त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

विनोद पाण्डे

काठमाडौँ — त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

कुशल र आसिफले पहिलो विकेटमा १ सय २ रनको साझेदारी गरेपछि मलेसियाले छाडेको १ सय १० रनको मध्यम चुनौतीलाई १२.१ ओभरमै पूरा गर्यो ।

नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । नेपाल विजयको नजिक पुगेपछि आउट भएका आसिफले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कुशलले ४१ बल खेली ३ चौका र ५ छक्का प्रहार गरे । दीपेन्द्र ६ रनमा अविजित रहे ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भएको थियो । करण केसीले ३ विकेट लिँदै मलेसियालाई धरासायी बनाए । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १–१ विकेट रहयो ।

मलेसियाबाट ओपनर सैयद अजिजले सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फेज ३ रनमा रनआउट हुनु मलेसियाको दुर्भाग्य रहयो । उनलाई विकेटकिपर विनोद भण्डारी र करणले मिलेर रनआउट गरे ।

सर्भिन मनिआन्डीले २० र सफिक सरिफले १५ रन बनाए । दोस्रो जितेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २–२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ ।

तस्बिरहरुः हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । मलेसियाले दुबै खेल हारेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ मा विजय र १ मा पराजय भोगेको छ ।

नेपालको गतिलो प्रदर्शन : ह्वाटमोर

डेव ह्वाटमोर, प्रशिक्षक, नेपाल

अहिलेको परिस्थिति र उपलब्ध सुविधाअनुसार हाम्रो तयारी राम्रो भएको थियो । खेल सुरु नभएसम्म टिम कस्तो छ भन्ने थाहा हुँदैन । अहिलेसम्म खेलेको २ खेलमा हाम्रो प्रदर्शन बलियो रह्यो । कुशल र आसिफबीच एक स्थानका लागि संघर्ष चलिरहेको थियो । तर १–२ साताको तयारीपछि उनीहरू दुवै राम्रा खेलाडी हुन् भनेर प्रमाणित गरे ।

सम्भव भएसम्म उनीहरू निश्चित रूपमा नेपालको १५ सदस्यीय टोलीमा पर्थे । अझ भनौं उनीहरू प्लेइङ–११ मा पनि पर्न लायक खेलाडी हुन् । पारस खड्का घाइते भएपछि दुवै जना खेल्ने निश्चित भएको हो । मैले उनीहरूलाई दिमाग लगाएर, आत्मविश्वासी भएर खेल्नु भनेको मात्र थिएँ । विकेट पनि राम्रो थियो, हाम्रो ब्याटिङ लाइन पनि बलियो भएकाले यी खेलाडीमा आत्मविश्वास बढेको छ । हामी आउने खेलका लागि पनि आत्मविश्वासी छौं ।

नेदरल्यान्ड्ससँगको खेलमा हामीले दुईवटा कुरा याद गर्नुपर्छ । पहिलो उनीहरू पूर्ण टोली होइनन् । उनीहरूका कतिपय राम्रा खेलाडी काउन्टी क्रिकेट खेलिरहेका छन् । दोस्रो, उनीहरू अति नै चिसो स्थानबाट आएका हुन् र उनीहरू नेपाल आउने समयमा नेदरल्यान्ड्समा हिउँ परिरहेको थियो । त्यसकारण यहाँ उनीहरूलाई केही गाह्रो हुनु स्वाभाविक हो । नेदरल्यान्ड्सले दोस्रो खेलमा आइपुग्दा धेरै राम्रो खेल्न लागिसकेको थियो । नेदरल्यान्ड्ससँगको अब हाम्रो खेल धेरै गाह्रो हुने अनुमान लगाउन सकिन्छ । तर हामीले जसरी जितिरहेका छौं, त्यसमै खुसी छौं ।

प्रकाशित : वैशाख ६, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?