त्रिकोणात्मक ट्वान्टी–२० : नेपाललाई ११० रनको लक्ष्य

काठमाडौँ — नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको मलेसियासँगको खेल जित्न १ सय १० रनको मध्यम चुनौती पाएको छ । टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भयो ।

त्रिकोणात्मक ट्वान्टी–२० : नेपाललाई ११० रनको लक्ष्य

करण केसीले ३ विकेट लिँदै मलेसियालाई धरासायी बनाए । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १/१ विकेट रहयो ।

मलेसियाबाट ओपनर सैयद अजिजले सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फेज ३ रनमा रनआउट हुनु मलेसियाको दुर्भाग्य रहयो । उनलाई विकेटकिपर विनोद भण्डारी र करणले मिलेर रनआउट गरे ।

सर्भिन मनिआन्डीले २० र सफिक सरिफले १५ रन बनाए । नेपालले यो खेल जितेमा फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २/२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ ।

नेपालले पहिलो खेलमा शनिबार नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यसपछि नेदरल्यान्ड्सले मलेसियालाई १५रनले पराजित गरेको थियो ।


तस्बिरहरुः हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : वैशाख ६, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?