त्रिकोणात्मक टी–२० शृंखला : नेपाल एक खेलअगावै फाइनलमा

काठमाडौँ — त्रिकोणात्मक टी–२० शृंखलामा नेपाल एक खेल अगाडि नै फाइनलमा प्रवेश गरेको छ । नेपालले फाइनलमा अब नेदरल्यान्ड्ससँग नै प्रतिस्पर्धा गर्नेछ ।

त्रिकोणात्मक टी–२० शृंखला : नेपाल एक खेलअगावै फाइनलमा

बुधबारको खेलमा नेदरल्यान्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल एक खेल अगावै फाइनल पुग्ने निश्चित भएको हो । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग बिहीबार खेल्दैछ । ३ खेलबाट मलेसियाको एक अंक मात्रै रहेको छ । ४ खेलबाट नेदरल्यान्ड्सको ५ अंक रहेको छ भने नेपालले ३ खेलबाट ४ अंक बनाएको छ ।

बिहीबारको खेलमा पराजित भए पनि नेपाल मलेसियाभन्दा अगाडि नै रहन्छ । यसअघि नेपालले मलेसियालाई ४७ बल बाँकी छँदै ९ विकेटले हराएको थियो । त्यस्तै पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल मंगलबार भने ३ विकेटले पराजित भयो ।

वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ११ औं ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल १३ ओभरमा झारिएको थियो ।

वर्षाले फेरि खेल प्रभावित भएपछि डीएल मेथडमार्फत मलेसियालाई १३ ओभरमा १२० रनको लक्ष्य दिइएको थियो । छैटौं ओभरको समाप्तिपछि मलेसियाको लक्ष्य पुन: संशोधन गरिएको थियो । अब मलेसियाले जितका लागि १० ओभरमा ९२ रन बनाउनुपर्ने थियो । तर मलेसियाले १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको हो ।

प्रकाशित : वैशाख ८, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?