एपीएफलाई विराट गोल्डकप

विनोद भण्डारी

विराटनगर — सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।

एपीएफलाई विराट गोल्डकप

यसअघि एपीएफ २०७० सालको फाइनलमा संकटासँग १–० गोलले पराजित हुँदै उपविजेतामा समेटिएको थियो । एपीएफबाट खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै फाइनलको निर्णायक बन्यो । प्रदीपले पन्जाबको अन्तिम डिफेन्स सरजित सिंहलाई बिट गर्दै वान भर्सेस वानमा गरेको प्रहार गोलकिपर सतवीर सिंहको खुट्टामा ठोक्किँदै बल गोलमा परिणत भयो । उनले म्यान अफ द फाइनल हुँदै १० हजार रुपैयाँ जिते ।

एपीएफले १५ लाख १५ हजारसहित ट्रफी उचाल्दा पहिलो पटक नेपाली भूमिमा खेल पस्कन आएको पन्जाबले ७ लाख ५० हजार लिएर घर फर्कन बाध्य भयो । पन्जाबविरुद्ध आक्रामक खेल पस्केको एपीएफका बुद्धिमान लामाले दोस्रो मिनेटमै गोल गर्ने अवसर गुमाएका थिए । उनले बिकु तामाङको पासमा पेनाल्टी क्षेत्रबाट गोलकिपर सतवीरलाई बिट गर्न नसक्दा गोल अवसर गुमाए । एक गोलले पछि परेको पन्जाबले पटक–पटक खेलमा फर्कने अवसर सिर्जना गर्दा एपीएफका गोलकिपर राजु नगरकोटी बाधक बने । खेलको आठौं मिनेटमा मनदीप सिंहको सशक्त प्रहार राजुले बचाउ गरेर संकट टारेका थिए । १४ औं मिनेटमा राजवीर सिंहको पास पेनाल्टीबाट मनदीपले फिनिसिङ गर्न नसक्दा पन्जाबले खेलमा फर्कने अवसर गुमाएको हो । एपीएफका राजु उत्कृष्ट गोलकिपर भए । उनले २५ हजार पाए ।

म्यान अफ द टुर्नामेन्ट एपीएफका आशिष लामालाई पुरस्कृत गरिँदै

दोस्रो हाफमा एपीएफले केही रक्षात्मक खेल खेल्दा पन्जाबले आक्रामक खेल पस्केको थियो । तर पन्जाबका प्रहार एपीएफका गोलकिपर राजुले विफल तुल्याउँदै टिमको अग्रता कायमै गराए । खेलको ७३ औं मिनेटमा राजवीर सिंहले वान भर्सेस वानमा गरेको प्रहार गोलकिपर राजुले विफल पारे । ८४ औं मिनेटमा प्रेमजितको पासमा राजवीरले गरेको हेडिङ सिधै राजुको हातमा पर्दा पन्जाबको खेलमा फर्कने मौका गुमेको थियो । खेलको ८६ औं मिनेटमा एपीएफका प्रदीप लामाले काउन्टर एट्याकमा गोल अन्तर बढाउने अवसर गुमाए ।

एपीएफले घरेलु टोली विराटनगर र पन्जाबले संकटालाई हराएर फाइनल यात्रा तय गरेका थिए । प्रतियोगितामा एपीएफका आशिष लामा म्यान अफ द टुर्नामेन्ट हुँदै मोटरसाइकल जित्न सफल भए । उत्कृट डिफेन्डर एपीएफका सनिश श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर एपीएफकै मणि लामा, उत्कृष्ट फरवार्ड संकटाका फोफना, सर्वाधिक गोलकर्ता विराटनगरका प्रकाश बुढाथोकी (चार गोल) भए । फेयर टिम विराटनगर र उत्कृष्ट प्रशिक्षक एपीएफका सुदीप श्रेष्ठ भए । उनीहरू सबैले २५ हजार पुरस्कार पाए ।विजेता खेलाडीलाई प्रदेश १ प्रमुख सोमनाथ अधिकारी, विराटनगरका मेयर भीम पराजुली, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?