१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वारिपारिको पुलिस डर्बी

विनोद भण्डारी

विराटनगर — सीमा वारिपारिका दुई विभागीय पुलिस टोली शनिबार विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि भिड्दै छन् ।

वारिपारिको पुलिस डर्बी

सहिद मैदानमा शनिबार साँझ ७ बजे उपाधि भिडन्तमा उत्रिँदा सशस्त्र प्रहरी बलको एपीएफ जित निकाल्दै विराट गोल्डकपमा पहिलो उपाधि दर्ता गर्ने दाउमा हुनेछ भने भारतको पन्जाब पुलिस पनि नेपाली भूमिमा पहिलो उपाधि हत्याउने लक्ष्यमा रहनेछ ।

एपीएफको यो प्रतियोगितामा दोस्रो फाइनलयात्रा हो । २०७० सालमा एपीएफ फाइनलमा संकटासँग १–० गोलले पराजित हुँदै उपविजेतामा खुम्चिएको थियो । यता पन्जाबको यो प्रतियोगितामा पहिलो सहभागिता हो । दुई महिनाअघि पन्जाब राज्यको लिग विजेता पन्जाब पुलिस सन् १९९५ मा काठमाडौंमा भएको विभागीय स्पर्धामा सहभागी भएको थियो ।

दुई टिमबीच संयोग पनि समान छ । एपीएफ घरमा यस सिजनको दोस्रो उपाधि खोजीमा छ । एपीएफले एक महिनाअघि सिरहाको गोलबजारमा सम्पन्न गोलबजार गोल्डकपमा आयोजकलाई हराउँदै उपाधि जितेको थियो । एपीएफ जनकपुर गोल्डकपमा आर्मीसँग पराजित हुँदै उपविजेतामै खुम्चियो । ठीक त्यस्तै पन्जाब पुलिस पनि विराट गोल्डकपमा सिजनको दोस्रो उपाधि खोज्दै छ ।

पन्जाबले यसै सिजन आफ्नै भूमिमा पन्जाब लिग जितेको छ । एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र घरेलु टोली विराटनगरलाई पन्छाउँदै उपाधि यात्रा गर्दा पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र, गोर्खा ब्वाइज रूपन्देही र यस सिजनको आरा–रारा गोल्डकप विजेता तथा विराट गोल्डकपको पूवविजेता संकटालाई पन्छाउँदै उपाधिका लागि एपीएफसँगको भेट पक्का गरेको हो ।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठ विराट गोल्डकपमा २०७० सालको हार बिर्साउने लक्ष्यमा टिम रहेको बताउँछन् । ‘२०७० सालमा उपविजेतामै सीमित भयौं,’ उनले भने, ‘यसपालि त्यसलाई बिर्सिंदै उपाधि जितेर राजधानी फर्कने लक्ष्यमा छौं ।’

‘पन्जाब राम्रो टिम हो । उसका खेलाडी अग्ला कद र बलियो शारीरिक बनावटका छन्,’ एपीएफका कप्तान सुदीप सिख्राकरले भने, ‘यस्तो टिमविरुद्ध ग्राउन्ड लेभलबाट टेक्निकल र बल पोसेसन दुवैमा रणनीतिका साथ खेल्नेछौं ।’ नेपालमा पहिलो गोल्डकप खेल्न आएको पन्जाब विराट गोल्डकपको उपाधि बोकेरै सीमा नाका पार गर्ने लक्ष्य रहेको प्रशिक्षक हरनेक सिंहको भनाइ छ । शनिबार उपाधिका लागि सहिद मैदानमा पन्जाब टिम उत्रिँदा नियमित कप्तान जगदीप सिंह भने हुने छैनन् ।

‘यो टिमका लागि ठूलो क्षति हो,’ प्रशिक्षक सिंहले भने, ‘नियमित कप्तान गुमाउनुको पीडा बिर्सेर टोलीले आक्रामक खेल पस्कँदै उपाधि र नेपाली दर्शकको मन जित्न प्रयत्न गर्नेछ ।’ प्रशिक्षक सिंहले शनिबार हरजेन्द्र सिंहले कप्तानी भूमिका निभाउने बताए । एपीएफ बलियो टिम भएको उल्लेख गर्दै सिंहले त्यहीअनुसार रणनीति अपनाउने बताए । पन्जाबका डिफेन्डर सर्वजित सिंह पनि घाइते हुँदा टिम अप्ठ्यारोमा रहेको उनको भनाइ थियो ।

पन्जाबका नियमित कप्तान जगदीप बिहीबार संकटाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । खेल सकिएलगत्तै संकटाका सहिद स्मार्ट र कप्तान जगदीपबीच घम्साघम्सीको वातावरण सिर्जना भएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए ।

‘सेमिफाइनलमा कप्तान जगदीपले पाएको रातो कार्डका बारेमा पुनर्विचार गर्न आयोजकलाई आग्रह गरेका छौं,’ प्रशिक्षक हरनेकले भने, ‘हाम्रा खेलाडीले कुनै गल्ती गरेका छैनन् । भिडियो फुटेज हेरेर आयोजकले रातो कार्डका विषयमा पुनर्विचार गर्नुपर्छ ।’ रात्रिकालीन यो गोल्डकप विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले बताए । सर्वोउत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : वैशाख ४, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?