कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किरण भए धनगढी एफसीका आइकोनिक प्लेयर

काठमाडौँ — धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार नेपाली राष्ट्रिय टिमका कप्तान किरण लिम्बूलाई आइकोनिक प्लेयरका रूपमा भित्र्याएको छ ।

किरण भए धनगढी एफसीका आइकोनिक प्लेयर

गोलरक्षक किरणको उपस्थितिपछि अब धनगढीले उपाधिको होडमा बलियो चुनौती पेस गर्न सक्नेछ ।

भर्खर किरणकै नेतृत्वमा नेपालले थ्री नेसन्स कप जितेको थियो । किरणले यसैक्रममा पाँच वर्षको अन्तरपछि पहिलोपल्ट नेपाली घरेलु फुटबलमा पनि सहभागिता जनाउने छन् । ‘धेरै लामो समयपछि म घरेलु फुटबल खेल्दैछु र यसैले निकै उत्साहित पनि छु । टिमको राम्रो प्रदर्शनका लागि शतप्रतिशतभन्दा बढी प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ ३१ वर्षीय किरणले भने ।

सन् २००८ मा एएफसी च्यालेञ्ज कप छनोटमा नेपालका लागि डेब्यु गरेका किरणले अहिलेसम्म ६८ क्याप जितेका छन् । पछिल्लो पल्ट किरणले भारतको आई–लिगमा राउन्डग्लास पञ्जाबबाट खेलेका थिए । धनगढीले अनुबन्धबारे नखुलाएपछि किरणले त्यो सन्तोषजनक रहेको बताए । उनले नेपालसँगै भारत र माल्दिभ्सको लिग उपाधि जितिसकेका छन् ।

धनगढीले त्यस अवसरमा आफ्ना मुख्य प्रशिक्षकका रूपमा युगलकिशोर राईलाई पनि अनुबन्ध गरेको छ । सन् २०१९ मा एएफसीको ए लाइसेन्स प्राप्त गरेका ३७ वर्षीय युगलले नेपाली घरेलु फुटबलमा सम्हाल्न लागेको यो प्रशिक्षकको सबैभन्दा ठूलो अवसर हुनेछ । कार्यक्रममा उनले आफूलाई विश्वास गरेकोमा क्लबलाई धन्यवाद पनि दिए ।

उनले टिमको प्रशिक्षणमा नाइजेरियाली फुजा टोपेसँग मिलेर कान गर्ने पनि बताए । युगलकिशोरले नेपालका लागि भने खेलाडीका रूपमा दुई क्याप जितेका छन् । धनगढीले यसअघि नै मार्की प्लेयरमा विशाल राईसँग अनुबन्ध गरिसकेको छ भने यस्तै लिलामीबाट पनि १४ खेलाडी भित्र्याइसकेको छ ।

प्रकाशित : वैशाख २, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?