ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका खेलाडीको पहिलो शतक- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका खेलाडीको पहिलो शतक

कान्तिपुर संवाददाता

काठमाडौँ — ओपनर म्याक्स ओ’डोडले कीर्तिमानी ब्याटिङ गरेपछि त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला क्रिकेटमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको छ । नेपालसँग ९ विकेटले पराजित भएको भोलिपल्ट मलेसियामाथि नेदरल्यान्ड्सको प्रदर्शन निकै आक्रामक थियो ।

नेदरल्यान्ड्सका म्याक्स ओ' डोड शतक प्रहार गरेपछि तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर


२७ वर्षीय ओ’डोड आइतबार त्रिवि मैदानमा निकै नै आत्मविश्वासी थिए । अघिल्लो दिन नेपालविरुद्ध १० रनमै एलबीडब्लूको सिकार बनेका उनले मलेसियाविरुद्ध ७३ बलमा अविजित १ सय ३३ रनको इनिङ्स खेले, जसमा १५ चौका र ६ छक्का सामेल छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका खेलाडीको यो पहिलो शतक हो ।

नेदरल्यान्ड्सले यो संरचना खेलेको १३ वर्षपछि टोलीका खेलाडीले पहिलो शतक बनाउन सकेका हुन् । उनको शतक ट्वान्टी–२० अन्तर्राष्ट्रियको पाँचौं व्यक्तिगत उच्च स्कोर हो । एसोसिएटका खेलाडीको ट्वान्टी–२० मा यो उच्च स्कोर पनि हो । सो क्रममा ओ’डोडले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो एक हजार रन पनि पूरा गरे ।

‘हामी लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छौं । आजको खेल मेरा लागि अविश्वसनीय रह्यो र नेदरल्यान्ड्सकै लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नु मेरा लागि धेरै नै विशेष छ,’ ओ’डोडले भने । उनले अघिल्लो दिन नेपालसँगको खेलमा समर्थकको उल्लेख्य उपस्थितिका कारण आफूले आवश्यक ध्यान केन्द्रित गर्न नसकेको जनाउँदै भने, ‘हामीले पहिलोपल्ट यति धेरै समर्थकका बीच क्रिकेट खेलेका थियौं । उनीहरूले हाम्रो ध्यान भंग गरिदिएका थिए । अब हामी बिस्तारै अनुभवी हुँदै छौं र आगामी खेलमा कमजोरी सच्याउने प्रयास गर्नेछौं ।’

खेलमा एक समय ओ’डोडको शतक खेर जाने जोखिम बढिरहेको थियो । जुन उनी आफैंले पनि सम्भावना देखेका थिए । तर १८ औं ओभरमा मलेसियाका वीरनदीप सिंह आउट भएपछि नेदरल्यान्ड्सलाई सजिलो भयो ।

त्रिवि मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्दा नेदरल्यान्ड्स सुरुदेखि नै आक्रामक थियो । टोविस भाइस १ रनको स्कोरमा आउट भए पनि त्यसपछि आएका स्कट एडवार्डसँग ओ’डोडले ४९ रनको साझेदारी गरे । एडवार्ड ३१ रन बनाएर आउट भए । त्यसपछि बेन कुपरसँग उनले १ सय २५ रनको अविजित साझेदारी गरे । कुपर २० रनमा अविजित रहे ।

जवाफमा मलेसियाको सुरुआत कमजोर थियो । उसका शीर्ष क्रमका तीन ब्याट्सम्यान क्रमशः सइद अजिज (७), अनबर अरुद्दिन (६) र कप्तान अहमद फाइज (०) ले दोहोरो अंकको स्कोर गर्न सकेनन् । क्रिजमा आएका वीरनदीप र सर्विन मुनियान्दीले चौथो विकेटमा ५८ रनको साझेदारी गरी इनिङ्स उकासे । मुनियान्दीले २८ रन जोडे । छैटौं नम्बरमा आएका अफिक सरिफले पनि खाता खोल्न सकेनन् । अमिनुद्दिन राम्लेले १५ बलमा २६ रनको आक्रमक पारी खेले ।

एउटा एन्डबाट वीरनदीपले लगातार रन बनाए पनि अर्को एन्डबाट विकेट झरिरहँदा लामो साझेदारी बन्न सकेको थिएन । अन्तिम चार ओभरमा मलेसिया १३५/७ को स्थितिमा थियो र उसलाई जितका लागि अझै ५६ रन आवश्यक थियो । त्यसपछिका २ ओभरमा २० रन जोडेर अन्तिम २ ओभरमा मलेसियालाई ३६ रनको चाहिने भयो । १९ औं ओभरमा सेवास्टियन ब्राटलाई सुरुआती २ बल छक्का प्रहार गरेका वीरनदीपले तेस्रो बलमा २ रन लिए । चौथो बलमा लामो शटको चक्करमा सर्ट थर्ड म्यान क्षेत्रमा क्याचआउट हुन पुगे । त्यसअघि उनले ५३ बलमा ६ चौका र ६ छक्का सहयोगमा ८७ रन बनाए । त्यसपछि ७ बलमा २३ रन आवश्यक रहेको मलेसियाको इनिङ नेदरल्यान्ड्सको नियन्त्रणमा पुग्यो । नेदरल्यान्ड्सका आर्यन दत्त, बास डी लिड र ब्राटले २/२ विकेट लिए ।

मलेसियाका कप्तान फाइज आफ्नो टिमको प्रदर्शन र कोभिडपछि फर्किएको अन्तर्राष्ट्रिय क्रिकेटप्रति सकारात्मक थिए । उनले पनि आफ्ना ब्याट्सम्यान वीरनदीपको प्रशंसा गरे । ‘एउटा दिनमा जसले राम्रो खेल्छ उसैले खेल जित्ने हो । हामी हरेक खेलमा राम्रो खेल्न प्रयासरत हुन्छौं । नेदरल्यान्ड्सले १ सय ९२ रनको लक्ष्य दिएपछि हाम्रो अन्य कुनै योजना थिएन, बस जाने र हान्ने । आज हामी थोरै कमजोर देखियौं,’ फाइजले भने, ‘वीरनदीपले सधैं राम्रो खेल्छन् । उनी हाम्रा मुख्य ब्याट्सम्यान हुन् र दबाबका बीचमा पनि राम्रो खेल्न सक्छन् ।’

फाइजले सोमबारको नेपालसँगको खेलमा पनि सकारात्मक नतिजाका लागि खेल्ने योजना सुनाए । ‘ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाल र हाम्रो हेड टु हेड १–३ छ । तर नम्बरमात्र केही होइन । भोलिको दिन हामीले राम्रो खेल्नुपर्छ,’ मलेसियाली कप्तानले भने, ‘कोभिडका कारण लामो समयको विश्रामपछि अन्तर्राष्ट्रिय क्रिकेट सुरु भएको छ । हामी त्यसैमा खुसी छौं । जहिले पनि नेपालमा आएर खेल्दा यहाँका समर्थक देखेर हामी खुसी हुन्छौं । नेपालका क्रिकेट समर्थकले मलेसियालाई पनि दाजुभाइको व्यवहार गर्छन् । मलाई थाहा छ धेरै नेपाली मलाय भाषा बुझ्नुहुन्छ ।’

अन्तिमपल्ट नेपालसँगको खेलमा मलेसिया विजयी भएको थियो । थाइल्यान्डमा गत वर्ष भएको एसीसी इस्टर्न रिजन ट्वान्टी–२० मा मलेसियाले नेपाललाई पराजित गरेको थियो । सोमबारको खेल जितेको अवस्थामा नेपालको फाइनल खेल्ने सम्भावना प्रबल हुनेछ । नेपाली टोलीमा नेदरल्यान्ड्सविरुद्ध विस्फोटक ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले नै निरन्तरता पाउने निश्चित जस्तै छ । उनीहरू दुवैले शनिबार डेब्यु खेलमा अर्धशतक प्रहार गर्दै नेपालको ९ विकेटको जितको महत्त्वपूर्ण खाका कोरेका थिए ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

मुआब्जा विवादमै अल्झियो रेलवेको काम

७ वर्षदेखि रोक्का गरिएको जग्गाको मुआब्जा दिएर बर्दिवासमै सरकारले स्टेसन राख्नुपर्ने माग
सुनिता बराल

महोत्तरी — सात वर्षदेखि रेल विभागले रोकेर राखेको जग्गाको मुआब्जा नटुंगिँदै बर्दिवासस्थित रेलवे स्टेसन सार्ने हल्लाले स्थानीयमा असन्तुष्टि चुलिएको छ । बर्दिवास नगरपालिकाको १, २, ६, ७, १४ र भंगाहा नगरपालिका–४ का स्थानीयले रेलको लिक र स्टेसनमा पर्ने आफ्नो जग्गाको मुआब्जा पाएका छैनन् ।


विवादकै कारण सरकारले मुआब्जा वितरण नगर्दा जयनगर–बर्दिवास र पूर्व–पश्चिम रेलमार्गको साझा स्टेसनस्थल बर्दिवासमा सात वर्षदेखि काम अगाडि बढ्न सकेको छैन । आफ्नो १० कट्ठा जग्गा सात वर्षदेखि आफ्नो भन्न र प्रयोग गर्न नपाएकाले सरकारले स्टेसन सार्ने कुरा गर्नु कुनै हालतमा मान्य नहुने बर्दिवास–१४ का जन्नुलाल महतोले बताए । उक्त जग्गाको तत्काल मुआब्जा उपलब्ध गराएर भनेकै ठाउँमा स्टेसन राख्नुपर्ने उनको माग छ । ‘हामी विकास विरोधी होइनौं । तर उठीबास लगाउने सरकारले हामीलाई उचित मुआब्जा दिनुपर्छ । र काम अघि बढाउनुपर्छ,’ उनले भने ।

रेलवे स्टेसन भनेकै ठाउँमा राख्नुपर्ने अडान महतो जस्तै बर्दिवासवासी धेरैको छ । मुआब्जा विवादले काम अघि बढ्न नसक्दा यो मामिला टुंग्याउन बर्दिवासमा प्रत्येक दिनजसो छलफल भइरहेको छ । बर्दिवास सानो ठाउँ भएकाले केही जग्गाधनी भने आफ्नो जग्गा सरकारले फुकुवा गरी रेलवे स्टेसन अन्तै सार्नुपर्ने बताउँछन् । बर्दिवासमा खाली जग्गा कम रहेकाले खेतीयोग्य र घडेरी जग्गा घरखेती र बस्ती विकासकै लागि बर्दिवासलाई छाडेर स्टेसन अन्यत्र सार्नुपर्ने बर्दिवास–१४ का डाकराज पोखरेलको भनाइ छ ।

भंगाहाको बिजपुरा स्टेसनबाट बर्दिवाससम्म १२ बिघा जग्गा रेलवे ट्र्याक र ५४ बिघा स्टेसनका लागि रोकिएकाले त्यसको मुआब्जा तत्काल उपलब्ध गराउन स्थानीयले माग गरिरहेका छन् । मुआब्जाकै लागि स्थानीयका माग लिएर तीन पटकसम्म डेलिगेसन गइसकेको र पटकपटक छलफल भए पनि निकास निस्कन नसकेकने प्रदेश २ की सांसद शारदादेवी थापाले बताइन् । बर्दिवासको खेतीयोग्य जग्गालाई छाडेर बस्ती नभएको ठाउँमा रेलवे स्टेसन रहनुपर्ने स्थानीयको माग भएकाले स्टेसन सार्नुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ ।

महोत्तरीमा मुआब्जा विवाद टुंग्याउन पाँच जना प्रमुख जिल्ला अधिकारीबाट पहल भए पनि सफल नभएको तर आफ्नो कार्यकालमा यो विवाद टुंगिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । बर्दिवासका प्रभावितहरूले मर्का पर्‍यो भनेर स्टेसन सार्न माग गरिरहेकाले पूर्व–पश्चिम रेलवेको प्रस्तावित स्टेसनलाई नै दुवैको साझा स्टेसन बनाउने कि भन्ने विषयमा पनि छलफल अघि बढेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको भनाइ छ ।

बर्दिवासको जग्गा महँगो भएकाले राज्यले अर्बौं रकम मुआब्जा वितरणमै खर्च गर्नुपर्छ । तर यति धेरै रकम खर्च गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेकाले बर्दिवासमा तोकिएको भन्दा चार किलोमिटर दक्षिणतर्फ बस्ती नभएको मसान घट्टालगायतका ठाउँमा स्टेसन बनाउन प्रस्ताव आएकाले त्यस विषयमा पनि छलफल भइरहेको भट्टराईले जानकारी दिए । जग्गाको मुआब्जा वितरण हुन नसकेका कारण पूर्व–पश्चिम रेलमार्गको काम पनि भप्सी खोलाबाट पश्चिम (बर्दिवासबाट पश्चिम) तर्फ मात्रै अघि बढेको छ । जयनगर–बर्दिवास रेलमार्गको काम पनि भंगाहा नगरपालिकाको बिजलपुरा स्टेसनमा आएर रोकिएको छ ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य, भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठ, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईलगायतको टोलीले शनिबार रेलवे स्टेसनको स्थलगत अनुगमन गरेका थिए । मुआब्जा विवाद छिट्टै टुंग्याउने उनीहरूको भनाइ थियो । रेलवे स्टेसन कहाँ राख्ने भन्ने विषयमा सरकार, रेलवे विभाग र कम्पनीले स्थानीयसँगै छलफल गरिरहेको र यो विषय छिट्टै टुंगिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्बाङले जानकारी दिए ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×