विजय युथ क्‍वाटरफाइनलमा

लक्ष्मी साह

बारा — विजय युथ क्लब हेटौंडाले एघारौं जितपुरसिमरा गोल्डकप फुटबलमा शुक्रबार सुदूरपश्चिम–११ धनगढीलाई २–० ले पराजित गर्दै क्वाटरफाइनल तय गरेको छ । 

विजय युथ क्‍वाटरफाइनलमा

शुक्रबार साँझ सिमरा रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पूर्वविजेता विजय युथले संकटा क्लबसँगको भेट सुनिश्चित गरेको छ । विजय युथले सातौं संस्करण जितेको थियो । हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले गोल गरे ।

खेलको १६ औं मिनेटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडाविरुद्ध खेलमा फर्कन संघर्ष गरेको सुदूरपश्चिमले आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुकिरह्यो । ७५ औं मिनेटमा हेटौंडाका विकासले अग्रता दोब्बर पारे । सुदूरका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई फाउल गरेपछि दिइएको फ्रिकिक अवसरमा विकासले गोल गरे । २५ यार्डबाट हानेको फ्रिकिकलाई विकासले सिधै गोलमा परिणत गरे ।

खेलको १८ औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले बक्सभित्रैबाट गरेको सशक्त प्रहार हेटौंडाका गोलरक्षक अशोक बरालले बचाए । ३६ औं मिनटमा सुदूरले बराबरी गोल गर्ने अर्को अवसर गुमायो । सुनील धामीको क्रसमा शक्ति राईले बक्सबाहिरबाट हानेको प्रहार हेटौंडाका गोलरक्षकले बचाए ।

खेलको ८८ औं मिनेटमा विनोदको पासमा शक्ति राईले बक्सभित्र सम्हाल्न नसक्दा गोल गर्ने अवसर गुमायो । म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ भए । उनले ५ हजार पुरस्कार प्राप्त गरे । शनिबार हिमालयन शेर्पा र आयोजक नवजनजागृति क्लब सिमरा भिड्दै छन् ।

प्रकाशित : वैशाख ४, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?