दर्शकबिनाको खेल

काठमाडौँ — कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका सहरहरूमा विद्यालय तथा भीडभाड हुने गतिविधि वैशाख महिनाभरि बन्द गर्ने निर्णय गरेपछि खेलकुदमा त्यसको सिधा असर देखिने भएको छ ।

दर्शकबिनाको खेल

सोमबार बिहानको मन्त्रिपरिषद् बैठकको निर्णय साँझ सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले दर्शकसहितको रंगशाला बन्द हुने जानकारी दिए । यसको अर्थ पूर्वघोषित खेलकुद गतिविधि दर्शकबिना सञ्चालन गर्न पाइनेछ ।

खेलकुदमा दर्शक वा समर्थकलाई अतिरिक्त खेलाडीको मान्यता दिइन्छ । वैशाख महिनामा क्रिकेट र फुटबलका दुई ठूला प्रतियोगिता आयोजना भइरहेका/हुँदै छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । वैशाख ११ गतेदेखि नेपालमै पहिलोपल्ट अक्सनमा आधारित फ्रेन्चाइज फुटबल प्रतियोगिता आयोजना हुँदै छ ।

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मधुसूधन बुर्लाकोटीले सरकारी निर्देशनलाई पालना गर्नु सबैको दायित्व हुनाले दर्शकरहितको खेल गतिविधि पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न अनुरोध गरे । यद्यपि उनले आधिकारिक रूपमा निर्देशन आइनसकेको प्रस्ट पारे ।

त्रिदेशीय क्रिकेट प्रतियोगितामा मंगलबारदेखिको खेल दर्शकरहित रंगशालामा खेलाइने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । ‘सरकारको निर्देशन हामीले पालना गर्नु बाध्यकारी हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यसैले अबका खेलहरू दर्शकबिना सञ्चालन हुनेछन् । प्रतियोगिताको बीचमा अप्रत्याशित आएको निर्णयका कारण ती खेलहरूको टिकट जारी भइसकेको रहेछ भने हामी टिकेटिङ पार्टनरसँग सल्लाह गरेर उचित विकल्पमा जानेछौं ।’ त्रिदेशीय क्रिकेटका लागि क्यानको टिकेटिङ पार्टनरका रूपमा प्रभु पेले टिकट बिक्री गरिरहेको छ ।

नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका सीईओ सुदीप शर्माले सरकारी निर्णयअनुसार दर्शकबिनाको रंगशालामा एनएसएलका खेलहरू आयोजना हुने बताए । सात सहरका नामबाट स्थापित फ्रेन्चाइज टोलीहरू बीचको प्रतियोगिता वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने तालिका छ ।

‘दर्शक हुँदा जस्तो माहोल दर्शक नहुँदा हुने कुरा नै भएन । यसले लिगमा एक प्रकारको रौनक कम भएको छ,’ सीईओ शर्माले भने, ‘हामी अन्तिम समयमा रहेको हुनाले यसलाई अगाडि बढाउनैपर्ने बाध्यतामा छौं । रंगशाला आउन नपाए पनि दर्शकलाई सबै खेल घरमै बसेर टीभीमा हेर्न पाउने व्यवस्था छँदै छ ।’

प्रकाशित : वैशाख ७, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?