एपीएफलाई सफलता- खेलकुद - कान्तिपुर समाचार

एपीएफलाई सफलता

कान्तिपुर संवाददाता

बारा — वाग्मती युवा क्लब सर्लाहीविरुद्ध अतिरिक्त समयमा २–१ को कठिन जित निकाल्दै नेपाल एपीएफ फुटबल क्लब एघारौं जितपुर सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

विराट गोल्डकपको उपाधि उचालेको दुई दिनपछि सिमरा रंगशालामा खेलेको एपीएफले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्‍यो । जितसँगै एपीएफले सर्लाहीमा राजर्षी जनक गोल्डकपमा आयोजक वाग्मती युवा क्लबसँग व्यहोरेको हारको बदला लिएको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयको १४ औं मिनेटमा एपीएफका प्रदीप लामाले निर्णायक गोल गरे । यसअघि निर्धारित समयको ३२ औं मिनेटमा प्रदीपकै गोलबाट एपीएफले अग्रता लिएको थियो ।

५२ औं मिनेटमा सर्लाहीका नीरज थापामगरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । एपीएफको जितमा दुई गोल गरेका प्रदीप लामाले म्यान अफ द म्याच भई पाँच हजार नगद र ट्रफी पाए । मंगलबार अन्तिम क्वाटरफाइनल संकटा क्लब र हेटौंडाको विजय युथ क्लबबीच हुनेछ ।


प्रकाशित : वैशाख ७, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

माथागढी उपाधि आनन्दनगरलाई

कान्तिपुर संवाददाता

पाल्पा — माथागढी–४, झडेवा (नीलो) आनन्दनगर स्पोर्ट्स क्लबले माथागढी कप महिला तथा पुरुष भलिबल प्रतियोगिता जितेको छ । फाइनलमा पुरुष र महिलातर्फ दुवैतर्फको उपाधि झडेवा (नीलो) को पोल्टामा पुगेको हो ।

पुरुषतर्फ आइतबार सम्पन्न फाइनलमा आनन्दनगर स्पोर्ट्सले माथागढी–३, कसेनीलाई सोझो सेटमा हरायो । आनन्दनगरले २५–२१ र २५–१६ ले सेट आफ्नो पक्षमा पार्‍यो । आनन्दनगरले झडेवा (रातो) लाई र कसेनीले माथागढी–७, रहवासलाई हराएर फाइनल प्रवेश गरेका थिए । झडेवा (रातो) रहवासलाई २–१ को सेटमा हराई तेस्रो भयो । झडेवाले १८–२५, २५–१३ र १५–८ को सेटमा रहवासलाई पछि पारेको हो ।

महिलातर्फ पनि आनन्दनगर स्पोर्ट्सले कसेनीलाई सोझो सेटमा पराजित गर्‍यो । आनन्दनगरले २५–२० र २७–२५ को सेटमा बाजी मार्‍यो । आनन्दनगरले झडेवालाई र कसेनीले रुप्सेलाई पछि पार्दै फाइनल प्रवेश गरेका थिए । झडेवाले माथागढी–२, रुप्सेलाई सोझो सेटमा पराजित गरेको छ । झडेवाले २५–१९ र २५–९ को सेटमा माथागढीलाई पराजित गरी तेस्रो भयो । पुरुषतर्फ पहिलो हुनेले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र पाए । महिलातर्फ पहिलो हुनेले ४० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र पाए । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले विजेतालाई पुरस्कृत गरे ।

प्रकाशित : वैशाख ७, २०७८ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×