कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ईएसएल केहीको स्वार्थमात्रै

युरोपेली सुपर लिग (ईएसएल) को योजना अगाडि आएपछि इंग्ल्यान्डका ६ क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी र टोटेनहम यस विद्रोही लिगसँग आबद्ध भएका छन् । 
द गार्डियन

लन्डन — युरोपेली फुटबल आइतबार ठूलै संकटमा फस्यो, युरोपेली सुपर लिग (ईएसएल) को योजना अगाडि आएपछि । इंग्ल्यान्डका ६ क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी र टोटेनहम यस विद्रोही लिगसँग आबद्ध भएका छन् । यसमा इटाली र स्पेनका तीन–तीन क्लब पनि जोडिनेछन् । 

ईएसएल केहीको स्वार्थमात्रै

घोषणाको भोलिपल्ट सोमबार अझ नाटकीय रह्यो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगै फ्रान्सेली राष्ट्रपति इमानुल म्याक्रों दुवैले यसको विरोध गरिसकेका छन् । उनीहरू मात्र के र, लगभग सबैले यस लिगको विरोध गरिरहेका छन् । तर ईएसएलको आयोजक भन्छन्, अगस्टबाट यो प्रतियोगिता सुरु हुनेछ । यो प्रतियोगिता साँच्चै भयो भने विश्व फुटबलको कार्यक्रममा ठूलो फेरबदल हुनेछ, अनि यसले पुरातन फुटबल ढाँचालाई गम्भीर आघात पुर्‍याउनेछ ।

इंग्लिस प्रिमियर लिगले भने ६ क्लबलाई भनेको छ, केही ठूलो समस्या आउन अगाडि नै यो प्रतियोगिता छोड्नु निको हुनेछ, त्यो पनि तुरुन्तै । तर ईएसएल भने यस्तो भन्छ, ‘युरोपका ठूला १२ क्लबले मध्यसाता हुने नयाँ लिगको घोषणा गर्छ र यो यिनै संस्थापक सदस्यले चलाउनेछ ।’ इंग्ल्यान्डका ६ क्लबबाहेक यसमा अहिलेसम्म इटालीबाट इन्टर मिलान, एसी मिलान र युभेन्ट्स छन् । अनि स्पेनबाट रियल म्याड्रिड, बार्सिलोना र एटलेटिको म्याड्रिड । प्रतियोगिता सुरु हुँदासम्म थप तीन क्लब यसमा आबद्ध हुने पनि भनिएको छ । यसका आयोजकले प्रतियोगिताबारे यूईएफए र फिफासँग थप छलफल गर्ने पनि भनेको छ ।

ईएसएल खेल्ने क्लबले पनि आ–आफ्नो घरेलु लिग भने खेलिरहनेछन् र उसले भनेको छ, घरेलु खेल तालिका क्लबका लागि उत्तिकै महत्त्वपूर्ण रहनेछ । अपेक्षाअनुसार यूईएफए र प्रिमियर लिगले ईएसएलको चर्को विरोध गरेका छन् । अझ यूईएफएले भनेको छ, यो त खालि केही क्लबको स्वार्थले चल्ने योजना मात्र हो । यूईएफए र प्रिमियर लिगको समर्थन स्पेन र इटालीका लिग आयोजक अगाडि आइसकेका छन् । अनि यूईएफएले भनिसकेको छ, ईएसएल खेल्ने खेलाडीको घरेलु, युरोप र विश्वस्तरमा बहिष्कार गरिनेछ ।

पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिकले ईएसएलमा आबद्ध भइनसकेको जनाएका छन् । उनीहरूले विश्वकप खेल्न नपाउने डरले खेलाडी बाहिरिने डर पोखेका छन् । विद्रोही लिगका अध्यक्ष रियल म्याड्रिडका अध्यक्ष फ्लारेन्टिनो पेरेज रहेका छन् । उपाध्यक्षमा म्यानचेस्टर युनाइटेडका जोएल ग्लेजर र युभेन्ट्सका आन्द्रे एनगेली छन् । पेरेजले भनेका छन्, ‘हामी सबै स्तरको फुटबललाई सहयोग गर्न तयार छौं । हामी चार अर्ब फुटबल प्रशंसक र क्लबप्रति जिम्मेवार छौं ।’

उनीहरूको यो योजनाको एक प्रखर विरोधीका रूपमा अगाडि आएका छन्, म्यानचेस्टर युनाइटेडका पूर्वव्यवस्थापक एलेक्स फर्गुसन । उनले भनेका छन्, ‘यो प्रतियोगिता हुने हो भने यसले युरोपेली क्लबको ७० वर्ष लामो इतिहास भत्काउनेछ । मेरो समयमा म्यानचेस्टरले चार च्याम्पियन्स लिग फाइनल खेलेकामा ती सबै सम्झनालायक रहे । अहिले म क्लबमा धेरै आबद्ध छैन, त्यसैले म्यानचेस्टरको निर्णयबारे ठ्याक्कै यस्तै हो भनेर भन्न सकिन्न ।’ सम्भवतः सबैभन्दा कडा शब्द युरोपको फुटबल समर्थकको संघले भनेको छ । उसले भनेको छ, ‘ईएसएल गैरकानुनी र गैरजिम्मेवार छ । यसमा चर्को प्रतिस्पर्धा हुने सम्भावना नै छैन । यसले युरोपेली फुटबललाई मृत्युको शय्यामा पुर्‍याएको छ । यो लोभको सोचले अगाडि सारिएको प्रतियोगिता हो । यसमा खेल्ने क्लब पक्कै धनी छन्, तर तिनको प्रदर्शन आफ्नो घरेलु लिगमा राम्रो छैन । यो प्रतियोगिता यस्तै केही धनी क्लबको प्रतियोगिता मात्र हुनेछ ।’

प्रकाशित : वैशाख ७, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?