१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

त्रिकोणात्मक ट्वान्टी-२० : कुशलको लगातार तेस्रो अर्धशतक, नेदरल्यान्ड्सलाई नेपालको ठूलो लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — कुशल भुर्तेल आफ्नो पहिलो तीन खेलमै ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो खेलाडी बनाएका छन् । उनको र उपकप्तान दीपेन्द्रसिंह ऐरीको सानदार ब्याटिङमा नेपालले नेदरल्यान्ड्सलाई त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा २ सय ७ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक ट्वान्टी-२० : कुशलको लगातार तेस्रो अर्धशतक, नेदरल्यान्ड्सलाई नेपालको ठूलो लक्ष्य

कुशलले यसै शृंखलाको नेदरल्यान्ड्ससँगको पहिलो खेलबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । मलेसियासँग अघिल्लो दिन भएको खेलमा पनि उनले अविजित ६१ रन बनाएका थिए । कुशलले नेदरल्यान्ड्ससँग ४६ बल खेली ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए ।

उनको प्रयासमा नेपालले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्दै ६ विकेट गुमाई २ सय ६ रन बनाएको हो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो । २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

२९ बलमै अर्धशतक बनाएका दीपेन्द्रले ६० रन जोडे । ३० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरी ६० रन बनाए । कुशलका ओपनिङ जोडी आसिफ शेख शुन्यमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । कुशल मल्लले ३ छक्का प्रहार गर्दै ७ बलमा १८ रन बनाए ।

करण केसीले १ रनमात्र बनाउन सके । सोमपाल कामी १३ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २१ र विनोद भण्डारी ७ बल खेली ७ रनमा अविजित रहे । खेलमा नेपालले कुल ११ छक्का प्रहार गरेको थियो । नेदरल्यान्ड्सका भिभिएन किङमा र कप्तान पिटर सिलारले २/२ विकेट लिए ।

... [अपडेट]

नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार मध्याह्न भएको टसमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । नेपालले नेदरल्यान्ड्स र मलेसियासँगका दुवै खेल समान ९ विकेटले जितेको थियो ।

मलेसियासँगको खेलमा नेपालले आरिफ शेखको स्थानमा कुशल मल्ललाई खेलाएको थियो ।

नेदरल्यान्ड्ससँगको आजको खेलमा विजय हात पारे नेपाल अपराजित रही फाइनल पुग्नेछ ।

नेदरल्यान्ड्सले नेपालसँगको खेल जिते फाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।

प्रकाशित : वैशाख ७, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?