, ‘ईएसएल हुन नदिन हामीले कानुन नै बनाउने छौं र यो अहिले नै बन्नेछ ।’

ओल्ड ट्राफोर्डमा ईएसएसको विरोधमा राखिएको ब्यानर । तस्बिर : एएफपी

जोन्सनले यसबारे धेरै जानकारी भने दिएनन् । ठीक त्यही बेला चेल्सीका हजार जति समर्थकले प्रतियोगिताको विरोधमा प्रदर्शन नै गरे । क्लबका अध्यक्ष ब्रुस बकले भनिहाले, ‘अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लाग्ने हो भने चेल्सीले ईएसएल खेल्ने छैन ।’ लगत्तै सिटीले पनि नखेल्ने निर्णय गरेको थियो । यसअघि क्लबका व्यवस्थापक पेप ग्वार्डिओलाले भनेका थिए, ‘त्यस्तो प्रतियोगिताको कुनै अर्थ छैन, जहाँ सफलता, मिहिनेत र पुरस्कारको कुनै अस्तित्व छैन ।’

सिटीको ‘यू टर्न’ पछि युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्जान्डर सेफरिनको भनाइ बाहिर आयो । उनले भने, ‘युरोपेली फुटबलमा सिटीलाई फेरि स्वागत छ ।’

इन्टर र एट्लेटिको पनि बाहिरिए

इन्टर मिलान र एट्लेटिको म्याड्रिडले बुधबार युरोपेली सुपर लिग (ईएसएल) बाट नाम फिर्ता लिएका छन् । ६ इंग्लिस क्लबले प्रतियोगिता नखेल्ने घोषणा गरेपछि यी दुई क्लब पनि बाहिरिएका छन् । इन्टर मिलानले भनेको छ, ‘हामी घोषणा चाहन्छौं, हाम्रो क्लब अब युरोपेली सुपर लिगको एक टिम रहेन । हामी आफ्ना समर्थकको पक्षमा छौं ।’ इटालियन क्लब इन्टरमा चिनियाँ लगानी रहेको छ ।

यस्तै स्पेनिस क्लब एट्लेटिकोले भनेको छ, ‘हामीले औपचारिक रूपमा युरोपेली सुपर लिग नखेल्ने निर्णय गरेका छौं । हामीले प्रतियोगिता खेल्ने जुन परिस्थितिमा निर्णय गरेका थियौं, अब त्यो रहेन ।’

‘अब ईएसएल हुन्न’

युभेन्टसका अध्यक्ष आन्द्रे एगनेलीले इंग्ल्यान्डका ६ क्लबले युरोपेली सुपर लिगबाट नाम फिर्ता लिएपछि अब यो प्रतियोगिता हुने सम्भावना समाप्त भएको बताएका छन् । उनलाई यो प्रतियोगिताको सोचका एक प्रमुख जन्मदाता मानिएको छ । उनले बुधबार भने, ‘इमान्दारीपूर्वक भन्नैपर्छ, अब यो प्रतियोगिता हुन्न । अब त्यो परिस्थिति नै रहेन ।’ यसअघि उनले फुटबल अब व्यावसायिक र उद्योग भएको भन्दै सुपर लिगजस्तो प्रतियोगिता हुनुपर्छ भनेर दाबी गरिरहेका थिए ।

प्रकाशित : वैशाख ९, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?