२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पोल्यान्डमा सुष्माको जित

काठमाडौँ — नेपाली खेलाडी सुष्मा तामाङ आइबा युथ पुरुष/महिला विश्व बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनल पुगेकी छन् । पोल्यान्डमा शनिबार भएको प्रिक्वाटरफाइनल चरणको खेलमा उनले लिथुवानियाकी डिजा बाजालिटेलाई पराजित गरिन् । यसअघि उनले सुरुआती चरणमा वाई पाएकी थिइन् ।

पोल्यान्डमा सुष्माको जित

प्रतियोगिताका लागि पोल्यान्ड पुगेको प्रशिक्षक ओम मास्केसहितको नेपाली टोलीमा सुष्मा र सुमिना खड्का थिए । सुमिनाले बिहीबारको खेलमा बेलारुसकी खेलाडीसँग पराजय बेहोरेपछि नेपाली आशा सुष्माप्रति केन्द्रित थियो । लाइट फ्लाइवेट (४५–४८ केजी) मा सुष्मा लिथुवानियाली प्रतिद्वन्द्वीलाई आरएससी (रेफ्री स्टप द कन्टेस्ट) का आधारमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेकी हुन् । ‘पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले सुष्मालाई पहिलो राउन्डमा ब्याकफुटमा खेल्नुपर्‍यो । तर त्यसपछिका दुई राउन्डमा उनले गतिलो प्रदर्शन गरिन् । पूरै समय खेलेको भए पनि उनकै जित हुन्थ्यो,’ प्रशिक्षक मास्केले पोल्यान्डबाट कान्तिपुरसँग भने । तेस्रो राउन्डको बीचतिर सुष्माले हानेको एउटा पञ्च विपक्षीको मुखमै लाग्यो । त्यसबाट लड्खडाएकी डिजा खेलमा फर्किन सकिनन् । रेफ्रीले खेल अन्त्य गर्नुपर्‍यो ।

नेपाल बक्सिङ संघका मुख्य प्रशिक्षक प्रकाश थापामगरले आईबाद्वारा आयोजित विश्वस्तरीय प्रतियोगितामा नेपाली खेलाडीले बाउट जितेको यो इतिहासमै पहिलोपल्ट हो । युवा विश्व च्याम्पियनसिपमा नेपालले यसअघि एकपल्ट सहभागिता जनाएको थियो । सुष्माले सेमिफाइनल पुग्नका लागि पोल्यान्डकै डोमिनिका नातालिया कुजेवस्कासँग प्रतिस्पर्धा गर्नेछिन् । उनले शनिबारको प्रिक्वाटरफाइनलमा जर्मनीकी सोफी जुलियानालाई पराजित गरेकी थिइन् ।

‘हाम्रा दुवै खेलाडी पदकका दाबेदार थिए । सुमिनाले राम्रो खेले पनि खेल गुमाइन् । जितपछि सुष्माको मनोबल भने बढेको छ र एक खेलको अनुभवले अर्को खेलमा थप सजिलो हुनेछ,’ प्रशिक्षक मास्केले भने । क्वाटरफाइनल प्रतिद्वन्द्वीको खेल भिडियो हेरेर आपना खेलाडीका लागि थप रणनीति बनाउने मास्केले बताए । काठमाडौंकी १९ वर्षीया सुष्मा नक्साल बक्सिङ क्लबकी उत्पादन हुन् । प्रतियोगितामा भाग लिनुपूर्व बक्सिङ संघले सातदोबाटोमा दुई साता बन्द प्रशिक्षण राखेको थियो ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?