नेपालमाथि नेदरल्यान्ड्सको सनसनीपूर्ण विजय

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशल भुर्तेल आफ्नो पहिलो तीन खेलमै लगातार अर्धशतक बनाउने पहिलो खेलाडी
विनोद पाण्डे

काठमाडौँ — पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली ब्याटिङको छुट्टै चमक छ । पहिलो दुई खेलको त्यही चमकलाई निरन्तर गर्दा नेपालले मंगलबार ट्वान्टी–२० अन्तर्राष्ट्रियको दोस्रो ठूलो स्कोर बनाएको थियो । नेपालले २ सय रन स्कोर नघाएको यो दोस्रो अवसरमात्र थियो ।

नेपालमाथि नेदरल्यान्ड्सको सनसनीपूर्ण विजय

उत्कृष्ट बलिङ र फिल्डिङ मानिएको नेपालले त्यही स्कोर भने रक्षा गर्न सकेन । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्दै ६ विकेटमा बनाएको २ सय ६ रनलाई नेदरल्यान्ड्सले ३ बलअगाडि २ सय ९ रन बनाएर ३ विकेटले खेल आफ्नो पक्षमा पारेको थियो ।

नेपालजस्तै नेदरल्यान्ड्सले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ सय रन पार गरेको दोस्रो अवसर नै हो । यसैक्रममा नेदरल्यान्ड्सले सर्वाधिक रन पछ्याउने आफ्नो कीर्तिमान बनाएको थियो । टोलीले सन् २०१९ मा स्कटल्यान्डसँग १ सय ९४ र २०१४ को विश्व ट्वान्टी–२० मा आयरल्यान्ड्ससँग १ सय ९३ रनको लक्ष्य पूरा गरेको थियो । २०१९ मा दुबईमा विश्व ट्वान्टी–२० छनोटमा बर्मुडासँग २ सय ६ रन बनाएयता नेदरल्यान्ड्सले पहिलोपल्ट २ सय रन स्कोर पार गरेको हो ।

बास डी लिडले अविजित ८१ रन बनाउँदै नेदरल्यान्ड्सलाई अविस्मरणीय विजय दिलाए । उनले ४२ बल खेली ७ चौका र ५ छक्का प्रहार गरे । बेन कुपरले ३५ बलमा ५५ रन बनाए । कप्तान पिटर सिलारले १५ बलमा ३१ रन बनाउने क्रममा सन्दीप लामिछानेलाई लगातार ३ छक्कासहित २० रन प्रहार गरेका थिए । सन्दीपले नेपालबाट सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४८ रन खर्चे । करण केसी, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि नेपालको इनिङ्समा कुशल भुर्तेल आफ्नो पहिलो तीन खेलमै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनको र उपकप्तान दीपेन्द्रसिंह ऐरीको सानदार ब्याटिङमा नेपालले नेदरल्यान्ड्सलाई त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २ सय ७ रनको लक्ष्य दिएको थियो ।

कुशलले यसै शृंखलाको नेदरल्यान्ड्ससँगको पहिलो खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । मलेसियासँग अघिल्लो दिन भएको खेलमा पनि उनले अविजित ६१ रन बनाएका थिए । कुशलले नेदरल्यान्ड्ससँग ४६ बल खेली ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए ।

नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो, जुन विकेटको हिसाबमा टोलीको सबैभन्दा ठूलो हार थियो । त्यही खेलबाट पाठ सिक्दै सकारात्मक क्रिकेट खेलेको डच खेलाडी बास डे लिडले बताए । उनकै अविजित ८१ रनमा नेदरल्यान्ड्सले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रन पछ्याएको थियो । ‘नेपालको खेलबाट हामीले धेरै सिकेका थियौं, यो खेलबाट अझ सिक्ने अवसर पायौं र यही सिकेर अर्को खेलमा अझै राम्रो खेल्ने प्रयास गर्नेछौं । बलिङका हिसाबले अझ राम्रो गर्न सक्छौं जस्तो लागेको छ,’ डे लिडले भने, ‘पिच राम्रो थियो, फ्ल्याट विकेट भएका कारण बल घुमिरहेको थिएन, त्यसैले ब्याटिङ गर्न सजिलो भएको थियो । एकपल्ट जमिसकेपछि आउट गर्न गाह्रो हुने मलाई लागेको थियो ।’

डे लिडले ४२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गर्दै सनसनीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई अविस्मरणीय जित दिलाएका हुन् । बेन कुपरले ३५ बलमा १० चौका प्रहार गरी ५५ रन बनाए । कप्तान पिटर सिलारले १५ बलमा ३१ रन बनाउनेक्रममा सन्दीप लामिछानेलाई लगातार ३ छक्कासहित २० रन प्रहार गरे । ओपनरद्वय म्याक्स ओ’डाड ९ र टोबाइस भिसे १५ रनमा आउट भए ।

सन्दीप केही महँगो साबित भए पनि उनले ४ विकेट लिए । उनले ४ ओभरमा ४८ रन खर्चे । करण केसी, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिए । सन्दीप र करणले नेपालबाट ट्वान्टी–२० मा सर्वाधिक ४१–४१ विकेट लिइसकेका छन् ।


नेपाली ब्याटिङमा कुशल भुर्तेलले अनौठो कीर्तिमान बनाए । उनी आफ्नो पहिलो तीन खेलमै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । कुशलले यसै शृंखलाको नेदरल्यान्ड्ससँगको पहिलो खेलबाट

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ६२ रन बनाए । मलेसियासँग अघिल्लो दिन उनले अविजित ६१ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमै लगातार चार अर्धशतक बनाउने कीर्तिमान न्युजिल्यान्डका ब्रेन्डन म्याकलम र वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ ।

‘ब्याटिङ हामीले जस्तो सोचेका छौं, त्यस्तै भइरहेको छ । राम्रो विकेट भएकाले त्यसले सहयोग पनि गरिरहेको छ । खेलाडीहरू सकारात्मक उद्देश्यले खेलिरहेका छन्,’ कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलबारे भने, ‘उनले राम्रो गरिरहेका छन्, अझ राम्रो गर्न सक्थे होलान् । जे छ त्यसमा पनि खुसी छौं । उनले जुन सुरुआत दिलाएका छन् । त्यसले एउटा लय मिलाएर जान सजिलो भएको छ । कुशलले आज कीर्तिमान नै बनाए पनि जस्तो लाग्छ । उसले यसलाई निरन्तर दिनेछन् भन्ने आस लिएको छु ।’

कुशलकै प्रयासमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दोस्रो उच्च स्कोर बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । कुशलले पहिलो दुई खेलमा शतकीय साझेदारी गरेका उनका ओपनिङ जोडी आसिफ शेख मंगलबार शून्यमै आउट भए । कुशलले ४६ बल खेली ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए । १३ औं ओभरमा फ्रि हिटमा आर्यन दत्तलाई स्ट्रेट छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका थिए ।

राम्रो टचमा देखिएका कप्तान ज्ञानेन्द्र मल्ल पुल शट हान्दा डिप मिडविकेटमा २० रनमै क्याच दिन पुगे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरे । २९ बलमै अर्धशतक बनाएका दीपेन्द्रले ६० रन जोडे । ३० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरी ६० रन बनाए । कुशल मल्लले ३ छक्का प्रहार गर्दै ७ बलमा १८ रन बनाए ।

करण केसीले १ रनमात्र बनाउन सके । सोमपाल कामी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ र विनोद भण्डारी ७ बलमा ७ रन बनाई अविजित रहे । खेलमा नेपालले कुल ११ छक्का प्रहार गरेको थियो । नेदरल्यान्ड्सका भिभिएन किङमा र कप्तान पिटर सिलारले २–२ विकेट लिए । दीपेन्द्र र कुशल मल्लले एकै ओभरमा सिलारलाई २–२ छक्का प्रहार गरे ।

ज्ञानेन्द्रसँग हारको खास कारण थिए । ‘हामीले सुरुमा सजिलो लिएर खेलौं जस्तो लाग्छ । तर उनीहरूले जसरी आज ब्याटिङ गरे, त्यसको श्रेय उनीहरूलाई दिनुपर्छ जस्तो लाग्छ । हामीले २–४ ओभर ६ रनमुनि फाल्न सकेको भए खेल अझ प्रतिस्पर्धात्मक हुन्थ्यो होला,’ उनले नेपालले जसरी ब्याटिङ गरेको थियो, पछिल्लो २–३ ओभर त्यसअनुरूप नरहेको बताए । समान ३ खेलमा डच टोलीले दोस्रो जित पाएको हो भने नेपालको पहिलो हार हो ।

प्रकाशित : वैशाख ७, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?